धरान । धरान–१४ को दन्तकाली शक्तिपीठमा कोरोना महामारीका बीच पनि फूलपाती भित्र्याइएको छ ।

विगत वर्षहरूमा धुमधामका साथ फूलपाती भित्र्याउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण औपचारिक विधिमात्रै पूरा गरिएको छ । यस वर्ष शक्तिपीठमा पूजाआजा गर्नका लागि सरकारले रोक लगाएको कारण विधिमात्रै पूरा गरिएको हो ।

विगत वर्षहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, सर्वसाधारण व्यापक रूपमा भेला भएर फूलपाती भित्र्याउने चलन थियो । परापूर्वकालदेखि नै नवपत्रिका भित्र्याउने गरिएको दन्तकाली गुठी व्यवस्थापन समितिका सचिव विश्वराज खनालले जानकारी दिए । उनका अनुसार यो पटक सामान्य तरिकाले नवपत्रिका भित्र्याइएको छ ।

Dantakali_fulpati_vitraiyo_dharan (1)

तस्बिरहरूः गाेविन्द बस्नेत

यस वर्ष सर्वसाधारणका लागि मन्दिरको प्रवेशद्वार नै बन्द गरिएको छ । विगत वर्षहरूमा भने मुख्य मन्दिरमा मात्रै प्रवेशमा रोक लगाइने गरिएको थियो । जहाँ पुजारी तथा बलिका लागि लगिएका चौपाया मात्रै हुने गर्छन् । पुजारी खनालका अनुसार नवपत्रिकामा अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार) जयन्ति, कोलालाई दन्तकालीमा भित्र्याउने गरिएको थियो ।

नवपत्रिका भित्र्याउने परम्पराको सुरुवात भने गोर्खाका राजा पृथ्वीनारायण साहले नेपाल एकीकरण गरेपश्चात गोर्खाबाट सुरु गरिएको हो । त्यो अहिले पनि जारी छ । दन्तकाली शक्तिपीठ प्राग वैदिक कालमै स्थापना भए पनि व्यवस्थित मन्दिर भने २०३५–३६ सालदेखि मात्रै भएको हो ।

दन्तकालीमा सतीदेवीको दन्त (दाँत) पतन भएकाले यसको नाम दन्तकाली राखिएको हो । जुन स्वस्थानी व्रतकथामा पनि उल्लेख छ । दन्तकालीमा तान्त्रिक विधिद्वारा पूजाआरधना गर्ने चलन छ । जहाँ घटस्थापनादेखि बोकाको बलि दिइन्छ भने नवमीको दिन राँगाको बलि दिइन्छ । जुन दैत्य (असुर) महिषासुरको प्रतीकको रूपमा राँगा बलि दिइन्छ ।

यहाँ पूर्वाञ्चलमात्रै हैन, छिमेकी देश भारतको बिहार राज्यबाट पनि भक्तालुहरू दर्शन र पूजाका लागि आइपुग्ने गरेका छन् । सप्तमीदेखि नवमीसम्म सयौंको संख्यामा बलि दिइने भए पनि यो वर्ष महामारीका कारण सर्वसाधारणलाई बलि दिन रोक लगाइएको छ ।

तर, गुठी व्यवस्थापन समितिले भने नैनित्य पूजा अन्तर्गत घटस्थापनादेखि पूर्णिमासम्म बलि दिएर दशैंको समापन गर्ने चलन छ । नित्य पूजा अन्तर्गत हरेक महिनाको अष्टमीको दिन बोकाको बलि दिइन्छ । दन्तकालीमा बोका, राँगा, हाँस, परेवाको बलि दिने प्रचलन छ ।