धरान/ बेस्वादिला भए पनि विदेशबाट आयात गरिएका सुन्तला आकर्षक र स्टिकर टाँसेर ग्रेडिङ, लेवलिङ, ब्राण्डिङ, प्याकेजिङ गरिएका हुन्छन् । तर, स्वदेशी सुन्तला जतिसुकै स्वादिलो भए पनि उपभोक्तालाई थप आकर्षित गर्न ग्रेडिङ, लेवलिङ, ब्राण्डिङ, प्याकेजिङको व्यवस्था नगर्दा दोस्रो मुलुकमा निर्यात गर्न सकिएको छैन ।

निर्यात गर्नका लागि क्वारेण्टाइन, गुणस्तरको मापदण्ड पूरा गरेर दुई मुलुकको सरकारबीच उच्चस्तरमा आयात–निर्यातको सम्झौता गर्नुपर्ने हुन्छ । तर, नेपाली सुन्तला स्वादिलो हँुदाहुँदै तथा विशेषगरी भारत र बङ्गलादेशका उपभोक्ताले मन पराए पनि सरकारीस्तरमा कुनै पहल नहुँदा सुन्तलाबाट विदेशी मुद्रा आर्जन गर्न नसकिएको धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । केही वर्षअघि नेपालको पूर्वी पहाडमा उत्पादित अग्र्यानिक स्वादिला सुन्तला बङ्गलादेशमा निर्यात गरिएको थियो । तर, क्वारेण्टाइनको समस्याले अर्को वर्ष सुन्तला कारोबारले निरन्तरता पाउन सकेन ।

धरानको कृषि बजारमा पूर्वका करिब २ सय व्यावसायिक सुन्तला कृषकहरूले उत्पादन गरेका सुन्तला सङ्कलन हुने गरेको उनले बताए । ती सुन्तला नेपाली उपभोक्ताबीचमै खपत हुने गरे पनि विदेश निर्यात गर्नसके स्थानीय कृषक र व्यापारीहरूले मूल्य पाउने भट्टराईले बताए । उनले भने, ‘कृषि बजारमै पनि सुन्तलाको कारोबार नभएको होइन । गतवर्ष मात्र करिब ८१ करोड रुपैयाँको कारोबार भएको थियो । यदि विदेशमा पनि निर्यात गर्ने हो भने दोब्बर मूल्यमा कारोबार हुनसक्ने सम्भावना छ ।’

उनले पूर्वी पहाडी जिल्लामा यो वर्ष करिब २५ प्रतिशत उत्पादन घटे पनि करिब नौ हजार मेट्रिक टन (करिब एक अर्ब) को कारोबार भने हुने सङ्केत देखिएको बताए । प्रत्येक वर्ष सुन्तलाको व्यावसायिक खेती गर्ने किसानहरूको सङ्ख्यामा वृद्धि हुँदै गएकाले कारोबार पनि बढेको हो । सामान्यतया कात्तिकदेखि सुन्तलाको सिजन सुरु भएर चैतको पहिलो सातासम्म कारोबार हुन्छ ।

तर, यो वर्ष भने सुन्तलाको स्वाद लिन चाहने उपभोक्ताहरूका लागि अघिल्लो वर्षको तुलनामा करिब एक महिना पर्खिनु परेको पनि उनले बताए । उनले भने, ‘गतवर्ष यही सिजनमा धरानस्थित कृषिउपज बजारमा १ हजार १ सय ३१ मेट्रिक टन (१२ करोड रुपैयाँ) को कारोबार भएको थियो । तर, यसपटक ४ करोड रुपैयाँ बराबरको ३ सय ५० मेट्रिक टन मात्र सुन्तलाको कारोबार भएको छ ।’

उनका अनुसार गएका वर्षहरूको तुलनामा यो वर्षको मङ्सिर पहिलो सातासम्ममा कम कारोबार हुनुका कारण पछिल्लो समयसम्म अत्यधिक पानी परेकाले मौसम चिसो भई ढिलो पाकेकाले कारोबार पनि कम भएको हो । सुन्तलाको व्यावसायिक उत्पादन धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, पाँचथर र ताप्लेजुङमा हुने गरेको छ । तीमध्ये पनि धनकुटाको मौनाबुधुक, बोधे, खोकु छिन्ताङमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको भट्टराईले बताए ।

थोक व्यापारी टीकाराम श्रेष्ठले धनकुटा खोकुको सुन्तला अत्यधिक स्वादिलो भएकाले राष्ट्रिय ख्याती कमाएको भए पनि केहीवर्ष यतादेखि बोट नै मर्दै गएको बताए । तर, सुन्तलाका बिरुवा लगाउने कृषकको सङ्ख्यामा वृद्धि भई उत्पादन भने नघट्ने पनि उनले बताए । उनले पनि निर्यात समस्यालाई सरकारी स्तरबाट समाधान गर्नसके कृषक र व्यापारी लाभान्वित हुने बताए ।