देउराली/ ठूलो लगानीको आयोजना सम्पन्न भए पनि धरानमा खानेपानीको अभाव कायमै छ । नेपाल सरकारको सहरी विकास कोष र एशियाली विकास बैङ्क (एडीबी) बीच भएको एकीकृत सहरी विकास आयोजनाको सम्झौताअनुसार एडीबीको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान उपमहानगरपालिकाको १५ प्रतिशत गरी २२ दशमलव शून्य ७ मिलियन अमेरिकी डलर अर्थात् करिब दुई अर्ब १६ करोड रूपैयाँ लगानीमा खानेपानी आयोजना निर्माण सम्पन्न भई परीक्षणको प्रक्रियामा छ तर, हिउँदयाममा हुने खानेपानी अभावको समस्या अभैm समाधान हुन सकेको छैन ।

आयोजना सञ्चालन गर्न धरान खानेपानी व्यवस्थापन बोर्ड गठन गरी खानेपानी संस्थानको धरान शाखा पनि गत फागुनमा त्यसैमा गाभिएपछि अहिले बोर्डले धरान उपमहानगरको बजार क्षेत्रमा खानेपानी वितरण गरिरहेको छ । भूमिगत र सतहबाट १ करोड ५२ लाख लिटर पानी उत्पादन भइरहेको बोर्डका अध्यक्ष तथा उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले बताए ।

पानी वितरणमा अझै समस्या
धरान–१ का वडाध्यक्ष रोशन अधिकारीले खानेपानी संस्थानकै प्रणालीअन्तर्गत खानेपानी आइरहेको बताए । खानेपानीको चरम अभाव हुने गरेको ९ नम्बर वडाका वडाध्यक्ष रत्नबहादुर कटुवालले वडाको आधा भागमा आयोजनाको र आधामा संस्थानकै प्रणाली अन्तर्गत पानी आउने जनाए ।

संस्थानलाई बोर्डमै गाभिएपछि एउटै प्रणाली भए पनि नयाँ र पुरानो पाइप लाइन बुझाउन उनीहरूले यसो भनेका हुन् । अहिले भने समस्या नभएको कटुवालले बताए । हिउँदमा पनि अघिल्लो वर्ष झैं अभाव भए वडाको बजेट र अन्य सहयोग जुटाएर बोरिङ गरी पानी तान्ने सोचमा रहेको उनको भनाइ छ ।

बोर्डमार्पmत् पानी वितरण हुने सबैजसो वडामा खानेपानीको अभाव हुने गरेको भए पनि वैशाखयता भने ठूलो अभाव देखिएको छैन । केही वडामा सामान्य अभाव देखिन्छ । उत्पादनभन्दा वितरणमा भएको समस्याले खानेपानीको अभाव देखिएको बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलको भनाइ छ । संस्थानलाई बोर्डमा गाभिसकेपछि दुवै प्रणालीलाई जोड्न धेरै वडामा इन्टरकनेक्सन गर्न बाँकी रहेकाले सहज रूपमा पानी वितरण हुन नसकेको उनी बताउँछन् । यसअघि बोर्डले वितरण गरेका स्थानमा समेत हिउँदमा पानीको अभाव देखिएपछि आयोजनाकोे उत्पादन क्षमतामै शङ्का गरिएको छ तर, पोखरेलले भने संस्थानले वितरणमा असहयोग गरेकोले पानी वितरण हुन नसक्दा कृत्रिम अभाव देखिएको जिकिर गरे ।

संस्थानसमेत गाभिएर बोर्डले खानेपानीको वितरण सुरु गरेको भए पनि आयोजना पूर्ण रूपमा सञ्चालन गर्न ठेकेदार पक्षलाई नौ महिनाको समय दिइएको छ । त्यसपछि बोर्डले सहजरूपमा खानेपानी वितरण गर्नेमा आपूm विश्वस्त रहेको पोखरेलले बताए ।

उपभोक्ता समितिः केही निष्कृय, केही झन् सक्रिय
बजारका केही भागमा स्थानीयले उपभोक्ता समितिमार्फत् स्थानीय स्रोत प्रयोग गरी खानेपानी उपभोग गरिरहेका छन् । १३ नम्बर वडामा मात्र १० भन्दा बढी उपभोक्ता समिति छन् । यी समितिले सिम्ले, भालु, सर्दू, गोङ्गटे, दोभाने, काली, निसानेलगायतका खोलाहरूबाट पानी ल्याएका छन् । पछिल्लो समय बोर्डबाट पानी वितरण हुन थालेपछि केही समिति निष्क्रिय भएका छन् भने केही अझ बढी सक्रिय भएका छन् । सक्रिय समितिहरूमा ४०–५० घरधुरी रहेका शिवधारा, सारङ्गा, घोपन (अमरहाट), गौर स्वस्तिका मार्गलगायत रहेको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जनाए ।

११, १४, १५, १६ र १७ नम्बर वडामा क्रमशः दुई, तीन, दुई, पाँच र एक उपभोक्ता समिति छन् । धारा सङ्ख्याका आधारमा सबैभन्दा ठूलो १६ नम्बरको लोकतान्त्रिक सामाजिक संस्थाले ३ सय २० निजी धारा र ३ सय ५० घर सुकुम्बासीलाई समेत सार्वजनिक धारामार्पmत् पानी वितरण गरेको छ । सो स्थानमा बोर्डले पनि पानी वितरण गरिरहेको छ ।

१७ नम्बरको नन्दपुर खानेपानी योजना अन्तर्गत ३ सय १५ घरमध्ये तीनसय वटामा मिटर जडान भएका छन् । भस्मे, तिलैट र कालीखोलाबाट पानी ल्याइएको भए पनि फागुनदेखि जेठसम्म मुहान सुकेर पानीको अभाव हुने गरेकोमा गतवर्ष प्रदेश सरकारको १७ लाख ६३ हजार रुपैयाँको लागतमा दुईवटा बोरिङ गरिएका छन् । बोरिङ खनिसकिए पनि प्राविधिक काम बाँकी रहेकाले बोरिङ सञ्चालनमा आउन अभैm केही समय लाग्न सक्ने समितिका पूर्वअध्यक्ष जयबहादुर राई बताउँछन् ।

करिब दुई वर्षअघि खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको सर्वेअनुसार उपमहानगरभित्र ९ हजार १ सय २४ धाराबाट ११ हजार ४६ घरपरिवारका ६० हजार ३ सय ७८ जनसङ्ख्यालाई ८२ वटा खानेपानी आयोजना र उपभोक्ता समितिमार्पmत् खानेपानी वितरण भइरहेको खानेपानी मन्त्रालयको अभिलेखमा उल्लेख छ । यी बाहेक दर्ता नभएका समितिहरू पनि छन् । तिनमा ५ देखि २० घर उपभोक्ता छन् । सर्वेमा संलग्न समितिहरूमध्ये अधिकांशमा उपभोक्ता सङ्ख्यामा वृद्धि भए पनि खानेपानीको स्रोत र वितरण प्रणाली भने पुरानै रहेको पाइन्छ ।

जलस्रोत ऐन, २०४९ अनुसार प्रजिअ कार्यालय मातहत जिल्ला जलस्रोत समितिले खानेपानी उपभोक्ता समिति दर्ता गर्ने गरेको भए पनि पछिल्लो समय यो अधिकार स्थानीय सरकारमा आएपछि धरान उपमहानगरपालिकाले नगरक्षेत्रभित्र रहेका समितिहरूको दर्ता प्रक्रिया अगाडि बढाएको छ । वडा कार्यालयमार्पmत् दर्ता हुने गरी प्रक्रियामा आउन उमनपाले आह्वान गरेको छ । तर, कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण समितिहरू दर्तामा नआइसकेको उमनपा वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका वातावरण अधिकृत भेषराज घिमिरे बताउँछन् ।

सहयोग जुटाउँदै समिति सञ्चालन
दर्ता नभएकाले खानेपानीका लागि छुट्टै कार्यक्रम सञ्चालन नभएपनि समस्याग्रस्त समितिहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको वातावरण अधिकृत घिमिरेले जनाए । उनले उमनपाले बजेट वडामा पठाउने भएकाले वडाले प्राथमिकताका आधारमा बजेट छुट्याउने बताउँदै उमनपाले पनि आवश्यकताअनुसार सहयोग गरेको बताएका छन् । आरभीएन, दुर्गम खानेपानी कार्यालय इटहरी र प्लान नेपालजस्ता संस्थाहरूले पनि ती समितिहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको घिमिरे बताउँछन् ।

१३ नम्बरका वडाध्यक्ष काफ्ले आफ्नो वडाका समितिहरू उपभोक्ता र सङ्घ–संस्थाको सहयोगमा सञ्चालित रहेको बताउँछन् । धरान–५ ठिङ्गाबारी खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष गोविन्द महतका अनुसार ट्याङ््की निर्माण, पाइप विस्तारलगायतमा डिभिजन कार्यालयले सहयोग गर्ने गरेको छ ।

देउरालीमा वैकल्पिक स्रोतको खाँचो
साविकको पाँचकन्या गाविस (हाल धरान–५ र ६) को ५ मा नौवटा र ६ मा एउटा खानेपानी उपभोक्ता समिति छन् । धरान–५ का नौमध्ये सात, ६ को एक गरी धरानका आठ समितिको साझा मुहान सेहरा खोला हो । सेहरा खोला स्रोत भएको धरान–५ को देउराली खानेपानी तथा सरसफाइ समितिले मात्र तीन हजारको हाराहारीमा निजी धारा जडान गरेको छ भने ६ को पानबारी खानेपानी तथा सरसफाइ समितिमा तीन हजार पाँचसयभन्दा बढी धारा जडान गरिएको छ ।

त्यस्तै ठिङ्गाबारी खानेपानी तथा सरसफाइ समिति र खैरेनी खानेपानी तथा सरसफाइ समितिले पनि तीन–तीन सयको हाराहारीमा धारा जडान गरेका छन् ।

धरान–५ र ६ का कृषियोग्य जमिनमा सिंचाइ गर्न पनि सेहराको पानी प्रयोग गरिन्छ । हिउँदमा खोला सुक्ने भएकाले सिंचाइ र खानेपानी दुवैमा समस्या हुने गर्दछ । वर्षामा भेल आएर मुहान भत्काउने मात्र होइन, खोेलाका पाइपसमेत बगाउँदा हैरानी व्यहोर्नु परेको धरान खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष मोहन कार्की बताउँछन् । दैनिकजसो नयाँ घर बनेर नयाँ मिटर जडानका लागि निवेदन आउने गरे पनि स्रोत अपर्याप्त हुँदा पुरानै धारामा समेत नियमित पानी वितरण गर्न नसकिएको उनले सुनाए ।

देउरालीमा हिउँदको अभावभन्दा बर्खाको बाढीले बढी समस्या जन्माउँछ । बर्खामा यहाँका उपभोक्ता बलेसीको भर पर्छन् । धारामा पानी नै आउँदैन, आइहाले पनि लेदो आउने भएकाले चर्पीमा समेत प्रयोग गर्न योग्य पानी नआउने देउराली खानेपानी तथा सरसफाइ समितिका उपभोक्ता खड्गबहादुर मगर बताउँछन् ।

निरन्तर पानी परे खानबाहेक अन्य प्रयोजनका लागि नजिकै रसाउने मुहानबाट पानी ल्याउन सकिने भए पनि यसका लागि एक महिनासम्म निरन्तर पानी पर्नुपर्ने अध्यक्ष कार्की बताउँछन् । समितिका सचिव मिलन राई अर्को वर्ष सेहराबाट पानी ल्याउन ठूलो समस्या हुने बताउँछन् । अहिलेको मुहानभन्दा माथि सतिसालेका उपभोक्ताले १ सय ५० एमएमको पाइप लगाउने भएपछि उनी निराश भएका हुन् । तत्काल वैकल्पिक उपाय नअपनाइए अर्को वर्ष देउरालीमा हाहाकार हुने राईको भनाइ छ । उनी भन्छन्, ‘हामीले सेहरा खोलाको विकल्पमा ४–५ ठाउँमा बोरिङ गरेर पानी निकाल्नु पर्छ ।’

सातवटा समितिको साझा मुहानमा रहेको इन्टेक ट्याङ्कमा गतवर्षको भेलले केही क्षति गरेको छ । यसवर्ष खोला त्यतै सोझिएकोले अलि ठूलो भेल आए मुहान नै बगाउने ठिङ्गाबारी खानेपानी समितिका अध्यक्ष महत बताउँछन् । ठूलो बाढी आउनुपूर्व नै स्थानीय सरकारले बजेट उपलब्ध गराए त्यो विपत् तत्कालका लागि निराकरण हुने महतको भनाइ छ ।

धरान–४ मा छैन भरपर्दो मुहान
धरान–४ मा १४ वटा उपभोक्ता समिति छन् । तीमध्ये केहीले उपभोक्ताहरूलाई निजी धारा जडान गरिदिएका छन् भने केहीले सार्वजनिक धाराबाट पानी वितरण गरिरहेका छन् । खोला, खोल्सा, मूल र पोखरीबाट खानेपानी वितरण गरिरहेका त्यहाँका अधिकांश समितिका लागि खानेपानीको स्रोत नै प्रमुख समस्या रहेको वडाध्यक्ष मानबहादुर राई बताउँछन् ।

करिब ६६ घर रहेको ढाडे र तेलम्पुरमा  चैत–वैशाखमा खानेपानीको चरम अभाव हुने गरेको राईले सुनाए । मुहान भरपर्दो नभएकोले वडाका धेरैजसो भागमा खानेपानीको अभाव हुने गरेको उनले बताए । ‘महिनौँसम्म पनि धारामा पानी नआएर खोला, खोल्सा र कुवातिर कुद्नुपर्ने बाध्यता छ’–वडाध्यक्ष राईले भने ।

धरान–२० मा ३६ वटा उपभोक्ता समिति
धरान–२० को विष्णुपादुकामा उपभोक्ता समितिमार्फत् ३६ वटा खानेपानी आयोजनाहरू सञ्चालनमा छन् । समितिहरू पनि दातृसंस्थाहरूको सहयोगमा निर्भर रहेका अधिकांश समितिहरू स्रोत हिउँदमा सुक्ने, भरपर्दो वितरण प्रणाली नहुनु, सञ्चयका लागि ट्याङ्की अभावलगायतमा विभिन्न समस्या रहेको वडाध्यक्ष मणिराम राई बताउँछन् ।

माङखोला खानेपानी आयोजनाले ९४ निजी धारा जडान गरेको सचिव कमल राईले जनाए । करिब दुई सय उपभोक्ता रहेको यो समितिले बर्खामा २४ सै घण्टा पानी वितरण गर्ने भए पनि हिउँदमा भने केही घण्टामात्र पानी वितरण गर्ने गरेको उनले बताए ।

वराहक्षेत्रका उपभोक्तासमेत समेटेको सराह खानेपानी उपभोक्ता समितिले करिब तीन सय धाराका लागि स्थानीय खोलाबाट लिफ्टिङ गरेर खानेपानी वितरण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिए ।

यी समितिहरूले हालको आवश्यकतालाई जेनतेन धानिरहेका भए पनि भविष्यमा बढ्दो सहरीकरणसँगै बढ्ने खानेपानीको माग धान्न कठिन हुने सहजै अनुमान लगाउन सकिन्छ । त्यसकारण दीर्घकालीन समाधानका लागि बेलैमा वैकल्पिक व्यवस्था गर्नुआवश्यक देखिन्छ ।

वडाबाहेक उपमहानगरपालिकामा अर्को पनि खानेपानी आयोजनाको अध्ययन भइरहेको र त्यसले धरान उपमहानगरपालिकाभित्र रहेका खानेपानी उपभोक्ता समितिलाई ‘मर्ज’ गरेर माग अनुसारको पानी पूर्ति गर्ने गरी अध्ययन हुने नगरप्रमुख तिलक राई बताउँछन् । बोर्ड पूर्ण रूपमा सञ्चालनमा नआइसकेकाले बोर्डले  खानेपानी वितरण गर्ने क्षेत्रहरूमा रहेका समितिहरूसँग औपचारिक कुरा नभइसकेको राईको भनाइ छ ।

बोर्ड पूर्णरूपमा सञ्चालनमा आए पनि २ करोडमा डेढ करोड लिटर मात्र सप्लाइ गर्दछ । अधिकांश खानेपानी उपभोक्ता समितिमा केहीमा हिउँदमा समस्या भए पनि धेरै उपभोक्ता भएका समितिहरूमा हिउँद र बर्खा दुवै समयमा समस्या रहेको छ । नगर प्रमुख राई भन्छन्, ‘विज्ञहरू भन्छन् प्रयेक १० वर्षमा खनेपानीको स्रोत र वितरण प्रणालीलाई अद्यावधिक गर्नुपर्छ, सङ्घीय सरकारले धरान–धनकुटा सडक–खण्डमा सुरुङमार्ग निर्माण गर्ने भनेको छ, त्यही सुरुङमार्गबाट तमोरको पानी ल्याउन सकिन्छ ।’