धरान । सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा आइतबार सम्पन्न फाइनलमा छात्रातर्फ धरान–१७ ज्वालामुखी मा.वि. र छात्रतर्फ धरान–१२ को प्रभात बोर्डिङ स्कुलले जितेको छ । 

धरान–१७ स्थित एन्फा टेक्निकलको खेल मैदानमा भएको खेलमा ज्वालामुखीले वराहक्षेत्रको बालमन्दिर स्कुललाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको छ । 

यस्तै छात्रतर्फको खेलमा प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले झुम्कास्थित लर्डबुद्ध एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । विजयी टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडलहरू प्राप्त गरेको छ । यस्तै उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । विजेता तथा उपविजेता टिम नै कोशी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएको म्याच कमिसनार इन्द्र थापा मगरले जानकारी दिए । जिल्लाबाट महिलाका दुई र पुरुषका दुई गरी ४ टिम छनोट भएका छन् । कोशी प्रदेशका १४ जिल्लामध्ये ११ वटा जिल्लामा फुटबल सङ्घ गठन गरिएको छ । सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने टिमले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् भने जित्ने टिमहरूले सङ्घस्तरीय फुटबलमा सहभागी हुन पाउने छन् । ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुमबाहेक सबै जिल्लामा सङ्घ गठन भएको हो । 

कार्यक्रमका अध्यक्ष नवीन राईका अनुसार प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति सुनसरी अध्यक्ष दीपक राई, प्याब्सन सुनसरी अध्यक्ष नेल्सन ढकाल, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्की, गणेश भण्डारी, धरान नगर प्याब्सन अध्यक्ष दीपक घिमिरे, धरान नगर एनप्याब्सन अध्यक्ष भगत लिम्बू, पूर्व राष्ट्रिय खेलाडी निर्मल प्रधानलगायतको उपस्थिति रहेको थियो ।