धनुकटा । सिंचाइका लागि स्थानीयले प्रयोग गर्दै आएको मुगा खोलास्थित भुल्केपानी मुहानबाट पाख्रीबास नगरपालिकाले ‘लिफ्ट सिस्टम’ मार्फत् खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि स्थानीय र नगरपालिकाबीच दूरी बढेको छ । 

पाख्रीबास–८ र १० मा पर्ने मुगा खोलालाई वर्षौंअघिदेखि स्थानीयले सिंचाइका लागि प्रयोग गर्दै आएका थिए । नगरले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत् लिफ्ट सिस्टमबाट ‘खानेपानी आयोजना सञ्चालन’ गर्न लागेपछि स्थानीयको दूरी बढेको हो । स्थानीयले उक्त मुहान प्रयोग गर्न नदिने अडान लिँदै आएका छन् ।

दुई वर्षअघि भुल्केपानी मुहान प्रयोग गर्दै आएका स्थानीयले अदालतमा मुद्दा हालेका थिए । मुद्दाको सुनुवाइ गर्दै अदालतले ‘स्थानीयसँग समन्वय गरेर जानू’ भनी फैसला गरेको थियो । स्थानीयले अहिले ‘भुल्केपानी मुहान बचाउ सङ्घर्ष समिति’ नै गठन गरिएको छ । उक्त समितिमार्फत् अहिले आन्दोलित बनेको अवस्था छ । यता नगरले आयोजना सञ्चालनका लागि १९ करोड ७२ लाख रुपैयाँमा ठेक्का दिन आइतबार प्राविधिक प्रस्ताव खोलिसकेको छ ।

आयोजनाको कुल बजेट भने २८ करोड ५८ लाख ७२ हजार रुपैयाँ रहेको ढल व्यवस्थापन आयोजना धनकुटाले जनाएको छ । यस आयोजनामा ढल व्यवस्थापनको पनि प्रत्यक्ष भूमिका छ । तर, स्थानीयले पाख्रीबास–८ की कृष्णकुमारी राईको अध्यक्षतामा सङ्घर्ष समिति गठन गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । जसका कारण नगर र स्थानीयबीचको दूरी बढेको सङ्केत गर्छ । 

स्थानीयको सहमतिबिना खानेपानी आयोजना सञ्चालन गर्न लागिएको भन्दै समितिले नगरलाई गम्भीर आरोप लगाएको छ । सहमतिबिना आयोजना सञ्चालन नगर्न भन्दै पाख्रीवास नगरपालिका कार्यालय र धनकुटास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई आइतबार लिखित रूपमा निवेदन दिएका छन् ।

मुहानको विषयमा विवाद खडा भएपछि स्थानीय सञ्चारकर्मी एवम् पत्रकारलाई समितिले स्थलगत अवलोकन गराएको थियो । समितिकी अध्यक्ष राईले भनिन्, ‘हजारौं वर्षदेखि हाम्रा पुर्खाहरूले खेतीयोग्य जमिनमा उपयोग गरिरहेको पानी हामी कुनै पनि हालतमा दिँदैनौं ।’ समितिका अनुसार ८ सयभन्दा बढी परिवारले मुहानको पानीले ३ सय रोपनीभन्दा बढी जग्गामा सिंचाइ गर्दै आएका छन् । नगरले आयोजना सञ्चालन गरेपछि भने उक्त खेतीयोग्य जमिन बञ्जरमा परिणत हुने समितिका पदाधिकारी बताउँछन् ।

आयोजना सञ्चालन गर्न नगरले स्थानीयलाई झुक्याएको अध्यक्ष राईको आरोप छ । उनका अनुसार दुई वर्षअघि नगरले स्थानीयले भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा नम्बरी बनाइदिने भन्दै आश्वासन दिइएको थियो । नगरले भुल्केपानीलाई पूर्णरूपमा इन्टेक बनाएर पम्पको माध्यमबाट लिफ्ट सिस्टमबाट राम्चे डाँडासम्म लाने तयारी गरेको छ । करोडौंको आयोजना सञ्चालन गर्नुपूर्व कुनै जानकारी र सूचना नदिई काम गर्ने नगरको तयारीप्रति स्थानीय रुष्ट बनेका छन् । तर, नगरले स्थानीयको सहमतिमै आयोजना सञ्चालन गरिएको दाबी गरेको छ ।

समितिका सदस्य पाख्रीवास–१० का धनबहादुर राईले भुल्केपानीको मुहानबाटै ल्याइएको पानीले २५ रोपनी जग्गामा धानखेती गर्दै आइरहेको बताए । समिति आन्दोलित बनेपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख विनोदकुमार भुजेलले खानेपानी आयोजनामा उठेको विवादलाई समाधान गर्ने पूर्ण जिम्मेवारी स्थानीय सरकारको रहेको बताए ।

उनले ३ वर्षअघि नगरपालिकाले आफ्नो कार्यालयमा योजना माग गरेको र सोही बमोजिम योजना छनौट भई कार्यान्वयनको चरणमा आइपुग्दा विवाद हुनु गलत भएको बताए । स्थानीय उपभोक्ताहरूले दिएको निवेदनसहितको कागजातहरू पाख्रीवास नगरपालिकालाई जानकारीका लागि पठाइसकेको प्रमुख भुजेलले बताए ।

ठेक्का लगाउन प्रस्ताव गरिएको रकममा पाख्रीवासको भुल्केदेखि राम्चेडाँडासम्मको १०.३८ किलोमिटर उचाइसम्म लिफ्ट सिस्टमबाट आयोजना सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । पाख्रीवास नगरपालिकाको २ वटा वडाबाहेक अन्य ८ वटा वडाको कुल ७०.८६ किलोमिटरभित्र खानेपानी आयोजना सञ्चालन गर्न लागिएको हो ।

नगर प्रमुख वृषबहादुर राईले २–३ वर्षअघि खानेपानीका लागि स्थानीयवासीसँग बसेर सम्भाव्यता अध्ययन गर्ने क्रम चलिरहँदा नै अदालतमा मुद्दा परेको बताए । मुद्दा परेपछि अदालतको फैसलाले मुहान प्रभावित क्षेत्रका बासिन्दाहरूसँग समायोजन गरेर जानू भन्ने आदेश आएपछि खानेपानीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लगायतको काम गरी हालको अवस्थामा आइपुगेको बताए ।

राईले खानेपानी योजना सम्पन्न हुँदा पाख्रीवास नगरपालिकाको १७ सय ८४ घरधुरीले स्वच्छ खानेपानी पाउने बताए । कुल जनसङ्ख्या ८० प्रतिशत हो । केही स्थानीयवासीको विरोधका बावजुद अधिकांश मुहान प्रभावित क्षेत्रका बासिन्दाहरूले खानेपानी योजना सञ्चालन गर्न लिखित रूपमा सहमति दिएको आधारमै नगरपालिकाले काम अगाडि बढाएको दाबी गरे ।