विराटनगर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कूलदेखि उत्तरपूर्वको सडकको नाली निर्माणमा अनियमितता भएको पाइएको छ ।

१ सय ७३ दशवलब २ मिटरको नाली निर्माणमा अनियमितता भएको पाइएको हो । उपभोक्ता समिति मार्फत निर्माण भएको सडकको नालीमा ‘स्टिमेट’ भन्दा बाहिर गएर अनियमितता गरि गुणस्तरहिन काम गरेको तथ्य भेटिएपछि भत्काइएको छ ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीसहितको प्राविधिक टोलीले बिहीबार विराटनगर १३ बिकेभिएम स्कूलदेखि उत्तर पूर्वको सडकको नाली निर्माणमा गुणस्तरहिन काम भएको प्रमाणित भएपछि करिब निर्माण पूरा भएको १ सय ५० मिटर नाला भत्काएको हो । इन्जिनियरले तयार पारेको स्टिमेटमा ओपीसि सिमेन्ट र १ नम्बर इट्टा प्रयोग गरिनुपर्ने उल्लेख छ । तर, यहाँ नाली निर्माणमा कमसल तीन नम्बर इट्टा र पिपिसि सिमेन्ट प्रयोग गरिएको अनुगमनको क्रममा भेटिएको छ ।

स्टिमेट भन्दा बाहिर गएर ३ नं. इट्टा र पीपीसि समेन्टको प्रयोग गरि गुणस्तरहिन काम गरेको भेटिएपछि निर्माणको काम अहिले रोकिएको छ । स्टिमेटभन्दा बाहिर गएर ओपीसिभन्दा १ सय ५० प्रति बोरा सस्तो पिपिसी र ५ रुपैयाँ प्रति गोटा सस्तोको ३ नं. इटा प्रयोग भएको भेटिएको हो । स्टिमेटभन्दा बाहिर गएर कमसल सामग्रीहरूको प्रयोग गरेको कारणले निर्माण भएको नालाको इट्टा र ढलाइ उप्किन थालेको स्थानिय बताउँछन् ।

सस्तो मूल्यको कमसल सिमेण्ट र ईट्टा प्रयोग गरि कम लागतमा काम सकेर अनियमितता गर्ने योजना रहेको स्थानीयको भनाइ छ । सो नालाको उपभोक्ता समितिका अध्यक्ष सिम्मी शाह, उपाध्यक्ष विमा झा, सचिब देवी कुमारी र कोषाध्यक्ष शर्मिाला सिंह छन् ।

अनुगमन समितिको संयोजकमा तारा प्रसाद यादव र सदस्यहरूमा गिरजानन्द झा, रामचन्द्र राय छन् । उपभोक्ता समितिमार्फत निर्माण भएको भनिए पनि नाली निर्माण गर्ने जिम्मा विराटनगर–१३ का वडाअध्यक्ष झरिलाल महतोका नजिकका मान्छे देबनारायण यादवलाई दिएको छ । स्टिमेट भन्दा बाहिर गएर उपभोक्ता समिति, नाली निर्माणको जिम्मा लिएका यादव र वडाअध्यक्ष महतोको मिलेमतोमा अनियमितता गर्ने योजना रहेको स्थानियको आरोप छ ।

अनुगमनको क्रममा स्टिमेटभन्दा बाहिर गएर गुणस्तरहिन सडकको नाली निर्माण भएको पाइएपछि तत्काएर पुनः स्टिमेट अनुसार गुणस्तरीय नाली बनाउन उपभोक्ता समितिलाई निर्देशन दिएको विराटनगर महानगरपालिकाको शहरी विकास महाशाखाका प्रमुख इञ्जिनियर गोपाल पोखरेलले बताए । ‘नाली निर्माणमा ओपीसी सिमेण्ट प्रयोग गर्नुपर्ने हो । यहाँ त्यो प्रयोग भएको देखिएन’ उनले भने, ‘हामीले ओपीसी सिमेण्टको प्रयोग गर्नू भनेका थियौं । अनुगमन गर्दा स्टिमेटभन्दा बाहिर गएर काम गरेको पाइयो ।’ स्टिमेटअनुसार काम गर्न लगाउने उनको भनाइ छ ।