इनरुवा । सीमा क्षेत्रका बालबालिकालाई दुव्र्यसनबाट जोगाउँदै जिम्मेवार नागरिक बनाउन अभिप्रेरित गराउने उद्देश्यसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीले लौकहीको राष्ट्रिय मा.वि.मा सचेतना कक्षा सञ्चालन गरेको छ ।   

लौकही छोटी भन्सारसँग जोडिएको राष्ट्रिय मा.वि.का ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण हेडक्वार्टर सुनसरीले सचेतनामूलक कक्षाको आयोजना गरेको हो । पछिल्लो समय लागूऔषध सेवनकर्ताको ट्रान्जिट पोइन्ट बन्दै गएको लौकही नाकालाई लक्षित गरी सीमा क्षेत्र नजिकको विद्यालयमा सशस्त्र प्रहरीले आइतबार सचेतना कक्षा सञ्चालन गरेको हो । विद्यार्थी केन्द्रित सचेतना कक्षामा सशस्त्र प्रहरीले राजस्व चुहावट नियन्त्रणमा आमनागरिकको भूमिकाको साथै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको जिम्मेवारीका बारेमा समेत जानकारी गराएको थियो ।

सीमा क्षेत्रबाट हुने चोरी, तस्करीसँगै लागूऔषध कारोबार र दुव्र्यसनीमा युवाजमात नफसून् भन्ने हेतुले सीमानाका नजिकका विद्यालयमा जानकारीमूलक सचेतना कक्षाको आयोजना गरिएको नम्बर ४ गण हेडक्वार्टर सुनसरीका प्रमुख एसपी निर्मल थापाले बताए । विद्यालयको सिकाइले विद्यार्थीको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सीमाक्षेत्रका विद्यालय केन्द्रित सचेतना कक्षा सशस्त्र प्रहरीले प्राथमिकतामा राख्दै आएको एसपी थापाले बताए । थापाले सशस्त्र प्रहरीको समुदायस्तरमा सीमाक्षेत्रवासीसँग सशस्त्र प्रहरी कार्यक्रमसमेत सञ्चालनमा रहेको बताए । 

एसपी थापाले सीमा नाकाका विद्यालयलक्षित सचेतना कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई सचेत गराउँदै कुलत र दुव्र्यसनबाट टाढा रहन प्रेरित गराउनुका साथै राजस्व चुहावट नियन्त्रणमा जिम्मेवार बनाउनुसमेत रहेको बताए । एसपी थापाले नम्बर ४ गणले भारतसँग सीमा जोडिएका क्षेत्रका विद्यालयहरूमा क्रमशः सचेतनाका कक्षाहरूलाई अघि बढाउँदै लैजाने जानकारी गराए । सुनसरीमा नम्बर ४ गण मातहत ९ वटा बिओपी र २ प्रस्तावित सीमा सुरक्षा गुल्म रहेका छन् । सुनसरीको ६१.०९ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ ।