मध्यपहाडी राजमार्ग विस्तार भएसँगै पाँचथरको हिलियाङ गाउँपालिका वडा नम्बर ४ की लक्ष्मी श्रेष्ठले दैनिकी चलाउनैका लागि खाजा पसललाई आम्दानीको टेको बनाउँदै आएकी छन् । यातायात सुविधाका कारण स्थानीयले आप्mना कृषि उपज बिक्री तथा सडक छेउछाउ सामान्य पसल व्यापार गरिरहेका छन् । यिनैमध्येकी श्रेष्ठले पनि चिया पसलबाट आम्दानी लिँदै आएकी छन् । श्रेष्ठसँगको चिया गफ ः

खाजा पसल खोल्ने विचार कसरी आयो ?

अहिले यो क्षेत्रमा सडकको सहज पहुँच भएपछि मिलढुंगा झरनामा पर्यटक  आउन थालेका छन् । पर्यटक आउने क्रम बढिरहेको छ । दैनिक रोजीरोटीको मेसो मिलाउन सानो खाजा पसल खोलेकी हुँ । सानोतिनो व्यापार व्यवसाय गरेर दैनिक जीवन चलाउन सहज भएको छ ।

मिलढुंगा झरनामा होटल खोल्नुअघि के गर्नुहुन्थ्यो ?

यसअघि घरतिरै खेती किसानी गरिन्थ्यो ।  घरमा एउटा साधारण किराना पसल पनि सञ्चालन गर्थें । पछि यो ठाउँमा एउटा सडक परियोजना आयो । बाटो बनेपछि यस क्षेत्रमा मानिसको चहल पनि बढ्न थाल्यो । अनि यतैतिर व्यवसाय गर्न झरेँ ।  कोरोना र लकडाउनले नराम्रैसँग थला पारे पनि नयाँ कुराको अनुभव गरियो । केही सिकियो । समग्रमा राम्रै छ ।

सडक परियोजनाले गाउँघरको आर्थिक अवस्थामा कुनै परिवर्तन ल्याएको छ ?

परिवर्तन भएको छ । गाउँघरमा त्यत्तिकै बसिन्थ्यो । अहिले सानोतिनो व्यवसायसम्म भए पनि गर्न पाएका छौँ । नयाँ कुरा सिकियो । आफूलाई व्यावसायिकतामा लगिएको छ । कमसेकम स्वरोजगार हुन पाइयो । पछि यहाँ व्यवसाय नचले अन्यत्रै गएर पनि गर्न सकिन्छ भन्ने आँट आएको छ । हामीजस्ता लागि यो ठूलै उपलब्धि हो ।

अहिले यो ठाउँमा पर्यटक आवागमन अवस्था कस्तो छ ?

सुरु–सुरुमा ठीकै थियो तर अहिले कोरोना महामारीका कारण पर्यटकको संख्या अत्यन्तै न्यून छ । हाम्रो व्यवसाय पनि यही परियोजनामा काम गर्ने श्रमिकमै सीमित भएको छ । यो झरना पनि सुक्दै गएको छ । पालिकाले खोलाको पानी यो झरनामा ल्याएर खसाल्ने भनेको थियो तर अहिलेसम्म खसालेको छैन ।

मध्यपहाडी राजमार्गको यो खण्डमा सडक बनेपछि स्थानीयलाई सहज भएकै होला होइन ?

यो सडक खण्ड निर्माणले पक्कै पनि सहज बनाएको छ । तत्कालै यसले दिएको फाइदा नदेखिए पनि भविष्यमा यो सडकले यहाँका कृषकदेखि अन्य व्यवसाय गर्ने सबैलाई फाइदा पुग्छ जस्तो लाग्छ ।