विजयपुर । ‘बाटुले’ भनेर चिनिने कृतिमान सुन्चेउरी (विश्वकर्मा) ले ९७ वर्ष पुग्दा पनि नागरिकता पाएका छैनन् । आर्थिक अवस्था कमजोर मात्र नभई घरवास नभएका कृतिमान अर्काको सहारामा जीवन बिताइरहेका छन् । अर्काको भरमा बाँच्न विवश उनी नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट पनि बञ्चित भएका छन् ।
कृतिमान सुन्चेउरी वि.सं.१९८० साल चैतमा धरान–१७ स्थित बीच घोपामा जन्मिएको स्थानीय बताउँछन् । तर, अहिले पनि उनी नागरिकताविहीन छन् । कृतिमान जन्मिदा नागरिकता दिने÷लिने व्यवस्था नै थिएन । करिब ४० वर्षपछि नागरिकता दिने/लिने व्यवस्था सुरु भयो । उनले नागरिकता लिनेदिने व्यवस्था सुरु भएको ४५ वर्षबढी हुँदा पनि नागरिकता प्राप्त गर्न सकेका छैनन् । आफन्तका अनुसार विगतदेखि नै हातखुट्टा चलुञ्जेल अरूका घरमा बस्दथे ।
काम गर्न सकुञ्जेल न नागरिकताको आवश्यक प¥यो, न आफन्तको नै । जब बुढेसकाल लाग्यो गरिखान सक्न छोडे अनि कृतिमानलार्ई नागरिकता र आफन्तको आवश्यकता पर्न थाल्यो, आफन्तको सहारा र नागरिकता सामाजिक सुरक्षा वृद्धभत्ताका लागि । उनले युवावस्थामा नागरिकता लिने प्रयास गरे कि गरेनन् ? थाहा छैन । अहिले बुढेसकाल लाग्यो । कान सुन्न छोडे । कान सुन्न छोडेपछि उनी बोल्न पनि सक्दैनन् । ९५ वर्षको उमेरसम्म त अरूकै घरमा बसे, खाए । आफन्तकोमा गएनन् । उनका आफन्त नभएका भने होइनन् ।
उनकी आफ्नी ७१ वर्षीया एक बहिनी छिन् । उनको नाम सावित्री सुन्चेउरी खड्गी हो । सावित्रीका अनुसार उनीहरूका ३ दाजभाइ र ३ दिदीबहिनी थिए । कृतिमान सबैभन्दा जेठा हुन् भने कान्छी बहिनी सावित्री हुन् । सावित्रीे २ दाजु र २ दिदीेको सानैमा मृत्यु भएको बताउँछिन् । अहिले उनीहरू २ दाजुबहिनी मात्र छन् । कृतिमानको विवाह भए पनि सन्तान भने भएनन् ।
बहिनी सावित्रीको पनि त्यस्तै भयो । अहिले कृतिमानको श्रीमती छैनन् । सावित्रीका पनि श्रीमान् छैनन् । उनका श्रीमान् मादक पदार्थ सेवन गर्ने भएकाले चाँडै मृत्यु भयो । उनी एक्लै भइन् । त्यसपछि काकाको छोराको घरमा बस्दै आएकी छिन् । ३ वर्षदेखि आफ्ना दाजु कृतिमानको पनि बिजोक हुन्छ भनेर काकाको छोराकै घरमा लिएर राखेकी छन् । दाजुबहिनीकै बासस्थान छैन । काकाको छोराको परिवारसँगै २ दाजुबहिनी बस्दै आएका छन् । उनीहरूको आयस्रोत र बाँच्ने आधार भनेको सावित्रीको वृद्धभत्ता मात्र हो ।
त्यही वृद्धभत्ताबाट खाने लगाउने गरेको सावित्रीले बताइन् । उनले आफूसँग नागरिकता भएकाले सामाजिक सुरक्षाभत्ता पाउँछिन् । आफूले सामाजिक सुरक्षा भत्ता पाए पनि दाजु कृतिमानको नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको बताइन् । उनले भनिन्, ‘नागरिकता दिए सामाजिक सुरक्षा भत्ता पाउने थिए, केही सहज हुन्थ्यो ।’ उनले दाजुलाई आफूसँग ल्याएपछि नागरिकताको लागि पहल गरिन् । तर, नागरिकता दिलाउन सकिनन् । उनले भनिन्, ‘९ दिनसम्म धाएँ, वडाध्यक्षले पनि सहयोग गरेका थिए, तर भएन पछि नागरिकता पनि पाएनन्, नभएको २५ सय खर्च भयो भन्दा वडाध्यक्षले २ हजार दिए ।’ तर, नागरिकता पाएनन् ।
एउटै आमाबुबा भएका कृतिमान सुन्चेउरीकी कान्छी बहिनी सावित्रीले २०५४ सालमा नागरिकता पाएकी छन् । उनले आफ्ना बुबा स्व. गोरे सुन्चेउरीको नामबाट वंशजको नागरिकता पाएकी छन् । तर, कृतिमानले भने ९७ वर्षको उमेरमा पनि नागरिकता पाउन सकेका छैनन् । स्थानीय अग्रज व्यक्तिहरूले कृतिमान धरान–१७ मा नै जन्मिएकाले नागरिकता पाउनुपर्ने बताएका छन् ।
बहिनीले वंशजका आधारमा नागरिकता पाउने दाजुले किन नपाउने ? भन्दै स्थानीयले प्रश्न गरे । स्थानीय रमेशचक्र खड्काले रेल्वेमा जन्मिएर हुर्किएको र अहिलेसम्म पनि रेल्वेमै रहेकाले नागरिकता पाउनुपर्ने बताए । उनले धेरै विदेशीेहरूले नागरिकता पाउँदा नेपाली नै भएर नागरिकताविहीन हुनु दुःखद् भएको बताए । रेल्वेमा जन्मिएर ३० वर्षभन्दा पहिलेदेखि ३ वर्ष पहिलेसम्म आफ्नो घरमा बसेको बताउने नहकुल विश्वकर्माले पनि कृतिमानले नागरिकता पाउनुपर्ने बताए ।
कृतिमान सानैदेखि काम गरिखाने गर्दथे । त्यो समयमा नागरिकताको आवश्यकता परेन । कुनै समयमा नागरिकता भन्ने चिज नोकरी गर्ने वा जग्गाधनीका लागि मात्र हो भन्ने धारणा र व्यवहार थियो । टोली आएर नागरिकता दिँदा पनि घरमूली, जग्गाधनी र जागिरका इच्छुकबाहेक अरूले नागरिकता लिन खासै आवश्यक मानिदैनथ्यो । कृतिमान जागिरमा लाग्नका लागि न पढाइ थियो, न त जग्गा जमिन नै । त्यसैले नागरिकता नलिएको हुनसक्ने जानकारहरू बताउँछन् ।
कृतिमानले उमेरअनुसार नेपालमा वृद्धभत्ता सुरु भएको ३ वर्षपछिबाटै पाउनु पर्ने थियो । उनी तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१÷५२ को बजेटमा वृद्धभत्ताको नीति ल्याउँदा पाउने उमेर ७५ वर्ष तोकिएको थियो । कृतिमान ७२ वर्षका थिए । सुरुमा मासिक वृद्धभत्ता जम्मा एक सय रुपैयाँ तोकिएको थियो । तर, नागरिकता नपाउँदा अहिलेसम्म पनि सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको छ । उनले बहिनीको वृद्धभत्तामा आश्रित हुनुपरेको छ ।
कृतिमान ३० वर्षभन्दा बढी नहकुल विश्वकर्माका घरमा बसेका थिए । नहकुल विश्वकर्माले कृतिमान साह्रै रमाइला स्वभावका भएको बताए । उनका अनुसार कृतिमानलाई मादल नभई नहुने । कृतिमान मादलका पारखी नै थिए । नहकुलले भने, ‘तिहार आएपछि ऋण खोजेर पनि मादल किन्नै पर्ने, मादल किनेर देउसी खेल्न हिँड्थे, देउसी खेल्थे अनि पैसा कमाएर ऋण तिर्थे ।’
नाचगान गरेर रमाइलो पनि गर्ने पैसा पनि कमाउने उनले बताए । उनले कृतिमानलाई आफूले बाबुजस्तै गरेर राखेको तर बुढेसकाल लागेर आफूलाई पनि विभिन्न रोगले च्यापेपछि आफन्तलाई जिम्मा लगाएको बताए । उनले भने, ‘कतिले भन्लान् काम गर्न सकुञ्जेल राख्यो, हातगोडा चल्न छोडेपछि पठायो, तर त्यसो होइन, मैले बाबुजस्तै मानेर राखेँ, बुढेसकालमा स्याहार नभएर बिजोक हुन्छ भनेर आफन्तलाई जिम्मा लगाएँ ।’