धरान/उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५ महिनाअघि जडान गरिएको अक्सिजन प्लाण्टको हिसाबकिताब फरफारक नगर्ने एक कम्पनीलाई करिब ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

गिरीले डाइग्नोकेन इण्टरनेशनलका सञ्चालक विज्ञान अर्याललाई उक्त रकम भुक्तानी गरेको प्रतिष्ठान स्रोतले बतायो । 

३ करोड २४ लाख रुपैयाँको लागतमा प्रतिष्ठानमा १५ महिनाअघि जडान गरेको अक्सिजन प्लाण्टको ३ हजार, ६ हजार र ९ हजार घण्टाको सर्भिसिङ शुल्क सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया नभएकाले भुक्तानी रोकिएको थियो ।

डाइग्नोकेनका सञ्चालक अर्यालले अक्सिजन प्लाण्टको सर्भिसिङको नाममा यति धेरै रकम माग गरेपछि उपकुलपति गिरीले भुक्तानी दिएका हुन् ।

भारतको युनिषी इण्डिया कम्पनीबाट खरिद गरेर डाइग्नोकेनले प्रतिष्ठानलाई अक्सिजन प्लाण्ट ल्याइदिए पनि करिब ८ महिना चौरमा डम्प गरेको र बोलपत्रअनुसार १ सय २० दिनभन्दा बढी समय लगाएकाले उसले उल्टै क्षतिपूर्ति दिनुपर्ने थियो ।

महालेखा परीक्षकको प्रतिवेदनमा समेत डाइग्नोकेनलाई प्रतिष्ठानले ३२ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिराउनु पर्ने उल्लेख गर्दै पत्र लेखेको छ ।

यस्तै प्रतिष्ठानका खरिद शाखा, आर्थिक प्रशासन शाखा, कानूनी सल्लाहकारले समेत डाइग्नोकेनलाई पूर्ववर्ती उपकुलपतिले कालोसूचीमा राख्ने निर्णय गरिसकेको बेला भुक्तानी दिइएको हो । 

प्रतिष्ठानको कार्यकारिणी समितिको निर्णय बिना तत्काल भुक्तानी नदिन ताकेता गर्दै आर्थिक प्रशासनले ०७८ वैशाख ९ गते उपकुलपतिको नाममा एक टिप्पणीमार्फत् डाइग्नोकेनबाट क्षतिपूर्ति रकम ३२ लाख ४० हजार ६ सय ४० रुपैयाँ लिनुपर्ने राय दिए पनि त्यसको विपरीत भुक्तानी गरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

डाइग्नोकेनले अक्सिजन प्लाण्टको सर्भिस रिपोर्टहरूको मूलप्रति पेश नगरेको र प्राविधिकबाट प्रमाणितसमेत नगरेको, मर्मत सम्भारमा प्रयोग भएको सामग्रीहरू ‘कम्प्रिहेन्सिभ मेण्टेनेन्स वारेण्टी पिरियड’ भित्र नपर्ने बारे पुष्टि नभएको र उक्त कम्पनीले पेश गरेको दररेटको यकिन गर्न प्रज्ञापन–पत्रको प्रतिलिपि पनि नभएको अवस्थामा भुक्तानी गरिएको प्रतिष्ठानको खरिद र आर्थिक प्रशासन शाखाले लेखेको टिप्पणीमा उल्लेख छ ।

प्रतिष्ठानका विभिन्न शाखाहरूले डाइग्नोकेन र अक्सिजन प्लाण्टका बारेमा उपकुपतिलाई दिएका रायसहितको टिप्पणी र आदेशका प्रतिलिपि ब्लाष्टसँग सुरक्षित छ ।

डाइग्नोकेनले तोकिएको समयमा सामान आपूर्ति नगरेको अवस्थामा क्षतिपूर्ति लिने गरी म्याद थप भएको र खरिद सम्झौतामा आपूर्तिका कारण प्रतीतपत्र संशोधन भई सटही दरका कारण बढी व्ययभार पर्ने भएमा आपूर्तिकर्ताले नै व्यहोर्नु पर्ने प्रावधान राखिएको थियो ।

सो प्रावधानअनुसार डाइग्नोकेनले प्रतिष्ठानलाई थप व्ययभार ९ लाख ४४ हजार ७ सय ४३ रुपैयाँ बेरुजु देखिएकाले उसैबाट असुलउपर गर्नुपर्ने राय पनि उपकुलपति गिरीलाई दिइएको थियो । ३ करोड २४ लाख रुपैयाँ लागतको अक्सिजन प्लाण्ट जडान गरेको १५ महिना पुगेको छैन ।

तर, मर्मत सम्भारको नाममा ५५ लाख रुपैयाँ खर्च भइसकेको छ । फेरि मर्मत सम्भार गर्ने नाममा २५ लाख रुपैयाँ खर्च गर्ने तयारी भइरहेको पनि प्रतिष्ठान स्रोतले बताएको छ ।

कालोसूचीमा परेका डाइग्नोकेनका सञ्चालक अर्याललाई अक्सिजन प्लाण्टका मुख्य बिक्रेता युनिषी इण्डिया कम्पनीले पनि ‘ब्याकआउट’ गरिसकेको छ ।

तर, उनलाई प्रतिष्ठानका उपकुलपति गिरीले काखी च्यापेका कारण मर्मत सम्भारको नाममा बर्सेनि लाखौं रुपैयाँ खर्च भइरहेको प्रतिष्ठान स्रोतले जनाएको छ ।