Trending Tags

कोरोना भाइरसले ल्याएका अवसरहरू

alt
  • आश्विन ८, २०७७
  • यज्ञप्रसाद शर्मा ‘जमरकट्टेल’

कोभिड–१९ को महामारीबाट अहिले विश्वसँगै नेपालले यसबाट मुक्ति कसरी पाइएला भनेर उपायहरू खोजिरहेछ । यसको परणामस्वरूप विश्वको आर्थिक सामथ्र्य मात्र होइन, राजनीतिक शक्ति सन्तुलनको अवस्थामा पनि फेरबदल हुनसक्ने आँकलन गरिँदैछ । यस्तो बेलामा महामारीबाट पीडित भएर चिन्ताग्रस्त अवस्थामा रहनुभन्दा यसबाट प्राप्त अवसरलाई कसरी उपयोग गर्नतिर लाग्न जरुरी छ ।

यस महामारीको कारण विश्वको अर्थतन्त्र र व्यवसाय ध्वस्तै भयो त?मास्क, स्यानिटाइजर, थर्मल गन, थर्मामिटर, पीपीई, फेस सिल्ड, पीसीआर जाँचका उपकरणहरू, साबुन अनि त्यससँगै इन्टरनेट, अक्सिजन सिलिण्डर, अस्पताल निर्माणका सामग्रीहरू, आयुर्वेदिक औषधिहरूको र अनलाइन व्यापारको बिक्रीबट्टा त बढेका छन् । तिनीहरूको व्यापारका लागि महामारी अवसर बनेको छ । कमाइमाथि कमाइ गरेका छन् । अहिले कोरोना विरुद्धको खोप वा औषधि उत्पादन गर्ने होडमा दुनियाँ लागेको छ । जसले कोभिड–१९ को खोप उत्पादन गरेर सबैभन्दा पहिले बजारमा ल्याउनसक्छ उसको कमाइ टेथिस सागरको सतहबाट एकैचोटी सगरमाथाको उचाइसम्म उक्लिने निश्चित छ । यो सानो अवसर नै हो ? विश्वमा लामो लकडाउनका कारण यातायात र उद्योगहरू बन्द भइदिँदा वातावरण विनाश स्वात्तै घटेको छ । विश्वको वातावरणीय अवस्थामा सकारात्मक सुधार देखिएको छ । त्यही भएर हुनसक्छ वर्षमा एक पटक कम्तिमा दुई हप्ताका लागि लकडाउन गर्नुपर्ने धारणाहरू आइरहेका छन् । कोभिड–१९ ले नेपालमा पनि धेरै अवसरहरू ल्याएको छ । सकारात्मक सोच राखेर पहिचान गर्न र ठहर गर्न मात्र सक्नु पर्दछ ।

१. इन्टरनेट प्रयोगमा व्यापकताः नेपालमा अनलाइन कक्षा, अनलाइन बैठक र अनलाइन सेमिनार र सन्देश प्रवाहमा मानिसहरू व्यस्त छन् । नातिदेखि हजुरआमासम्मको पुस्ता फेसबुक, टिकटक ट्विटर र युट्युबमा रमाएका छन् । दिन कटाउने साधन भएको छ । यसले मुलुकमा अभूतपूर्व रूपमा इन्टरनेटको पहुँच विस्तार भई नीति निर्मातादेखि आम नागरिकमा व्यापक प्रयोग गरिरहेको अवस्था छ । अब इन्टरनेटको मूल्य घटाउन र अनलाइन बैठक तथा अनलाइन कक्षालाई वैधानिकता दिने अवसर छ । यसले भोलिका दिनहरूमा राज्यको सेवा सुविधाहरू अनलाइनमा आधारित बनाउने अवसर मिलेको छ ।

२. पारिवारिक पुनर्मिलनः घरपरिवार बिर्सिएर पैसा कमाउन व्यस्त मान्छेलाई परिवारसँग पुनर्मिलन गराएको छ । श्रीमान्, श्रीमती, छोराछोरी र आमाबाबुसँग बसेर रमाउँदाको मजा अनुभूति गर्न पाएका छन् । महामारीकै कारण पारिवारिक सम्बन्ध प्रगाढ बनाउने र समाजमा मानवताको नाता गाँस्ने अवसर मिलेको छ । परिवार मिलेर करेसाबारीमा श्रम गर्ने र आफ्नै भान्सामा पाकेका सादा एवम् सन्तुलित खाना खानाले मानिसको स्वास्थ्यमा सुधार रजीवनशैलीमा नयाँ मोड ल्याएको छ ।

३. नेपालीपनको विस्तारः नेपालको परम्परा र संस्कृतिको विकास र विस्तारमा पनि कोभिड–१९ ले महŒवपूर्ण अवसर प्रदान गरेको छ । एक–अर्कामा भेट हुँदा हात मिलाउने र अङ्कमाल गर्ने पाश्चात्य संस्कृतिको अन्धभक्त भएका हामीलाई नमस्कार गर्ने, साबुनपानीले हात धुनेजस्ता कार्यमा फर्काएको छ । रोग प्रतिरोधात्मक क्षमता भएका मसला हालेर खाना, चिया र तरकारी खाने र मृत्यु संस्कार गर्दा जलाउने हिन्दू परम्परालाई पुनस्र्थापित गरिदिएको छ । त्यति मात्र होइन, विवाह वा अन्य पारिवारिक जमघटहरू अनिवार्य उपस्थित हुनुपर्ने व्यक्ति मात्र भएर सम्पन्न गर्ने नयाँ परम्परा थालनी भएको छ । यसपटक तीज संक्षिप्त रूपमा सम्पन्न भएको छ । लामो समयसम्म गाउँघर डुलीडुली दरखाने खर्चिलो परम्परालाई सरल बनाइदिएकोछ । यो समाज विकासको दृष्टिकोणबाट सकारात्मक हो ।

४. प्राथमिकतामा नेपाली श्रमिकः कोभिड–१९ धेरै नेपाली उद्योग र खलियानमा नेपाली श्रमिकको प्रयोगलाई प्राथमिकता दिने महŒवपूर्ण अवसर बनेको छ । सस्तो र चुपचाप काम गर्ने वर्गका रूपमा भारतीय मजदुरलाई नेपाली मालिकहरूले लिने गरेका थिए । फलतः नेपालीहरू काम खोज्दै खाडी र अन्य मुलुकमा भास्सिने र यहाँको श्रमबजारमा भारतीयहरूको कब्जामा हुने लामो समयदेखिको अभ्यास अब सच्चिने भएको छ । नेपाली श्रमबजारमा नेपाली युवालाई नै अवसर दिने स्थिति बन्दैछ । यसले हाम्रो समाजमा रहेको र भविष्यमा आउन सक्ने थुप्रै किसिमका विकृतिहरू न्यून गर्ने सम्भावना छ ।

५. स्वावलम्बी अर्थतन्त्रको आधार बन्ने ः नेपालको परनिर्भरतामुखी अर्थतन्त्रलाई सच्याएर देशका लागि अति आवश्यक तरकारी र खाद्यवस्तुमा आत्मनिर्भरता बनाउनेतर्फ योजना बनाउन कोभिड–१९ ले सरकारलाई बाध्य बनाएको छ । अब स्थानीय, प्रदेश र सङ्घीय सरकारहरू त्यही किसिमको योजना बनाउन बाध्य छन् । यो कुरा मुलुकको सुदूर भविष्यका लागि कालो बादलमाथि देखिएको चाँदीको घेरा सावित हुनेछ । अबका कृषिलाई प्राथमिकता दिन बाध्य हुनेछ । छोटो समयमा उत्पादन दिने र आम नेपाली युवालाई रोजगारी दिनसक्ने क्षेत्रका रूपमा परिभाषित हुन थालेको छ । जबकि विगत वर्षहरूमा कृषिक्षेत्र अत्यन्त अपहेलित थियो । अबका दिनमा निजी, सहकारी र सरकारी तीनै किसिमका लगानी कृषि क्षेत्रमा केन्द्रित हुनेछन् । परिणामस्वरूप कृषिप्रधान मुलुकको नाम सार्थक हुनेछ ।

६. युवा पलायनमा रोक ः पढ्ने वा कमाउने उद्देश्यले युवा विदेश पलायन हुने क्रम रोकिने छ । उनीहरूलाई रौसिएर विदेशमा जानुभन्दा घरपरिवारसँग रमाउँदै कमाउनु उचित रहेछ भन्ने महसुस गराउनेछ । धनी, गरिब, जात, धर्म, लिङ्ग सबैमा सङ्क्रमण हुने कोभिड–१९ ले एकदिन भौतिक संसार छाडेर खाली हात जानुपर्ने रहेछ भन्ने चेत खोलिदिएको छ । केही हजार, लाख वा करोडका लागि घिनलाग्दा हर्कत गर्नेहरूलाई केही न केही रूपमा मानवताको पाठ सिकाएको छ । रोजगारीको व्यापक अवसर सिर्जना गरेर युवा पलायनलाई केही हदसम्म रोक्ने अवस्था ल्याउने छ, यस महामारीले ।

७. सीमा व्यवस्थापनः नेपालको दक्षिणी सीमामा भारतीय पक्षले रातारात सीमाका पिल्लरहरू हटाउने गरेकोले लामो समयदेखि विवादको विषय बन्दै आएको छ । नेपाल र भारतबीचको १८ सय किलोमिटर खुला सीमाना कोभिड–१९ नेपाल भिœयाउने मुख्य कारक पनि हो । भारतबाट अवैध बाटोबाट नेपाल छिरेर कोरोना भाइरस सङ्क्रमण बढाएको आम बुझाइ छ । वर्षौंदेखि नेपाल–भारत सम्बन्धको पेचिलो विषय बन्दै आएको सीमा विवाद टुङ्ग्याउने र सीमा व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्ने अवसर आएको छ । आज कोरोना भाइरस बोकेर भारतबाट नेपालीहरू फर्किएजस्तै भोलि कुनै पनि बेला नेपालमा महामारी फैलिने र खुला सीमानाका कारण भारतमा सङ्क्रमण फैलिने दिन नआउला भन्न सकिन्न । यसर्थ, सिमानाको समस्या दीर्घकालका लागि व्यवस्थापन गर्ने अवसर नेपाल सरकारसमक्ष आएको छ । सिमानामा पर्खाल लगाउने वा तार घेराबारा गर्ने भन्ने विषयमा भारत सरकारलाई मनाउन सकिन्छ । परिचय–पत्र देखाएर सीमामा आउन–जान पाउने व्यवस्था गर्ने हो भने महामारी नियन्त्रणका लागि साथै चोरी निकासी, अपराध र सीमा अतिक्रमण रोक्ने महŒवपूर्ण कदम हुनेछ ।

८. भरपर्दो जनस्वास्थ्य सेवा बनाउनेः कोभिड–१९ ले जनतालाई अप्ठ्यारो परेको बेलामा सरकारी अस्पतालहरू नै जनताका जीवनदायी बन्ने रहेछन् । नाफाका लागि खुलेका स्वास्थ्यसंस्थाहरू जतिसुकै ठूला भए पनि आपतका बेला सेवा दिनबाट पन्छिँदा रहेछन् भन्ने वास्तविकता उदाङ्गो भएको छ । अब राज्यले आँखा चिम्लिएर सरकारी अस्पतालहरूलाई बलियो र भरपर्दो बनाउनका लागि योजनाबद्ध प्रयास गर्ने बेला भएको छ । अझ ठूलो रोग लाग्दा सामान्य जनताको क्षमताले जीवनरक्षाका लागि खर्च गर्न समेत नभ्याउने अवस्था रहेछ । त्यसैले राज्यले स्वास्थ्य सेवा सर्वसुलभ र भरपर्दो बनाउने दिशामा लगानी बढाउनुको विकल्प छैन ।

९. राष्ट्रिय उत्पादन उपभोगमा जोडः नेपालीहरू नक्कले छन् । अरूले लगाएको, खाएको नक्कल गर्र्छन् । त्यही भएर खाजामा चाउचाउ, मोमो र पिज्जा खान्छौं । मकै–भटमास, रोटी, सातु आदि परम्परागत खाजाहरू हराउन थाले । अझ विदेशी र बहुराष्ट्रिय कम्पनीका उत्पादनमा रमाउँछांैं । तिर्खा लाग्दा मोही, जाँड वा पानीको साटो कोक, फेण्टा रोज्छौंं । त्यसैगरी लुगा, गहना र अन्य सामग्रीहरू खरिद गर्दा पनि विदेशी उत्पादन पाए फुरुङ्ग हुन्छौं । यसले एकातिर हाम्रो राष्ट्रिय र मौलिक उत्पादनहरूलाई विस्थापित गरेका छन् भने अर्कोतिर हाम्रो मुद्रा विदेशिँदै छ । त्यसैले सकेसम्म स्वदेशी उत्पादन उपभोग गर्ने नीति ल्याएर सरकारले राष्ट्रिय उत्पादनलाई प्रोत्साहित गर्नुपर्दछ । स्वदेशी उत्पादनलाई पहिलो रोजाइ बनाउन नागरिकमा अपिल गर्नुपर्दछ । स्वदेशी कपडा लगाउने एवम् स्वदेशी सीप र श्रमबाट उत्पादित वस्तुलाई मनैबाट आफ्नो ठान्ने भावना जगाउनु पर्दछ ।

हरेक चुनौतीसँगै अवसर हुन्छ । कोभिड–१९ महामारीले मानव समुदायलाई यतिका महिनासम्म हल न चल बनायो, सभ्यता र विज्ञानलाई चुनौती दियो । तर, यसले अनेकौं सम्भावनाहरू आफूसँगै ल्याएको छ । माथि उल्लेखित प्रतिनिधिमूलक अवसरहरू हुन् । सकारात्मक दृष्टिकोण राखेर खोजी गर्दा अझ धेरै अवसरहरू पहिल्याउन सकिन्छ । सरकार कोभिड–१९ ले ल्याएका चुनौतीहरूमा मात्र रुमल्लिने होइन । देशको सुदूर भविष्य हेरेर नयाँ अवसरहरू पहिचान गर्न लाग्नुुपर्छ । मुलुकको विकास र नेपाली जनताको खुशीका लागि गर्नुपर्ने कामहरूको सूची बनाउनु पर्दछ । जुन नेपाली जनतामा आशाको किरण फैलाउन र विदेश पलायन हुनबाट रोक्न महत्वपूर्ण कदम हुन सकोस् ।

धरानमा १७९ सहित  प्र ...

ब्लाष्टखबर । धरानमा १७९ जना सहित  प्रदेश १ मा  ...

हामी दशैलाई 'शिउरी प ...

    महेश नेपाली   देशमा गणतन्त्र ...

धरानमा थप १ काेराेना ...

ब्लाष्टखबर । धरान उपमहानगरपालिकाका थप एक काेराेना संक्र ...

पथरीशनिश्चरेमा कोरोन ...

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पनि कोरो ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved