‘दशैं नै हो कि यो मेरो दशा फर्कि आएको
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको..’

हरेक वर्ष दशैं आएसँगै गुञ्जिन थाल्ने योगेश्वर अमात्यले गाएको यो गीत यसपटक भने नेपालीहरुका लागि अझ बढी सान्दर्भिक भएको छ । कारण, यसपटक कोरोना महामारीले मान्छेको आम्दानीको स्रोत सुकेको छ । पहिला जस्तो खुलेर दशैं मनाउने अवश्था पनि छैन । यस्तो बेला भीडभाड गर्दा झन खतरा बढ्ने त छँदैछ ।
त्यसै पनि यो गीतले निम्न वर्गीय परिवारमा आएको दशैंले घरमुलीलाई दिएको तनाव प्रस्तुत गरेको छ । दशैंमा श्रीमति, छोराछोरीको माग पुरा गर्न नसकेर दशैं नआए नि हुन्थ्यो भन्ने अवस्थामा पुगेको अभिभावकको दुःख छ गीतमा ।

पछिल्लो समय परम्परागत संस्कृतिसँग खासै साईनो नभएका विभिन्न प्रकारका ‘दशैंगीत’को पनि लहर चलेको छ । यसरी दशैं बारेका गीत गाईन थालेको निक्कै भईसक्यो ।

विछोडको पीडा नसकि खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्कि रमाईलो गाउँमा ।

नारायण गोपालले निक्कै समयअघि नै गाएको यो गीत अहिलेपनि दशैं आएसँगै रेडियोमा बज्न थाल्छ । गीतले परिवारबाट टाढा भएको परदेशीले चाडपर्वका बेला परिवार र प्रियतमा याद गरेको कथा भन्छ । रोजगारीका लागि परदेश जाने क्रमसँगै दशैं जस्ता चाडपर्वमा आफन्तले सम्झिएर र आफन्तलाई सम्झिएर लेखिएका÷गाइएका गीतहरु बन्न थालेको पाईन्छ । अहिले त ग्रामीणभेगका धेरै युवाहरु रोजगारीका लागि विदेश गएका छन् । त्यसले पनि यस्ता गीतहरु गाईने र सुनिने क्रम अझै बढेको छ ।
‘वर्ष र दिनको रमाईलो चाड गाउँघरमा आईपुग्यो
नेपालीजनको महान पर्व आँगनमा आईपुग्यो।

हो दशैं आयो.....’

लोकनाथ सापकोटाको शब्द÷संगीतमा उदित नारायण झा र दीपा झाले गाएको ‘मुग्लान’ फिल्मको यो गीत दशैंमा धेरै गुन्जिने गीतमा पर्छ । रेडियोमा मात्र होईन दशैंका नाममा हुने पार्टी र रमाईला कार्यक्रमहरुमा पनि यो गीत प्राथमिकतामा पर्छ । परदेशबाट दशैं मनाउन घर आईपुगेको छोरो देख्दा पिंढिमा बसेर बाटो हेरिरहेकी बुढीआमा दंग परेको प्रशंगपनि छ यो गीतमा । समग्रमा यसले घर आँगनमा आईपुगेको दशैंको रमझम वर्णन गरेको छ ।

गायक एपी शेर्पा दशैंलाई दुख भुलेर खुसीमा रमाउने चाडका रुपमा लिन्छन् । दशैं जस्तो चाडलाई रमाईलो गरेर र हाँसेर मनाउनु पर्छ भन्ने उनको गीतले पनि त्यसै भन्छ । स्वर्गीय राइमन राईको शब्द, संगीत रहेको गीतले भन्छः

खुसीको बहार आयो, गाउँ शहरमा उमंग छायो
दशैं आयो, दशैं आयो
नाचौं गाऔं गरौं रमाईलो ।

नेपालीहरुको लाहुर जाने संस्कृति सताब्दिऔं देखिको हो । अर्काको देशका लागि लड्न विदेशीभूमिमा पुगेकाहरुको भावनामा लेखिएका दशैंगीत पनि धेरै छन् । त्यसमध्ये कृष्णभक्त राईले गाएको एउटा गीत हरेक दशैंमा गुञ्जिने गर्छ ।

‘नमुछे आमा दहिमा टिका, न छरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर’

परदेश गएको छोराले गाउँमा रहेकी आमालाई दशैंको बेला सम्झिएको कथा छ गीतमा । खासमा यो गीत सन् १९९९मा भारत–पाकिस्तानबीच भएको ‘कार्गिल युद्ध’मा भारतको तर्फबाट लडेका नेपाली लक्ष्मण रायमाझीले आफ्नै कथाव्यथामा आधारित भएर लेखेका थिए । युद्ध लड्दा घरकी आमा र जीवनसाथीलाई सम्झिएर लक्ष्मणले लेखेको गीत उनका भाइ चर्चित संगीतकार/गायक नारायण रायमाझीले सुरुमा आफ्नै संगीत र स्वरमा रेकर्ड गराएका थिए तर त्यसबेला यो गीत खासै चलेन । पछि वि.सं.२०५७मा दृष्टिविहिन गायक कृष्णभक्त राईले गाएपछि यो गीत हरेक दशैंमा गुञ्जिन थाल्यो । यसपटक यो गीतको नयाँ भर्सन पनि सार्वजनिक भएको छ ।

पछिल्लो समय नेपाली सुरक्षाकर्मीहरुले समेत दशैंका बेला झट्ट विदा नपाउँदा परिवारलाई कसरी सम्झिन्छन् भन्ने विषयमा गीत बनाउने र गाउने गरेका छन् । सशस्त्र प्रहरी बलको श्रब्यदृष्य शाखाले केही वर्षअघि तयार पारेको गीत ‘फौजीलाई कुन हो दशैं’को भिडियो पनि दशैंताका टेलिभिजनमा खुब प्रशारण हुन्छ । दीपक कोइरालाको शब्द, सुरेश गैरेको संगीत र जगदीश समालको स्वर रहेको गीतको भिडियोमा सशस्त्रको युनिटले नै अभिनय समेत गरेको छ ।

पहिला दशैंका विषयमा लोकआधुनिक शैलीका गीतहरु धेरै बन्थे तर अचेल दोहारी गीतहरुमा समेत दशैंका दुख सुख समेटिन थालेका छन् ।

परदेश जानेहरुका कथामा बनेका दशैंगीत निराशा र दुखपीडा बोकेका मात्र छैनन् । कुनै गीतले त परदेशमा कमाएको धनले गाउँमा रहेकी साईलीलाई फरिया किनिदिने र घर आएर साईंलीसँगै रमाउने कुरा पनि गरेका छन् । शिव थापा मगरको शब्द, संगीत र स्वर रहेको गीतले त्यसै भन्छ । दशैंबेला रेडियो टिभीमा गुञ्जिने शिवको गीतका शब्दहरु यस्ता छन्:

दशैं आयो खाउँला पिउँला
आहा साईलीउ
परदेशबाट फरिया ल्याईदिउँला
वर्षमा दिनको यो चाडपर्व घर फर्कि आउँला
तिमीलाई एक्लो पारेर साईली म कहाँ जाउँला

शिव थापा मगर दशैंका गीतहरुले त्यसबेलाको समाजको चित्रण गर्ने गरेको बताउँछन् । दशैंमा परदेशीका धेरै दुखका गीत भएपनि आफुले भने त्यहि परदेशमा कमाएको पैसाले कतिको परिवारमा खुसी पनि बोकेर आउँछ भन्ने देखाउन खोजेको उनको भनाई छ । भन्छन् ‘समाजमा जे जस्ता घटनाक्रम देखिन्छन्,गीतहरुमा पनि त्यहि आउने हुन् ।’