भण्टाबारी । इटहरी उपमहानगरपालिका–१५ स्थित पडरियाका सुरज सदा १९ वर्षका भए ।
उनी नेपाल राष्ट्रिय दलित सङ्घ सुनसरीका सदस्य हुन् । सुरजलाई सम्झना भएदेखि उनी आफ्नो समुदायको अधिकारका लागि अभिभावकसँगसँगै सङ्घर्षरत छन् । तर, अधिकार अझै पनि सुरज र उनको समुदायले अनुभूत गर्न सकेको छैन ।
‘अभिभावकले पनि आफ्ना पुर्खाहरू आफ्नो हक अधिकारका लागि लडेको सुनाउनुहुन्थ्यो’–सुरजले भने । भनिन्छ, लोकतन्त्रमा विभेद हुँदैन, सबै जाति, वर्ग र समुदायले समान अधिकार पाउँछन् ।
तर, सुरज तथा उनको समुदायले त्यो अनुभूति गर्न पाएको छैन । उनले थपे, ‘मुसहर समुदाय हिजो जे थियो, आज पनि त्यस्तै अवस्थामा छ ।’ उनीहरू अझै पनि शिक्षा, स्वास्थ्य र भूमि सबै सबै अवस्थाबाट बञ्चित छन् ।
नेपालमा २२ वटा जातिलाई दलित समुदायमा समावेश गरिएकोमा ५ वटा पहाडी मूल र १७ वटा जातिलाई मधेसी मूलमा राखिएको छ । तराईका दलितमध्ये सबभन्दा पिछडिएको समुदाय हो मुसहर ।
यो समुदायको मुख्य पेशा भनेकै अर्काको मजदुरी गर्नु हो । ‘नागरिकता, बालविवाह, चरम गरिबी, स्वास्थ्य र शिक्षामा हामीहरूको उचित पहुँच र सहभागिता छैन’ नेपाल राष्टिङ्य मुसहर सङ्घका महासचिव रामस्वरूप सदाले भने, ‘सरकारले दलित समुदायको उत्थान र विकासका लागि वार्षिक करोडौं रुपैयाँ खर्चिंदै आएको सुनिन्छ ।
तर, हाम्रो समुदायले राज्यको सुविधा पाएको छैन ।’ धार्मिक रूपमा बहिष्कृत, सामाजिक रूपमा अपहेलित, शैक्षिक रूपमा बञ्चित, भौगोलिक रूपमा कुण्ठित, भाषिक रूपमा अपमानित र मानसिकरूपमा दमित मुसहर समुदाय अब आफ्नो अधिकार मागेर नभई खोसेर लिन कम्मर कसेर अभियान चलाएको उनले दाबी गरे ।
नेपाल राष्ट्रिय मुसहर सङ्घका केन्द्रीय अध्यक्ष चण्डेश्वर सदा राज्यपक्षले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका मुसहर, सदा, ऋषिदेव, माझी समुदायलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने गरेको दाबी गर्छन् ।
देशमा ठूला राजनीतिक परिवर्तनका बावजुद मुसहर समुदाय नागरिकता प्राप्तिबाहेक अन्य सबै अधिकारबाट बञ्चित हुनुपरेको दाबी गरे ।
‘माछा मार्ने र मजदुरी गर्ने समुदायका रूपमा हामीलाई राज्य पक्षले हेर्ने गरेको छ’ चण्डेश्वरले भने, ‘मुसहर समुदायले हालसम्म प्राप्त गरेको उपलब्धि भनेको नागरिकता प्राप्ति मात्र हो भन्दा फरक पर्दैन ।’
त्यसो त अझै पनि कतिपय ज्येष्ठ नागरिकहरूले वृद्धभत्ता खाने बेला भइसक्दासमेत नागरिकता पाएका छैनन् । अधिकारको लडाइँमा विभिन्न सङ्घ–संस्थाहरूले साथ दिन थालेका कारण अबको आन्दोलनले आफ्नो अधिकार स्थापित हुनेमा उनी विश्वस्त छन् ।
‘विद्यार्थीलाई निःशुल्क पढाउँछौं’
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले दलित समुदायका विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेका छन् ।
नेपाल राष्ट्रिय मुसहर सङ्घको आयोजनामा कोशी गाउँपालिका–७ स्थित हरिपुरमा आयोजित गाउँस्तरीय जागरणसभामा बोल्दै प्रमुख अतिथि अध्यक्ष अन्सारीले भने, ‘तपाईं विद्यार्थी पठाउनुस् १२ कक्षासम्म हामी निःशुल्क पढाउँछौं ।’
मुसहर समुदायले उठाएको जायज मागप्रति पूर्ण साथ र समर्थन रहेको उनले बताए । सरकारी विद्यालयमा अध्ययनरत छात्रालाई आफूले तत्कालै साइकल उपलब्ध गराउने अन्सारीले प्रतिबद्धता व्यक्त गरे ।
भूमिअधिकार, सरकारी सेवासुविधामा पहुँच, रोजगारीजस्ता मुद्दामा सङ्घर्ष गर्दै आएका मुसहर समुदाय सङ्गठित हुन थालेका छन् ।
पुस्तौंदेखि मुसहर समुदायमा आफ्ना मौलिक अधिकारका लागि आन्दोलनमा रहे पनि उनीहरूका माग अझै सुनुवाइ नभएको बताउँदै सुनसरी बहुमुखी क्याम्पस इनरुवा सुनसरीका प्राध्यापक श्यामकुमार साहले मुसहर समुदायको मागप्रति भाषण दिएर आश्वासन दिनुबाहेक अरू केही उपलब्धि नभएको बताउँछन् ।