इतिहासलाई आ–आफ्नो सुविधा अनुसार आ–आफ्ना फुटनोटका साथ सार्वजनिक विमर्शमा ल्याइँदै छ, यतिखेर । विश्वेश्वरप्रसाद कोइराला नेतृत्वमा बनेको निर्वाचित मन्त्रीमण्डल र संसद्का दुवै सदनलाई २०१७ पुष १ मा राजा महेन्द्रले विघटन गरे, बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको निर्मम हत्या गरे । अनि ‘पञ्चायत’ का नाममा नेपाली राजनीतिमा नयाँ अध्याय शुरु गरे, जसलाई जनताको राजनीति गर्नेहरूले ‘अँध्यारो काल’ भन्छन् । पञ्चायतले सत्ताको अति केन्द्रीकरण, निरङ्कुशता, व्यक्ति पूजा र चाकरीलाई आफ्नो चरित्र बनायो । पञ्चायतले आफ्नो अनुहार उज्यालो देखाउन आलङ्कारिक रूपमा विभिन्न समुदायबाट चाकरी विशेषलाई टिप्थ्यो, विकासको मूल फुटाउने गफ दिन्थ्यो, सैन्य शक्तिलाई जनविरोधी काममा संलग्न गराउँथ्यो । यस विरुद्ध जनता आन्दोलित भइरहे । अन्ततः तीस वर्षपछि पञ्चायत फालियो । २०४६ को जनआन्दोलनले पञ्चायतमा पूर्णविराम लाग्यो । बहुदलीय प्रजातन्त्र आयो । समयसँगै बहुदलीय प्रजातन्त्रले पनि आफ्नो हितमा काम नगरेको देखे जनताले । त्यो आक्रोसको भुङ्ग्रो २०६२–६३ मा विष्फोट भयो । जनआन्दोलन–२ ले ‘लोकतन्त्र’ शब्द भिœयायो । विस्तारै गणतन्त्र र सङ्घीयता आयो ।

यस अर्थमा जनआन्दोलन–२ यस अघिका सङ्घर्ष, आन्दोलन र क्रान्तिभन्दा निकै शक्तिशाली रह्यो । जनआन्दोलन–२ मा समृद्ध नेपालको आकाङ्क्षाले आम नेपालीलाई आहुतिका लागि उत्प्रेरित गरेको थियो । जनआन्दोलन–२ कै प्रतापका कारण मुलुकमा अहिले बहुतहका निर्वाचित सरकार छन् । जनताले लोकतन्त्रमा प्रजातन्त्रमाभन्दा आफ्ना आकाङ्क्षा र सपना पूरा गर्ने मामिलामा स्वाभिमान र सहभागिता बढी देखेका थिए । तर, दुःखपूर्वक भन्नुपर्छ–त्यो सब अहिले दिवास्वप्न भइरहेको छ । पञ्चायत ढलेको तीस वर्ष पुगिसक्दा पनि अहिलेको राजनीतिले त्यही चरित्र देखाइरहेको छ । पञ्चायतका मौलिक दुर्गुणहरूले निरन्तरता पाइरहेका छन् । यसले जनतामा फेरि उकुसमुकुस र छट्पटी बढाइदिएको छ । लाग्छ, राजनीति इतिहासको चक्रमा घुम्दै पुरानै ठाउँमा फर्कन आँटेको छ । लोकतान्त्रिक निर्वाचनबाटै सत्तामा पुगेकाहरू कसरी अधिनायक बन्न उत्साहित हुन्छन् र लोकतान्त्रिक विधिबाटै लोकतान्त्रिक मूल्यहरूको हरण गर्छन्, जसको उदाहरण हाम्रो छेउछाउमा देखिँदैछ । हामीले पनि लोकतन्त्रलाई समूल नष्ट हुन नदिन वर्तमान राजनीतिमा व्याप्त पञ्चायत प्रवृत्ति चुँडाउनै पर्छ, अनि मात्र स्वस्थ र सार्थक परिवेशको निर्माण हुन सक्छ ।

अहिले पनि पञ्चायतकालमा झैं जताततै ‘माथिको आदेश’ को बोलवाला छ । जनतालाई अहिले पनि आदेशपालकका रूपमा राख्न खोजिएको छ । पञ्चायतले आफ्नै नागरिकमाथि भरोसा गरेन, गणतान्त्रिक सरकारले पनि प्रत्येक नागरिकको जासुसी सुरु गरेको छ । पञ्चायतकालको भूमिगत गिरोहको झल्को दिने गरी अहिले बालुवाटारमा ‘खुला गिरोह’ सक्रिय छ । संविधानमा सार्वभौम भनिएका जनता सरकारी बुझाइमा केवल फटाहा हुन् । अहिले जनता सार्वभौम मानिएका भए तिनको निजत्व र वैयक्तिक स्वतन्त्रताको कदर गरिहालिन्थ्यो नि । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको कदर र सम्मान गर्दै सर्वस्वीकृत मान्यता अनुरुप सरकार चलाउन सकिरहेका छैनन् । सुनिन्छ, बालुवाटार छिर्न पाउने विरलैमा प्रधानमन्त्रीको मर्जीमा असहमति राख्ने औकात छ । उही दरबारिया शैली, दर्शनभेट, आदेश र बिदाइ । अनि लिजका नाममा चाकरीबाजहरूलाई बिर्ता वितरण ।

हाल हिन्दु राष्ट्र र राजतन्त्रको पक्षधरहरू राजा ब्युँताउन कम्मर कसेर लागेका छन् । नेपालका मुख्य शहरहरू पोखरा, चितवन, दमक, विराटनगर, धरान र काठमाडौंको माइतीघरमा राजावादी या नागरिक अगुवाइले राजाको माग गर्दै बृहत् प्रदर्शन गरेका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्दै देशभरि भइरहेका प्रदर्शनहरू सत्तारुढ र प्रतिपक्षी दलको गैरजिम्मेवारपूर्ण कामको नतिजा हो । दलहरूको आन्तरिक लडाइँले राजावादीहरूले टाउको उठाउने मौका पाइरहेका छन् । नेताहरूको सामन्ती सोच व्यवहार र संस्कारले गर्दा जनता वैकल्पिक व्यवस्थाको खोजमा छन् । चिहानमा गाडिसकेको लास उधिन्न खोज्नु भनेको घडीमा सुई उल्टो घुमाउनु हो । राजतन्त्र फर्किने कल्पना युवा चेतना विपरीत कुरा हो । अहिलेका शासक÷नेताहरूको अकर्मण्यता, अयोग्यताको मारमा गणतन्त्रलाई घचेट्नु आवश्यक छैन । खाँचो नयाँ र प्रगतिशील सोचको युवा नेतृत्व र सङ्गठनको छ, प्रतिक्रान्तिको होइन । राजसंस्था ब्युँताउने नारा बोकेर राजावादीहरू सडकमा निस्कने क्रम बढ्न थालेपछि सरकारले कोरोना संक्रमणको बहाना देखाएर देशभर राजनीतिक प्रकृतिका जुलुस, प्रदर्शन, भेलाहरू गर्न निषेध गरेको छ ।

अहिलेको राजनीतिले आफूभित्र जोगाइराखेको पञ्चायतलाई नफ्याँकेसम्म सही अर्थमा पञ्चायत ढल्दैन । अँध्यारो कुनामा बसेर ककसले ‘राजा आऊ देश बचाऊ’ भन्दै छन्, त्यो बहुसङ्ख्यक जनताका लागि चासोको विषय होइन । जनताले त केवल हिजो आफूलाई परिवर्तनकारी भन्नेहरू पञ्चायत मानसबाट मुक्त होउन् भन्ने अभिलासा राखेका छन् । पञ्चायतमा ‘आधारभूत आवश्यकता’, ‘एसियाली मापदण्ड’, विकासको मूल’ जस्ता शब्दावली हरबखत सुनिए झैं अहिले ‘समृद्धि’ ले मेची–महाकाली ढाकेको छ । तर सत्तासीनहरूले बुझ्न जरुरी छ–समृद्धि सङ्कथनको जादु फिक्का हुन थालिसकेको छ । पञ्चायतमा सिंहदरबारले अनुकम्पा गरेको विकासको मोडलले अझै निरन्तरता पाएको छ । सिंहदरबारमा बस्नेले आफैमाथि विकासको सिङ्गो गोबर्धन पर्वत उचालिराखेका छन् । राज्य व्यवस्था र राज्यको निर्णय प्रक्रियामा जनताको अपेक्षित सहभागिता छैन । सरकार र सरकारीतन्त्रको काम कारबाही खुला र पारदर्शी छैन । नागरिकको सुनिश्चित हुने हकलाई निस्तेज बनाउँदै लगिएको छ ।

पञ्चायती अभ्यासको पुनरावृत्तिले नेपाली राजनीतिमा भीषण ध्रुवीकरणको आधार खडा गर्दैछ । तर, वैकल्पिक भन्न रुचाउनेहरूका लागि पनि बाटो सहज छैन । अहिलेका सबै राजनीतिक दलमा पञ्चायतको दुर्गुण छ । फरक थोरै वा धेरै मात्र हो । पटक–पटकको आन्दोलनले पनि परिवर्तनलाई आत्मसात गर्ने र यसलाई पछ्याउनेहरूको जीवन सहज बनाउन नसक्नु विडम्बनापूर्ण छ । कुनै पनि गरिबका लागि पञ्चायत र गणतन्त्रमा के फरक छ ? पात्रहरूको चरित्रले यदाकदा पद्धति र प्रणालीको परिभाषा दिने गर्छ । संसद्लाई अप्रासङ्गिक बनाउने खेल, असहमतिको आवाजलाई सत्तापोषित सङ्कथन उठानको कोलाहलले छोपिदिने प्रवृत्तिले हामी कस्तो राज्य प्रणालीमा बाँच्न अभिशप्त छौं भन्ने छर्लङ्ग पार्छ । अहिलेको सत्ताले संविधानलाई पनि आफूखुसी अर्थ र आयाम दिँदैछ । पद्धतिहरू बदलिए पनि त्यो सधैँभरि व्यक्ति केन्द्रित रहिरहनु नेपाली राजनीतिको आधारभूत समस्या हो । हामीकहाँ संस्थाहरूको स्वायत्तताको विकासलाई त्यति महŒव दिइँदैन । राज्यका अङ्गहरूलाई लोकतान्त्रीकरण गर्नुभन्दा पनि चमत्कारी नेताहरूको खोजी गरिन्छ । विधिले भन्दा व्यक्तिले जादु गरिदेओस् भन्ने चाहना हुन्छ । विधिले नै लोकतन्त्रलाई पञ्चायतभन्दा फरक बनाउने हो । अहिले पनि सत्तासीनहरूले आफ्नै बोलीलाई कानून ठान्ने लोभ त्याग्न नसकेकाले राज्यका अङ्गहरूको प्रभावकारितामा ह्रास आएको हो ।

लोकतन्त्रमा मतभिन्नता हुन्छ, सँगै बस्ने उदारता पनि हुन्छ । सत्ताको कोपभोजनमा परेर कोही मुलुकबाट निष्कासित हुनु पर्दैन । लोकतन्त्रमा बहुलवादको व्यापक महŒव हुन्छ । यसले जीवन र जगत्मा अन्तरनिहित विविधतालाई मौलिक रूपमा स्वीकार गर्छ । लोकतन्त्रमा वैचारिक विविधताको सम्मान गरिने मात्र होइन, त्यसका लागि सुरक्षित वातावरणसमेत प्राप्त हुन्छ । दल वा देशभित्रका इतर विचारप्रतिको असहिष्णुता उही पञ्चायत प्रवृत्ति हो । चाकर र भजन मण्डलीले शासक वर्गलाई क्षणिक रूपमा सुखद् अनुभूति दिने हुन्, तर त्यसको अन्तिम परिणाम पतन नै हो । पञ्चायत यसै कारण ढल्यो । अहिलेको सरकारले आफूभित्र पञ्चायत मानस बाँच्नु भनेको ‘हिमालयन ब्लण्डर’ हो । लोकतान्त्रिक गणतन्त्रको गोरेटो कोर्नमा व्यस्त राजनीतिक दलहरूले समेत माफियाहरूलाई संरक्षण दिएर पञ्चायती गोरेटोलाई राजमार्ग बनाउँदै छन् । जब शासकीय वृत्तकै संरक्षणमा ठेकेदार, तस्कर, भ्रष्टाचारी, अपराधीहरू बलशाली वा प्रभावशाली हुँदै जान्छन्, जब अपराध कर्मलाई छहारी दिनु शीर्षको दिनचर्या बन्छ, त्यतिखेर कसरी पञ्चायत ढलेको मान्नु ?