धरान । झापाको बिर्तामोडबाट उत्पादित प्रशोधित पानी अम्बेको एक लिटरको बोतलमा खान अयोग्य वस्तुहरू फेला परेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभागमा पवन अग्रवालले सञ्चालनमा ल्याएको क्याण्टिनबाट खरिद गरी एक बिरामीका आफन्तले पानी पिउने क्रममा सिलप्याक बोतलमा अखाद्य वस्तु फेला पारेका हुन् ।
बिर्तामोडको एचएमएन फुड एण्ड बेभरेज इण्डष्ट्रिजबाट उत्पादित प्रशोधित पानी पिउनका लागि खोल्न खोज्दा भोजपुर ठूलोदुम्माका सरोज चाम्लिङ राईले अखाद्य वस्तु फेला पारेका हुन् । उनले भने, ‘बिहान खाजा ल्याएका थियौं, पानी किनेर ल्याइयो, खाउँ है भनेर हेर्दा त पानीभित्र लेउ र गड्यौला कुहिएको देखियो ।’
उनका अनुसार आफूले पानीको बोतलमा भएको फोन नम्बरमा फोन गरेर बुझ्दा ‘किनेको ठाउँमा फिर्ता गर्नू न भनेर स्टाफले भनेको भए पनि आफूले फिर्ता’ गरेनन् । उनले भने, ‘अरूले हो भने फिर्ता गर्थे होला तर, फिर्ता गर्दै जाने हो भने त कम्पनीले यस्ता गल्तीहरू गर्दै जान्छ ।’
अम्बे पानी सुनसरीमा वितरण गर्दै आएको इटहरी–२० को दिव्यश्वरी जल उद्योगका सञ्चालक दिनेश भट्टराईले आफूहरूले झापाबाट उत्पादित पानी वितरण गर्ने मात्रै गरेको बताए । ‘म त बिक्री गर्ने मान्छे मात्रै हो, जसरी दोकानदारले नदेखी बेच्यो, त्यसरी नै मैले पनि बेचेँ’ उनले फोनसम्पर्कमा भने, ‘म त डिष्ट्रिब्युटर मात्रै हुँ ।’
यता अम्बे पानी उत्पादन गर्दै आएको एचएमएन फुड एण्ड बेभरेज इण्डष्ट्रिजका सञ्चालक हरि प्रसाईंले लाखौं बोतल उत्पादन गर्दा एकादुईमा समस्या आउनुलाई सामान्य रूपमा लिइनुपर्ने बताए । ‘ठूलो इस्यु बनाएर जानुहुन्छ भने हाम्रो भन्नु केही छैन, कहिलेकाहीँ यस्ता समस्या आउन सक्छन्’ उनले फोनसम्पर्कमा भने, ‘टेक्नोलोजीले त फेल खान्छ, मानवनिर्मित कुराहरूमा एक–दुईवटा समस्या आउन सक्छन् ।’ उनले आफ्नो कम्पनीको पानी पिएकै कारणले कसैको ज्यान तलमाथि भएमा कम्पनीले त्यसको जिम्मेवारी लिने दाबी गरे ।
‘पिउँदैखेरी अस्वस्थ हुँदैन होला, त्यस्तो भयो भने कम्पनीले जिम्मा लिन्छ’–उनले भने । उनले आफ्नो उद्योग पूर्णरूपमा स्वचालित भएकाले कम्पनीकोे अखाद्य पानी बिक्री गर्ने उद्देश्य नभएको प्रष्ट्याए ।
विशेषगरी प्रशोधित पानीमा यस्ता खालका समस्या बारम्बार आउने गरेका छन् । तर, पनि सम्बन्धित निकायले यस विषयमा गम्भीर भएर कारबाही गरेको अवस्था देखिँदैन । खाद्य ऐन २०२३ चौथो पटक संशोधन (२०४९) मा भएको अवस्था छ । ऐनअनुसार दूषित खाद्यपदार्थ बिक्री गरेमा ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको छ ।