ताप्लेजुङ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र आय व्यय सर्वसम्मत पारित गर्दै नवौ गाउँसभा विहीबार सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङद्धारा प्रस्तुत आ.व.२०७८/०७९ निति तथा कार्यक्रम र उपाध्यक्ष ज्ञानमाया चौहानले प्रस्तुत गरेको आयव्यय सर्वसम्मत पारित गरेको हो । गाउँपालिका अध्यक्ष गुरुङले पेश गरेको ४३ बुँदे निति तथा कार्यक्रममा पुराना कार्यक्रमलाई निरन्तरतासहित नयाँ कार्यक्रम समावेश गरेको छ ।

उपाध्यक्ष चौहानले आ.व.२०७८÷७९ को चालु र पुजीँगततर्फगरि ५० करोड ५७ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेका छन् । चालुतर्फ ६ करोड ७३ लाख ५० हजार र आर्थिक विकासतर्फ १ करोड ११ लाख विनियोजन गरेको छ ।

यसैगरि सामाजिक विकासतर्फ ३ करोड ७६ लाख,पूर्वाधार विकासतर्फ ९ करोड ९४ लाख ५० हजार र वन वातावरण तथा विपत व्यवस्थापनतर्फ ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

संस्थागत विकास तथा सेवा प्रवाहतर्फ २० लाख,समपुरक कोषतर्फ १ करोड र नेपाल सरकारबाट प्राप्त हुने सर्शत अनुदानवापत २३ करोड २५ लाख रहेको छ । समपुरक अनुदान १ करोड ३१ लाख,विशेष अनुदान १ करोड ६६ लाख,प्रदेश सरकारमार्फत समपुरक अनुदान १ करोड रहेको छ ।

गाउँपालिकाले सिरिजङ्घाको शान,उद्यमशिल किसान, सिरिजङ्घाको गौरव कंञ्चनजंघा,गाउँमै रोजगार,गर्वको आधार,एक घर एक धारा,निशुल्क शिक्षा,हामी सबैको इच्छा जस्ता यसअघिका दर्जनौ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आगामी आ.व.बाट १ जनालाई एमविविएस अध्यनका लागि वार्षिक १३ लाख रुपैयाँ विनियोजन गरेको छ । कक्षा–१० उत्तिर्ण ८ वटै वडाका १÷१ जनालाई आवाससहित निशुल्क रुपमा कृषि,पशु तथा प्राविधिक विषय पठनपाठन गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास शिक्षक र कार्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि मासिक १५ हजार तलबको व्यवस्था गरेको छ ।

गाउँपालिकामा करिब ८३ जना शिक्षक,कार्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि वार्षिक ८० लाख रुपैयाँ आवश्यक भएकाले उक्त रकम राजश्व बाँडफाँड र वित्तिय समानीकरणबाट व्यवस्थापन गरेको हो । दलित महिला तथा अपाङता भएका विद्यार्थी लक्षित गरि चालु आ.व.देखि स्नातक अध्यनका लागि उपाध्यक्ष छात्रवृत्ति कार्यक्रम समावेश गरेको छ ।

वडा नं. १ स्थित सिनाम वहुमूखी क्याम्पसमा विविएस र विएड अध्यन गर्न चाहेमा सबै खर्च गाउँपालिकाले वेहोर्नगरि बजेट विनियोजन गरेको छ । निशुल्क शिक्षा,सबैको इच्छा नारा लिएको पालिकाले गत आ.व देखि गाउँपालिकामा  कक्षा–१२ सम्मको पठनपाठन निशुल्क गरेको थियो ।

गाउँपालिकामा भएका ९ वटा माविमा अध्यनरत कक्षा–१० मा अध्यनरत विद्यार्थीलाई लक्षित गरि २ महिना निशुल्क कोचिङ कक्षाका लागि बजेट विनियोजन गरेको छ । प्रत्येक वडामा होस्टेल सुविधासहितको माध्यमिक विद्यालय संञ्चालन गर्नेगरि भएका विद्यालयको स्तरोन्नती गरेर एक वडा,एक माविको अवधारण अघि सारेको छ ।

यसैगरि जिरो होम डेलीभेरी गाउँपालिका घोषणा गर्न १ वडा १ वर्थिङ सेन्टर अभियानअन्तर्गत चालु आ.व.मै मामाखे र खेवाङमा स्थापना गर्ने भएको छ । गाउँपालिकास्थित ६ वटा वडाका वडा भवन र प्रमूख प्रशासकीय भवन आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।

सिप सिकौ,रोजगार बनौ भन्ने अभियान सार्थक बनाउन सेनिटरी प्याड लघु उद्यम,जुत्ता चप्पल लघु उद्यम र ढाका कपडा लघु उद्यम स्थापनाका लागि सहयोग गर्न मेसिनरी औजारसहित अनुदान उपलब्ध गराउने भएको छ ।

तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन तथा निकासीको सम्भावना बलियो बनाउनेगरि ५ सय ५० जना किसानसँग लागत साझेदारीमा टनेल खरिद तथा वितरण कार्यक्रम समावेश गरेको छ ।

मामाखे र सिकैचामा बाख्रा,आम्वेगुदिन र पेदाङमा किबी,खेवाङ र याम्फुदिनमा चौरी र सिनाम र तेल्लोकलाई मकै पकेट क्षेत्र बनाउने नीति तथा कार्यक्रममा समावेश गरेर बजेट विनियोजन गरेको छ । गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार बजेट सिप र उत्पादनसँग जोडिने गरिको भएको बताए । प्रमूख प्रशासकीय अधिकृत घिमिरेले भने,“गाउँमै बजेट परिचालन हुनेगरिको कार्यक्रम भए अपनत्व हुन्छ । त्यही भएर कार्यक्रमप्रति सबैको सरोकार बनेको छ ।”

मनोज गजुरेललाई सिरिजङ्घाको छोरो उपमा,गाउँपालिकाको नाम संशोसधनका लागि कार्यदल गठन

हास्य कलाकार मनोज गजुरेललाई सिरिजङ्घाको छोरो उपमाले सम्मान गर्ने भएको छ । मांमाखेमा जन्मिएका गजुरेललाई गाउँपालिकाको सदभावना पर्यटन दुत समेत  नियूक्त गरेको छ ।

यसैबिच गाउँपालिकाको नाम संसोधनका लागि सरोकारवालाको प्रतिनिधित्व हुनेगरि कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलको सुझावलाई एकिकृत गरेर गाउँपालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत संघिय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।