धरान । धरान प्रधान कार्यालय रहेको मितेरी विकास बैङ्क लिमिटेडले कोरोना महामारीका बावजुद पनि मुनाफामा करिब २२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

बैङ्कले महामारीको समयमा सरकारी ऋणपत्रमा गरेको लगानी, त्यसबाट प्राप्त ब्याज र ऋणपत्र बिक्रीबाट प्राप्त आम्दानीले २२ प्रतिशत मुनाफा वृद्धि गर्न सफल भएको अध्यक्ष किशन मास्केले पन्ध्रौं वार्षिक साधारणसभाका क्रममा बताए । बैङ्कले आर्थिक वर्ष २०७५/०७६ मा १४ करोड ७२ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो । गत आर्थिक वर्षमा १७ करोड ९१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा गरेको अध्यक्ष मास्केले बताए । ‘हामीले प्रतिकूल अवस्थाका बावजुद पनि निक्षेप र मुनाफामा वृद्धि गर्न सफल भएका छौं’–उनले प्रतिवेदन प्रस्तुत गर्दै सोमबार भने । उनका अनुसार निक्षेपमा करिब १२ प्रतिशतले वृद्धि गर्न सफल भएका छौं । 

आर्थिक वर्ष २०७५÷०७६ मा चार अर्ब ८२ करोड ९१ लाख ९१ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेकोमा गत आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ९६ लाख ७२ हजार रुपैयाँ रहेको छ । ‘कर्जामा बाहेक अन्यमा उल्लेख्य प्रगति गर्न सकेका छौं’ उनले भने । बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीले भने, ‘कर्जा विस्तारमा सोचेजस्तो प्रगति गर्न नसकिएको सत्य हो ।’ चालू आर्थिक वर्षमा कर्जा विस्तारमा सुधारका लागि जोड दिने काम भइरहेको उनले बताए । ‘कसरी कर्जा विसतार गर्ने भन्ने विषयमा सञ्चालक समितिले केही ठोस योजना ल्याउँला’ उनले भने । उनले कोरोना महामारीका बेला मितेरी बैङ्कमात्रै नभई ठूला बैङ्कलाई पनि चुनौती रहेको बताए । 

हाल बैङ्कमा ६० हजारभन्दा बढी निक्षेपकर्ता छन् । १ सय २३ जना संस्थापक सदस्य रहेको बैङ्कको चुक्ता पूँजी ६९ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैङ्कले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले हुने बानस शेयर रकम करिब १० करोड ४० लाख प्रदान गर्ने प्रस्ताव गरिएको छ । हाल तीन जिल्लामा १८ वटा शाखा सञ्चालनमा छन् । बैङ्कका सेयर सदस्यहरूले कर्जा विस्तार, शाखा विस्तार र अन्य बैङ्कसँग मर्ज (गाभिने) कुराका विषयमा प्रश्न गरेका थिए ।

मर्जरमा विषयमा मर्जर समितिका संयोजक सुनिल श्रेष्ठले भने, ‘हामी तीन वर्षदेखि मर्जरको प्रयासमा छौं, विगतमा सिटिजन बैङ्कसँग कुरा भएको थियो, हालसालै एनआइसी एसिया बैङ्कसँग चलेको हो । कुरा सकरात्मक नै थियो । तर कोभिड आएपछि त्यसै थाती रहेको छ ।’ उपस्थित सेयर सदस्यमध्ये केहीले मर्जरमा जानुपर्ने बताएका थिए । तर, कतिपयले मर्जरमा जान नहुने बताएका थिए । बैङ्कका कार्यकारी प्रमुख वस्तीले भने, ‘मर्जरमा जाने विषय यथावत नै छ, यो सबै सेयर सदस्यहरूको निर्णयमा भर पर्छ, तर मर्जरमा जानका लागि कसैले बाधा पु¥याउनु हुँदैन ।’

बैङ्कले भावी कार्यक्रम तथा योजनामा अल्पकालीन तथा दीर्घकालीन रणनीति तय गरेको छ । जसमा ग्रामीण क्षेत्रका जनतालाई मध्यनजर गर्दै कर्जा प्रवाह गर्ने रणनीति अख्तियार गरेको जनाइएको छ । बैङ्कले कृषि, पशुपालन, पर्यटन, प्राविधिक प्रशिक्षणजस्ता जनउपयोगी क्षेत्रमा लगानी गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार आगामी वर्षभित्र एक अर्ब २० करोड चुक्ता पूँजी पु¥याउँदै प्रादेशिक बैङ्क बन्ने लक्ष्यतर्फ अगाडि बढेको अध्यक्ष मास्केले बताए । 

छात्रवृत्ति प्रदान

बैङ्कले हरेक वर्ष प्रदान गर्दै आएको जेहेन्दार विद्यार्थी छात्रवृत्ति यस वर्ष बैङ्कको कार्यक्षेत्र रहेको झापा, मोरङ र सुनसरीका ७ जना विद्यार्थीलाई प्रदान गरेको छ । यसक्रममा सोमबार सरस्वती बालआश्रमका युनिल घिमिरेलाई २४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै सदन स्कुलमा अध्ययरत अर्चना खत्री र फुङ्सा लिम्बूलाई पनि २४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति दिइएको हो । त्यस्तै दन्तकाली माविकी मनिता तामाङलाई पनि यसअघि नै २४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो । बैङ्कले सामाजिक कार्यअन्तर्गत छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।