कोशी नदीमा संघीय सरकारले पानी जहाज चलाउने भएपछि चतरावासी उत्साहित भएका छन् । 

सरकारले आर्थिक वर्ष २०७८÷७९ को लागि जारी गरेको बजेटमा कोशी नदी हुँदै चतरादेखि भोजपुरसम्म पानी जहाज चलाउने घोषणा गरेपछि स्थानीयवासी मात्र होइन, पर्यटन तथा जल यातायात व्यवसायीसँगै चलचित्रकर्मीमा पनि उत्साह थपिएको छ ।

जेठ १५ गते प्रस्तुत बजेटमा सरकारले चतराबाट भोजपुरसम्म जल यातायात सञ्चालन गर्नको लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्ने र जलमार्गका अवरोधहरु हटाउने बताएको थियो ।

पानी जहाज सञ्चालनमा आउनु पहाडी क्षेत्रमा जनताका लागि वरदान सरह भएको बताउँछन् बेलका–७ मायुङटार बस्ने खगेन्द्र राई । 

पहाडी क्षेत्रको बासिन्दाको सबैभन्दा ठूलो समस्या यातायात नै हो, उनीहरुलाई जीवनयापनको लागि तराई नझरी अर्को उपाय छैन । पहाडको सबै स्थानमा सडक पुगेको छैन । पैदल ओहोर–दोहोर गर्दा दिनभरीमा पनि सकिंदैन । नदीमा चल्ने पानी बोट धनकुटाको सिम्लेसम्म मात्र जाने गरेको छ ।

‘भोजपुरसम्म जहाज चल्ने हो भने त्यहाँबाट धनकुटाको पश्चिम भेग, उदयपुर जिल्लाको दुर्गम क्षेत्रमा बस्नेले छोटो, छिटो र सुगम सडकको विकल्प पाउँछन्, घण्टौंको दूरी मिनेटमा पूरा हुन्छ,’ राई भन्छन् ।

नदीको किनारमा रहेको धनुकटा जिल्लाको टाङकेरा, त्रिवेणी, सिम्ले, उदयपुरको मायुङटार,  भोजपुरको मचुवाटार, चुवारा, भचुवा, पारकुवा, किनुवा, जोगपठठ्र, बाक्सीखोपलगायत बेंसीटोल, गोभाटार, घारे, बगुवा र रानीटारवासी लाभान्वित हुने छन् । पानी जहाजले पहाड र तराईलाई जोड्ने पुलको काम गर्ने स्थानीय बताउँछन् ।


पर्यटनको लागि पानी जहाज कोशेढुंगा

पानी जहाज चल्ने भएपछि पर्यटन व्यवसायी थप उत्साहित बनेका छन् । नदीमा कोशीपुल बनेपछि शुरु भएको चतराको विकासको यात्रालाई पानीजहाजले झनै उचाईमा पु¥याउने चतराघाटस्थित पर्यटन व्यवसायी मिथलेश साह बताउँछन् ।

केही वर्ष अगाडिसम्म सुनसान रहने चतराघाट आजकाल पर्यटकले व्यस्त हुने गरेको छ । शनिबार र सार्वजनिक बिदाको दिनमा कोशीपुल घुम्न आउने, पिकनिक मनाउनेहरुको भीड लाग्ने गरेको साह बताउँछन् ।

आन्तरिक र वाह्य दुवै पर्यटको रोजाइमा पर्न थालेको चतरा ‘टुरिस्ट हब’ का रुपमा विकास भइरहेकाले कोशीमा जहाज चल्नु यस क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि कोशेढुंगा सावित हुने व्यवसायी साह बताउँछन् ।

वराहक्षेत्र मन्दिर क्षेत्रमा पसल चलाउने धार्मिक पर्यटन व्यवसायी राजु घिमिरे पानीजहाज चल्ने खबरले धेरै खुशी भएका छन् । जहाज चलेपछि वराह भगवानको दर्शन गर्न आउने तीर्थालुलाई थप सजिलो हुने घिमिरेको भनाइ छ । पानी जहाजलाई राष्ट्रिय गौरवको रुपमा अगाडि बढाउनु पर्नेमा उनी जोड दिन्छन् ।


पानीजहाजले प्रदेश १ को कायापलट गरिदिने

नदीमा पानी जहाज चलाउने सरकारको घोषणाले स्थानीय जलयातायात व्यवसायी पनि उत्साहित भएका छन् । 

‘ढिलै भए पनि राज्यको ध्यान यसतर्फ गएको छ, हामीलाई खुसी लागेको छ ।’ जलयातायात व्यवसायी बिमलमान श्रेष्ठ भन्छन् ।

जहाज सञ्चालनले यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने नदीमा जेटबोट सञ्चालन गरिरहेका व्यवसायी श्रेष्ठ बताउँछन् । राज्यले निजी क्षेत्रलाई पनि समेट्ने हो भने, पानी जहाजले प्रदेश १ को कायापलट गर्न सक्ने श्रेष्ठको भनाइ छ । 

‘यसको लागि सरकारले दृढ इच्छाशक्ति देखाउनु पर्छ, व्यवसायीसँग सहकार्य गरेमा पानी जहाजलाई सिन्धुपालचोकको दोलालघाटसम्म पु¥याउन सकिन्छ ।’ श्रेष्ठ भन्छन् । 

अहिले नदीमा ३ वटा जेटबोट र ६ मोटरबोट गरी ९ वटा बोट सञ्चालन भइरहेको छ ।


पानीजहाज र ‘नेचुरल स्टुडियो’ चतरा

नदीमा पानी जहाज चलाउने कुरा सुनेर चलचित्रकर्मी पनि खुसी देखिन्छन् । बाटोको असुविधाले गर्दा सुटिङ गर्न अहिले चतराभन्दा माथि पहाडी क्षेत्रमा जान सकिंदैन् । जहाज चलेपछि ठूलो क्यामेरा, उपकरणहरु, कर्मीदल र ‘प्रोप्स’ लिएर सजिलै पुग्न सकिने स्थानीय चलचित्र निर्देशक भीषण राई बताउँछन् ।

भर्खरै चलचित्र विकास बोर्डले बराहक्षेत्र नगरपालिकाको श्रीलङ्का टप्पुमा  छायांकन स्थल (फिल्मसिटी) बनाउन अध्ययन थालेको छ । फिल्मसिटी बनेपछि स्वदेशी मात्र हैन, विदेशी फिल्म मेकरलाई समेत तान्न सकिने र यसको लागि पनि पानी जहाज बलियो विकल्प बन्न सक्ने चलचित्र निर्देशक राई बताउँछन् ।

‘जलमार्गको सुगमताले निर्माताको समय र लगानी बचत हुन्छ, यसले एकातिर फिल्म निर्मातालाई बढी भन्दा बढी आकर्षित गर्नेछ भने अर्कोतर्फ नेचुरल स्टुडियोको रुपमा रहेको चतराको खेर गइरहेको प्राकृतिक सुन्दरतालाई नगदमा परिवर्तन गर्न सकिन्छ ।’ निर्देशक राई भन्छन् । 


टर्मिनलको काम सुरु  

सङ्घीय सरकारले कोशी नदीमा सञ्चालन गर्ने पानी जहाजको लागि टर्मिनल बनाइने भएको छ । टर्मिनलका लागि माटो परीक्षणको काम सुरु भएको छ । माटो परीक्षणका लागि प्राविधिकहरुले ‘ड्रिलिङ’ सुरु गरेका छन् ।

सरकारले जारी गरेको बजेटमा कोशी नदीमा चतरादेखि भोजपुरसम्म पानी जहाज चलाउने बताएको महिना दिनपछि चतराघाटस्थित छनोट गरिएको जग्गाको माटो परीक्षण थालिएको हो ।

टर्मिनलको लागि चतराघाटस्थित कोशी पुल र सुनसरी मोरङ सिंचाई योजनाको न्युइनटेक बीचमा रहेको जग्गालाई छनोट गरिएको सर्वेक्षण समूहका सिभिल इञ्जिनीयर सचिन दवाडीले बताए ।

नेपाल सरकारको पानी जहाज कार्यालयसँग अनुबन्धन निजी इनोभेटिभ इञ्जिनीयरिङ सर्भिसेज प्रालि कन्सल्टेन्स संस्थाका भूगर्भविद् र सिनियर सर्भेयरसहित ३ जनाको टोलीले भोजपुरदेखि चतरासम्म बायोमेट्रिक विधिबाट सर्वेक्षण गरेको थियो ।

भोजपुरदेखि चतरा करिब ७५ किलोमिटर दूरीमा रहेको नदीको विभिन्न स्थानको गहिराई पानीभित्र रहेको ढुंगा, नदी किनारबाट २ सय मिटर पर ५ मिटरसम्मको उचाईमा रहेको पुल, भौतिक संरचना तथा अन्य अवरोधको परीक्षण गरिएको इञ्जिनीयर दवाडीले बताए । 

उनीहरु ˚र्किए लगत्तै चतरा आएको अर्को ७ जनाको समूहले २ दिन अगाडिदेखि उक्त स्थानमा ड्रिलिङ कार्य सुरु गरेको छ । टर्मिनल रहने स्थानमा बन्ने कार्यालय तथा अन्य भौतिक संरचनाको लागि जमिन योग्य भए नभएको हेर्न उनीहरुले जमिन भन्दा १५ मिटरको गहिराइमा रहेको माटो र चट्टानको जाँच गर्ने दवाडीले बताए ।

असार मसान्तसम्म सम्पूर्ण प्रतिवेदन सरकारलाई बुझाइसक्नु पर्ने भएकाले माटो ड्रिलिङ सकिएको तुरुन्तै पछि आउने समूहले टर्मिनलको लागि आवश्यक पर्ने क्षेत्रको निर्धारणलगायत नदीको कटिङ आदि विषयमा काम गरिने उनले बताए ।

एक हजार टन भारवाहन क्षमताको मालवाहक जहाज

प्राविधिकका अनुसार टर्मिनलको लागि करिब ५ रोपनी जग्गा आवश्यक पर्छ । जहाज चलाउन नदीको गहिराई १ दशमलव ५ मिटर र चौडाई ३० मिटर हुनुपर्छ । सरकारले कोशीमा १० मिटर चौडाई भएको एक हजार टन भारवाहन क्षमताको मालवाहक जहाज चलाउने बुझिएको दवाडी बताउँछन् । 

चतरा बजारदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको टर्मिनल रहने स्थानको लागि वराहक्षेत्र नगरपालिका पनि सहमत भएको छ । नगर प्रमुख निलम खनालले भेटमा सर्वेक्षण टोलीलाई टर्मिनलनसम्म जाने यात्रीलाई सडकको सुगमता र दूरी उपयुक्त भएको बताएको दवाडीले जानकारी गराए ।

हाललाई सो जग्गा प्रतिनिधि स्थानको रुपमा चयन गरिएको हो । त्यहाँको माटोको प्राविधिक जाँच रिपोर्ट आएपछि मात्र उक्त स्थानमा टर्मिनल बनाउने अथवा नबनाउने निर्णय हुने दवाडीले बताए । 

सो स्थान उपयुक्त नभए, विकल्पको रुपमा उदयपुर जिल्लातर्फ रहेको कोशीपुल भन्दा तल र सुनसरीको चतराधामस्थित सानो नदीमा गरी २ स्थानमा टर्मिनलको सम्भावना देखिएको दवाडीले बताए । 

उदयपुरमा नदीले कटान गरेको हुँदा न्युइनटेकपछि टर्मिनलको लागि चतराको सानो नदी बलियो विकल्प भएको दवाडीको भनाइ छ । 

वैकल्पिक स्थानको धेरै नजिकमा बजार रहेको पर्याप्त जग्गा भएको, सजिलै र छिटो यातायातको साधन पाइने तथा धार्मिक पर्यटकीय क्षेत्र, नेपालको प्रथम जगद्गुरु पीठ, कुम्भ नगरी चतराधाम समेत भएकाले, सानो नदीमा नै टर्मिनल बनाईनुपर्ने स्थानीय जल यातायात व्यवसायी अमित साह बताउँछन् ।