धरान । कोरोना सङ्क्रमणबाट आफन्तको मृत्यु भएपछि शोकाकुल बनेका परिवारजन धरानमा आफ्नै समुदाय र समाजबाट थप पीडित बन्न थालेका छन् । 

कोरोनाको पहिलो लहर चलेको बेला सङ्क्रमित र उसका परिवारले विभेदको शिकार बन्नुपरेको थियो । दोस्रो लहरमा आफ्नै समुदाय र समाजले दाहसंस्कार स्थलमा शव जलाउन नदिएर अमानवीय व्यवहार प्रदर्शन गरेपछि शोकमाथि अर्को सामाजिक पीडा खेप्नु परेको घटना धरानमा दिनदिनै सार्वजनिक हुन थालेका छन् ।

कोरोना सङ्क्रमितको शव दाहसंस्कार स्थलमा जलाए कोरोना फैलिन्छ भन्ने त्रासले धरानमा स्थानीय दाहसंसकार स्थल आसपाका बासिन्दा र सञ्चालकहरूले जलाएर अन्त्येष्टि गर्न नदिएपछि मृतकका परिवारले थप पीडा भोग्न बाध्य भएका हुन् ।

पहिलो घटनाः गत शनिबार धरान–१६ का एक सङ्क्रमित पुरुषको शव जातीय परम्परा र सरकारले जारी गरेको प्रोटोकलअनुसार खत्रीधारामा जलाउन नदिएपछि रातारात जङ्गलमा पुर्याएर गाडेका थिए ।

पछिल्लो घटनाः गत मङ्गलबार धरान–३ का एक अर्का सङ्क्रमित पुरुषको शव जलाएर अन्त्येष्टि गर्न खोज्दा खत्रीधारा आसापसका बासिन्दाले अवरोध गरे ।

मृतकका आफन्तले खत्रीधारामा जलाउन नपाउने भएपछि धरान–८ को बौद्ध दाहसंस्कार स्थल, वराहक्षेत्रको चतराघाट, इटहरीको बूढीगङ्गा घाटमध्ये एकमा लैजाने योजना बनाए पनि ती घाटहरूले पनि जलाउन नदिने बताएपछि मोरङको सिङ्घिया खोलामा पु¥याउनु परेको थियो ।

यसैबीच धरानका दाहसंस्कार स्थलका प्रतिनिधि, उपमहानगरपालिकाका मेयर र अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला बीच बुधबार भएको छलफलले पनि कुनै निष्कर्ष निकाल्न सकेन ।

  धरान उपमहानगरका मेयर तिलक राईले भने, ‘यसअघि सरोकारवालासँग बसेर छलफल गर्दा जलाउन दिने निर्णय भएको थियो तर, स्थानीय बासिन्दाले नदिएपछि समस्या उत्पन्न भएको हो ।

बिहीबार बिहान फेरि स्थानीय बासिन्दासँग बसेर छलफल गर्नेछौं । साथै विकल्प पनि खोज्दै छौं ।’ झिगु समाजका अध्यक्ष सुरेन्द्र स्थापितले संस्थाले जलाउन दिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण शव जलाउन नदिने निर्णय गरेको बताए ।

बौद्ध दाहसंस्कार स्थलका अध्यक्ष कर्ण तमुले पनि स्थानीयको असहमतिका कारण संस्थाकै सदस्य कोरोना सङ्क्रमित भएर मृत्यु भएमा पनि बौद्ध दाहसंस्कार स्थलमा जलाउन नपाउने निर्णय नै गरेको बताए । 

शवबाट कोरोना सङ्क्रमण हुन्छ कि हुँदैन भन्ने बारेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पल्मोलोजी विभागका चिकित्सक डा. दिव्यराज मिश्रले भने, ‘यदि शवबाट निस्केको तरल पदार्थ छोएमा वा सावधानी नअपनाएमा सङ्क्रमण हुनसक्छ तर, सरकारले जारी गरेको प्रोटोकल पूरा गरेमा सङ्क्रमण हुँदैन ।’ 

सरकारले मृतकको अन्त्येष्टि गर्नका लागि जारी गरेको प्रोटोकलमा शवको खरानीले कुनै जोखिम पैदा नगर्ने भएकाले अन्तिम संस्कारका लागि खरानी सङ्कलन गर्न सकिने जनाइएको छ ।

तर, अन्त्येष्टिमा सहभागी सबैले अनिवार्य मास्क, पञ्जा प्रयोग गर्नुपर्ने, अन्त्येष्टि गर्ने स्थानमा बडी ब्याग नखोली दूरी कायम गरी माला चढाउने व्यवस्था गर्न सकिने, मृत शरीरलाई मुसार्ने, अँगालो हाल्ने, ढोग्ने, चुम्बन गर्नेजस्ता कार्य गर्न नहुने प्रावधान राखिएको छ ।