धरान/ भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गलाको दुईदिने भ्रमण सकिएलगत्तै चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपालमा पछिल्लो केही समययता चीनको चासो लगातार रूपमा बढिरहेको सङ्केत जानकारहरूले गरेका छन् । शृङ्गलाको भ्रमण सकिएको केहीदिन नबित्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गवेको भ्रमणलाई लिएर चर्चापरिचर्चा सुरु भएको छ । केही समयअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भ्रमण गरेका थिए । भारतीय सेनाप्रमुखको भ्रमणलाई लिएर उति चर्चा नभए पनि ‘रअ’ प्रमुख गोयलको भ्रमणलाई लिएर भने निकै चासो व्यक्त गरिएको थियो । यतिसम्म कि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केही नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चासो व्यक्त गरेका थिए । नेता भीम रावलले त खुलेरै विरोध पनि गरेका थिए ।

भारतीय ‘रअ’ प्रमुख गोयलले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यस भेटवार्तालाई लिएर कूटनीतिक मर्यादासम्मको बहस भएको थियो । यता फेङ्गवे चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्रीसमेत हुन् । उनी आइतबार नेपाल भ्रमणमा आइपुगेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग सरकारी निवास बालुवाटारमा भेट गरेका छन् । उनको एकदिने भ्रमण हो । फेङ्गवे २१ सदस्यीय टोलीका साथमा काठमाडौं आइपुगेका हुन् । आइतबार नै फर्किएका छन् । त्यसक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् । चिनियाँ सरकारको प्रतिनिधित्व गर्दै रक्षामन्त्री फेङ्गवे नेपाल आएका हुन् । चीन र नेपालको द्वीपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा नेपालको भ्रमण गरेको जानकारी दिएका छन् । पछिल्लो समय नेपालको केही भू–भाग पनि चीनले मिचेका समाचारहरू बाहिर आएका थिए । सीमा अतिक्रमण भएको भन्दै नेपालको सरकारी टोली नै पुगेको थियो । फेङ्गवेले चीन र नेपालको पारस्परिक सैन्य सहयोग अभिवृद्धिमा जोड दिने बताएका थिए । दुई देशको सम्बन्धलाई थप सुदृढ तुल्याउनका लागि पनि आफ्नो भ्रमण रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बताएका थिए । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि ओलीले नै लिएका छन् ।

नेपालमा पछिल्लो केही समययता सत्तारुढ दलबीचमै पनि मतभेद जारी छ । यसक्रममा भारतीय सेना प्रमुख, ‘रअ’ का प्रमुख तथा विदेश सचिवको भ्रमणलाई लिएर निकै चासो व्यक्त गरिएको छ । ‘रअ’ प्रमुखलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा पठाइएको चर्चा पनि चलेको थियो । नेपालका सुरक्षा मामिला विश्लेषक इन्द्र अधिकारीले बीबीसी नेपाली सेवासँग कुरा गर्दै भनेका छन्, ‘चिनियाँ अधिकारीहरू ठोस उद्देश्य र प्रयोजनबिना नआउने भएकाले चिनियाँ रक्षामन्त्री वेको यो भ्रमण महत्वपूर्ण छ ।