देउराली । अघिल्लो वर्ष सेउती खोलामा आएको बाढीले धरान–५ तल्लो देउरालीस्थित सुन्दर बस्तीका तीन घरपरिवार विस्थापित बनेपछि धरान उपमहानगरले बस्ती बचाउन खोलामा च्यानलिङ गर्ने भएको छ ।
सेउती र अँधेरी खोलामा आउने बाढीका कारण हरेक वर्ष बस्ती कटान भएपछि बस्ती र वनलाई संरक्षण गर्न च्यानलिङ गरिने भएको हो । शुक्रबार र शनिबार धरान नगर प्रमुख तिलक राईसहितको टोली पुगेर स्थलगत निरीक्षण गर्दै खोलाको मध्यभाग पहिचान गरेको छ ।
नगर प्रमुख राईले खोलामा उकास भएकाले बीच भागबाट च्यानलिङ गरेर बस्ती र वनलाई संरक्षण गर्ने बताए । उनका अनुसार बस्तीलाई व्यवस्थित गर्न, बस्ती र खोलाको भाग छुट्याई सिमाङ्कन गर्ने र च्यानलिङ गर्दा निस्किएको गिट्टी, बालुवालाई प्रयोग गरी बस्तीतर्फ करिडोर निर्माण गरिनेछ ।

‘बस्ती र खोलाको भाग छुट्याएर च्यानलिङ गरेर बाटोको स्वरूप पनि दिँदै लान्छौं’ नगर प्रमुख राईले भने, ‘च्यानलिङ गर्दा उकास रहेको क्षेत्रको ढुङ्गा–गिट्टी किनारतर्फ राख्ने र बाटोमा प्रयोग हुन्छ । यहाँ प्रयोग भएर उब्रिएको नगरपालिकाले अन्यत्र प्रयोगमा लाने वा स्टक गर्नेछ ।’
हरेक वर्ष बस्तीमा खोला पस्दा लाखौंको क्षति पुर्याउने गरेको छ । त्यस ठाउँमा ५ नम्बर वडाले गतवर्ष ३ घरपरिवार विस्थापित हुँदा करिब ७ लाख रुपैयाँ क्षतिको अनुमान गरेको थियो । खोला र बस्तीको सिमाङ्कन गरी छुट्याएर सेउतीको पुलबाट सुन्दर बस्ती हुँदै अँधेरी खोलाको पुलसम्म यु–आकारमा करिडोर निर्माण गर्ने स्थानीयको माग रहेको नगर प्रमुख राईले बताए ।
तर, शनिबार नगर प्रमुखसहित आएको टोलीले खोलाको बीच भागको मात्र पहिचान गरेको भन्दै स्थानीयले भने उत्खनन् मात्र गर्ने हो कि भन्दै आशङ्का व्यक्त गरेका छन् । स्थानीय देवेन्द्र लिम्बूका अनुसार खोला र बस्ती छुट्टिने गरी सिमाङ्कन गर्ने र बाटोको भागसमेत छुट्याएर बाटो निर्माण गर्ने भन्ने सहमति भए पनि शनिबार बस्तीको भाग र बाटोको भाग नछुट्याई खोलाको मध्यभाग मात्र पहिचान गरिएको छ ।
देवेन्द्र भन्छन्, ‘खोलाको मध्यभाग छुट्टियो तर, बस्ती कतिसम्म हो ? बाटो कता बन्ने हो ? भन्ने छुट्टिएन । त्यसैले खोला खन्ने मात्र हो कि भन्ने शङ्का उत्पन्न भयो । त्यसरी त हामीले सहमति गरेका होइनौं ।’ बस्तीको सिमाङ्कन गर्ने र बाटोको नक्साङ्कन गरेर मात्र काम अघि बढाउनु पर्ने स्थानीय राम लिम्बूको भनाइ छ ।
विस्थापितको व्यवस्थापन अन्योल
नगर प्रमुख राईले भने अघिल्लो वर्ष खोलाले कटान गरेको अन्तिम स्थानबाट नै बस्तीको सिमाङ्कन गरिनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘यथास्थितिमा नै बस्तीको संरक्षण गर्नुपर्छ । पुछारमा रहेका केही घरहरूलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्छ र व्यवस्थित गर्नुपर्छ ।’
तर, स्थानान्तरण गरेर कहाँ लाने र यसअघि खोलाले घर बगाएपछि विस्थापित भएकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल रहेको छ । अघिल्लो वर्ष सेउती खोलाले घर बगाएपछि विस्थापित भएका तिलक बस्नेत प्रश्न गर्छन्, ‘अब हामी कता जाने ?’ नगर प्रमुख राईका अनुसार उपमहानगरपालिकामा सेउती खोलाले घर बगाएर विस्थापित भएकाहरूको लगत छैन ।
राईले तल्लो भेगमा रहेका घरहरूलाई माथि रहेको खाली जग्गामा स्थानान्तरण गरेर सडक, बिजुली र पानी जस्ता कुराहरूको पहुँच पुर्याउनु पर्ने बताएका छन् । तर, खाली रहेका जग्गा व्यक्तिको भएकाले व्यक्तिले दिन्छ वा दिँदैन भन्न नसकिने टिएलओ अध्यक्ष स्वर्णिमहाङ फोम्बो बताउँछन् ।