धरान । प्रदेश १ का तराईका चार जिल्लाका केही क्षेत्र जलमग्न बनेका छन् । अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढीका कारण जलमग्न बनेका हुन् ।

कतिपय क्षेत्र खोलाको कटानको जोखिममा परेका छन् भने कतिपय क्षेत्रमा बाँध भत्किएर खोला बस्तीमा पसेर सयौं घरमा क्षति पुर्याएको छ । नागरिक कोरोना महामारीबाट आक्रान्त बनिरहेका बेला मनसुन सुरु भएयता अर्को विपत्को सामना गरिरहनुपरेको छ । प्रदेश १ को झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानीय खोला गाउँबस्तीमा प्रवेश गरेको छ । सुनसरीको इटहरीका केही वडाका सहरी क्षेत्र जलमग्न बनेको छ ।

इटहरी उपमहानगरमा पर्ने साविकको खनार क्षेत्रका अधिकांश घर डुबानमा परेका छन् । स्थानीय तथा नेपाल पत्रकार महासङ्घ प्रदेश १ का सचिव सन्तोष यादवले भने, ‘हाई–वे समेत पूर्णरूपमा डुबानमा छ । वर्षाको समयमा इटहरीको यो साझा समस्या हो ।’ इटहरी यस वर्ष पनि डुबानमा परेको इटहरी–८ का स्थानीय व्यवसायी सर्वेस आचार्यले बताए । उनका अनुसार खोलाको जग्गा मिचेर घर बनाएका कारण समग्र इटहरीवासीले दुःख पाउने गरेका छन् । सुनसरी क्षेत्र नम्बर २ (क) का प्रदेश सांसद् सर्वध्वज साँवाले आफ्नो घरमा पनि पानी पसेर बिजोक भएको सामाजिक सञ्जालमा तस्बिर हालेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘त्यसका बाजे पानी पसेर घर चुर्लुम्मै डुबायो, आफै जनप्रतिनिधि कसलाई गुहार गर्नु ? 

इटहरी–४ आइतबारे क्षेत्र सबैभन्दा बढी डुबानमा परेको छ । इटहरी–४ का युवराज दाहालले आफ्नो घरमा पानीले क्षति पुर्याएको बताए । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष राजीव डुङ्गानाको घरमा पनि बाढी पसेको भन्दै फेसबुकमा लेखेका छन् । इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले तरहरा क्षेत्र पनि डुबानमा परेको बताए ।

जनसहयोग उच्च मावि आसपास क्षेत्र पूर्णरूपमा डुबानमा परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार इटहरी–४, ८, १० र ११ नम्बर वडा बढी डुबानमा परेका छन् । त्यस्तै सुनसरीको भोक्राहा, इनरुवा–४ को मरिक बस्ती डुबानमा परेका छन् । यता निरन्तर वर्षाका कारण सप्तकोशी नदीको बहाव उच्च भएको छ । शनिबार बिहान मापन गरिएअनुसार प्रतिसेकेण्ड दुई लाख ३१ हजार ६ सय ५५ क्युसेक पानीको बहाव रहेको छ ।

ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार ३० वटा ढोका खोलिएको छ । कोशीमा २ लाख ५० हजार क्युसेक बढी पानीको बहावलाई खतरापूर्ण मानिन्छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । जसका कारण ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका  थिए ।

यस्तै प्रदेशको राजधानी विराटनगर आसपासको क्षेत्र पनि डुबानमा परेको छ । सिङ्घीया खोलामा आएको बाढीले मोरङको कटहरी गाउँपालिका–१ को बस्ती डुबानमा परेको छ । त्यस्तै विराटनगर–२ को कामत टोल, कटारी गाउँपालिकास्थित टाइगर टोल पनि जोखिममा परेको छ । कामत टोलका १० घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । विराटनगर–७ सुकुम्बासी टोलका करिब ४० परिवारलाई गायत्री संस्कृत माध्यमिक विद्यालयमा सारिएको जनाइएको छ । विराटनगर–८ जिल्ला कारागार मोरङ दक्षिणतर्फको ४३ घरपरिवार बाढीका कारण प्रभावित बनेका छन् ।

झापामा ३५ घर डुबानमा
झापाको झापा गाउँपालिका–५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार बिरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा परिसकेका छन् भने आसपासको बस्ती उच्च जोखिममा परेको छ । यसैगरी गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् ।

कमल गाउँपालिका–७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिका–५ को बालुबथानतिर पस्ने अवस्थामा रहेको जनाइएको छ । कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–५ को सिङ्गो बस्ती डुबानको जोखिममा रहेको छ । सशस्त्र प्रहरी हेडक्वार्टर २ नम्बर गणका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले डुबानमा परेका परिवारको उद्धारका लागि सशस्त्र प्रहरीको टोली तैनाथ रहेको बताए ।

उदयपुरका ५ सय घर डुबानमा
उदयपुरका विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेश्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेका हुन् । बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । तपेश्वरीको बगाहा र आम्बासीका खहरे खोलामा शुक्रबार राति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताए ।

अर्का स्थानीय राजकुमार भुजेलका अनुसार ती खोलामा आएको बाढीले तपेश्वरी क्षेत्र डुबानमा पर्नुका साथै जग्गा कटान गर्न थालेको छ । स्थानीय खोलाहरूमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सिलाका प्रमुख तेजबहादुर कटुवालले बताए ।

त्यस्तै त्रियुगा नगरपालिका–११ गाईघाटस्थित बरूवा खोलामा आएको बाढीले कच्ची बाँध भत्किन सक्ने र गाईघाट बजारसमेत डुबानमा पर्न सक्ने जोखिम बढेको त्रियुगा नगरपालिका–११ ढिम्कीका शिव कार्कीले बताए । यता उदयपुरको चौदण्डीगढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा ६५ वर्षीय गुमसेर राईको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बाढीले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बेल्टारबाट खटिएको प्रहरी र स्थानीयवासीले उनलाई व्यापक खोजी गरिएको थियो । खोजीका क्रममा बगाएको स्थानभन्दा दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेदप्रसाद गौतमले बताए ।

सप्तरीका आधा दर्जन गाउँ जोखिममा
बाढीका कारण सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । यहाँस्थित तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको  तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए । चुरेक्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिणी भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उनले बताए ।

२०७३ सालको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–४ का एक बालकको ज्यान लिएको थियो भने हजारौं घरमा क्षति पु¥याएको थियो । सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाइर कृष्णासवरण, महेदवा, तिरहुत, रूपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुबानमा पर्ने गरेको छ ।
(इटहरी संवाददाता धनबहादुर पुरी र राससको सहयोगमा)