धरान । सडक बन्ने भएपछि खुसी बनेकी मैया विक आजकाल त्यही सडकका कारण पिरोलिएकी छन् । 

लुम्बिनी गजुरमुखी जेभीले धरान १५ निराजन बस्तीदेखि धरान ४ को माथिल्लो क्षेत्र कन्यापोखरीसम्मको १५ किलोमिटर सडक निर्माण गर्दै गरेका कारण अहिले उनकोसहित केही घर पहिरोको जोखिम भएपछि पिरोलिएकी हुन् । सडक निर्माणका लागि ट्रयाक खोलेका कारण उनीसहित मानबहादुर घतानी, एकराज विक घिमिरेको घर पहिरोको उच्च जोखिममा परेको छ । बर्खामा पर्खाल नलागाए जुनसुकै बेला पनि उठिबास लाग्ने अवस्था आएको मैया विक बताउँछिन् । ‘सडक बन्नुअघि सडकभन्दा ५ फिट मुनी घर थियो, अहिले सडकको ट्रयाक खोलेपछि झण्डै २० फुट माथि घर छ’ उनी भन्छिन्, ‘कुन बेला पहिरो जान्छ भन्ने त्रासमा रात बिताउनु परेको छ ।’

सडकको ट्रयाक खोल्ने क्रममा मेसिन लगाएर खारिएका कारण उनीसहित एकराज, मानबहादुरको घर सडकभन्दा माथि परेको हो । मानबहादुरको घर अहिले उच्च जोखिममा रहेको छ । ‘माथिबाट चर्किन थालिसकेको छ’ बुहारी सजिना घतानीले भनिन्, ‘तलबाट पनि पहिरो जान थालिसकेको छ ।’ निर्माण कम्पनीमा कार्यरत इन्जिनियर सचिन क्षेत्रीले सडकको ट्रयाक खोल्नेक्रममा बाटोकै बराबरीमा खारिदिने भनेको भए पनि नखारिदिएको एकराजले बताए । ‘हामीले सुरुमा निर्माण कम्पनीले तपाईंहरूको घर पनि सडकको बराबरीमा बनाइदिन्छौं भनेर भन्नुभएको थियो’ उनले भने, ‘तर, अहिलेसम्म केही गर्नुभएको छैन, पहिरो जाला कि भन्ने पिरलोले सताउँछ ।’ उनीहरू बसेको ठाउँ ऐलानी जग्गा पर्छ । 

dharan_road_patrangbari (1)

पहिरोको जोखिमसँगै रुख लड्ने हो कि भन्ने चिन्ता पनि उस्तै रहेको एकराज बताउँछन् । उनीहरूको घर नजिकै पत्रङबारी सामुदायिक वनको केही सखुवाका लाथ्राहरू रहेका छन् । जसलाई निर्माण कम्पनीले पनि अनुमति नभएका कारण काट्न सकेको छैन । जसले गर्दा हावाहुरी आउँदा घरतिर लड्ने हो कि भन्ने चिन्ताले सताउने एकराज बताउँछन् । ‘पहिरोको जोखिम त छँदैछ, हावाहुरी आएको बेला त रुख ढलेर घर किच्छ कि भनेर रातभरि निदाउन सक्दैनौं’ उनी भन्छन् । बिहीबार राति पनि सामान्य हावाहुरी आएकाले रातभरि निदाउन नसकेको पीडा सुनाए । 

मैयाको घरको बरण्डा नजिकै झण्डै २० फुट खारिएको छ । त्यस्तै मानबहादुर घतानीको घर छेउमा करिब ३५ फुटजति खारिएको छ । घतानीको घर छेउमा पहिरोसमेत गएको अवस्था छ । बाटो निर्माण पूर्व त्यहाँ सडकको अवस्था फरक थियो । निर्माण कम्पनीका इन्जिनियर सचिन क्षेत्रीले पनि जोखिम रहेको कुरालाई स्वीकार गरे । ‘जोखिम त जोखिम नै छ, तर रुखहरूका कारण हामीले वाल लगाउन सकेका छैनौं’ उनले फोनसम्पर्कमा भने । उनले मानवीयताका हिसाबले पनि कम्पनीले पर्खाल लगाइदिने भनेर आश्वासन दिएको स्वीकार गरे । ‘त्यो घरहरू ऐलानी जग्गामा पर्छ, त्यहीँ पनि हामीले वाल लगाइदिन्छौं भनेर भनेका छौं । रुख काटिने बित्तिकै हामी लगाइदिन्छौं’ उनी भन्छन् । 

dharan_road_patrangbari (3)

मलिलो माटो भएकाले बर्खाको समयमा जुनसुकै बेला पनि पहिरो जाने डर रहेको मैया विक बताउँछिन् । ‘बर्खा लागिसक्यो, कहिले पर्खाल लगाइदिने हुन्, हाम्रो त उठिबास नै हुन्छ’ उनले भनिन् । एकराज पनि आफूहरूको जग्गाको नाममा यही भएकाले अन्त जानेसम्म ठाउँ नभएकाले पहिरोको जोखिममा पनि बाध्य भएर बस्नु परेको बताउँछन् । लुम्बिनी गजुरमुखी जेभीसँग २०७८ साल असोज १६ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तीनवर्षमा सम्पन्न गर्ने सम्झौता भएको भए पनि कोरोना महामारीका कारण झण्डै ९ महिना काम नचलेको इन्जिनियर क्षेत्रीले बताए । उनका अनुसार भ्याटसहित ३९ करोड ३० लाख रुपैयाँमा सम्झौता भएको हो । २०७६ असोज १६ गते सम्झौता गरिएको थियो । प्रदेश १ अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङमार्फत् ठेक्का लागेको हो । सुनसरी क्षेत्र नम्बर १ (क) का सांसद् तथा प्रदेश १ का सभाषद् प्रदीपकुमार भण्डारीको निर्वाचन क्षेत्रअन्तर्गतको बहुवर्षे आयोजना हो । 

आइईईका कारण रुख कटानमा समस्या

प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) हालसम्म नहुँदा रुख कटानमा समस्या भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार आइईई गर्ने जिम्मेवारी पूर्वाधार विकास कार्यालय मोरङको हो । १५ किलोमिटर लामो सडकमा कतिपय क्षेत्रमा सडकमै रुखहरू रहेका छन् । पत्रङ्बारी भनिने त्यस स्थानमा पनि ४ वटा रुख छन् । जुन सडकको मध्यभागमा रहेका छन् । रुख कटान नहुँदा सडक निर्माणको काम हुन सकेको छैन । आइईई नभएका कारणले रुख काट्न समस्या भइरहेको इन्जिनियर क्षेत्री बताउँछन् । 

186387070_518194665846400_2957755929368924774_n copy

सामान्यतः साल (सखुवा) प्रजातिको रुख काट्नका लागि वन कार्यालयको अनुमतिले मात्रै पुग्दैन । मन्त्रिपरिषद् स्तरीय निर्णय चाहिन्छ । मन्त्रिपरिषद् स्तरीय निर्णयबाट रुख कटान गर्न सकिने भएकाले पनि समस्या भएको हुन सक्ने अनुमान गरिएको छ । सडक तथा पूर्वाधारको काम गर्दा अनिवार्य रूपमा आइईई गर्नुपर्ने हुन्छ । ठूला आयोजनाको हकमा बढी वातावरणीय क्षति हुने अवस्था सिर्जना भएमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने हुन्छ । जुन जिम्मेवारी ठेक्का लगाउने निकायले नै गर्नुपर्ने प्रावधान छ ।

तस्बिरहरूः उपेन्द्र चाम्लिङ