धनकुटा । भारी वर्षाको कारण जोखिमयुक्त बन्दै गएको कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक–खण्डको खुरिलामा सडक भासिने क्रम अझै रोकिएको छैन ।
खुरिलामा नियमित रूपमा भइरहेको वर्षाको कारण करिब २ महिना अघिदेखि १ सय मिटर भन्दा बढी सडक नियमित रूपमा भासिएको हो । डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानबहादुर शाक्यले सडक जति मर्मत गरे पनि निरन्तर रूपमा भासिइरहेकाले यात्रा गर्न जोखिम कायमै रहेको बताए ।
सडक भासिन थालेको २ महिनाको अवधिमा झण्डै ५ देखि ७ मिटरभन्दा बढी गहिराइमा सडक भासिएको छ । भासिएको सडकको भू–धरातल अत्यन्तै कमसल कमेरे माटो र रोडा भएको कारण भासिने क्रम नरोकिएको हो ।
करिब १ सय मिटरभन्दा बढी लम्बाइ रहेको सडक पटक–पटक भित्ता कोट्याएर वा बाहिरबाट ग्राभेल ल्याएर सडकको लेभललाई सिधा पारे पनि भासिने क्रम नरोकिएकाले खुरिला सडक–खण्डमा जोखिम कायम रहेको डिभिजन प्रमुख शाक्यले बताए ।
आफूले आफ्नै निगरानीमा पटक–पटक नियमित सडक विस्तार गर्ने, भित्ता कोट्याएर भासिएको सडक मर्मत गर्दा पनि सडक भासिने क्रम नरोकिएको शाक्यले बताए । करिब एक महिना अघिदेखि सो क्षेत्रमा सडक विभागले डोजर परिचालन गरिरहेको छ ।
केही गर्दा पनि सडक भासिने क्रम नरोकिए पछि ३–४ दिनयता पुनः सडक विभागको २ वटा डोजरमार्फत् भित्ता कोट्याएर सडक सिधा पार्ने वा सडक उकास्ने काम भइरहेको छ ।
तर स्थानीयले भने सडक भासिएको स्थान देखि करिब ५ सय मिटरमाथि जालपा देवी र सिंहदेवी थान रहेको बताए । पछिल्लो समयमा स्थानीयले देवी थानमा मुन्धुम अनुसारको विधि–विधान नपु¥याएको कारण खुरिलामा सडक मात्र होइन, सो क्षेत्रको सम्पूर्ण जमिन नै कमशः भासिँदै गएको उनीहरूले बताएका छन् ।
धनकुटा नगरपालिकाको वडा नं.९ अन्तर्गत ढोडेनी टोलमा २ सय वर्ष पुरानो मानिएको जालपा देवी र सिंहदेवी थानमा स्थानीयले पहिलेजस्तो पूजा आराधना गर्न छोडेको स्थानीय एवम् किसान नेता आरपी बास्तोलाले बताए । पछिल्लो समयमा स्थानीयले सो स्थानमा पूजा आराधना गर्न छोडेपछि मन्दिरसमेत जीर्ण बनेको छ ।
पहिले–पहिले वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा उँभौली र उँधौली पूजा आरधना हुने गरेको अर्का स्थानीय हरिप्रसाद बास्तोलाले बताए । अहिले विश्वास नलाग्ला तर, विगतमा नेपालीहरूको परम्परा, संस्कार र संस्कृति अनुसार स्थानीयले बाख्राको एउटा पाठी र १ जोर परेवा भोग दिने गरेको हरिप्रसादको भनाइ छ । परापूर्वकालमा बेलहाराको थुम्की डाँडाका स्थानीयले उँभौली, उँधौलीमा पूजा आराधना गर्दथे भने ढोडेनीका स्थानीयले भने पूर्णिमाको दिन गाईको दूध र धुप चढाउने गरेको उनको भनाइ छ ।
अहिले पनि अनकण्टार जस्तो लाग्ने जङ्गलभित्र ठूला–ठूला सखुवाको रुख र भोर्लाको रुखले बेरिएको अवस्थामा मन्दिरका भग्नावशेष प्रत्यक्ष्य रूपमा देख्न सकिन्छ । छिन्ताङमा रहेको जालपा देवीको दिदीको रूपमा मान्ने गरिएको जालपा देवीथानमा अहिले पनि देवीको मूर्ति तथा पित्तल र फलामका छत्र त्रिशूल, घण्टी र सयौं वर्ष पुरानो तामाका पैसाहरू रहेका छन् ।
सिंहदेवी थानमा पनि त्यसरी नै पुराना पुराना वस्तुहरू देख्न सकिन्छ । त्यहाँ रहेका पैसा, घाँसपात, दाउरा कसैले पनि काटेर वा टिपेर घर लान नपाइने परम्परा रहेको छ । महिला र दलित परिवारलाई सो देवीथान प्रवेशमा निषेध गर्ने परम्परा रहेको हरिप्रसादले बताए ।
मन्दिर कसले, कुन मितिमा स्थापना गरेको भन्ने त्यस्तो लेख्य प्रमाण कोही कसैसँग नभए पनि आजभन्दा २ सय वर्ष पहिले ढोडेनीमा बसोबास गर्ने दुई भैया आठपहरियाहरूले खोरिया फाँड्ने क्रममा खुर्पाले ढुङ्गामा लाग्दा खुन आएपछि देवीथान स्थापना गरिएको भन्ने किंवदन्ती रहेको छ । तर मन्दिर कसले स्थापना गरेको भन्ने तथ्य स्पष्ट खुलेको छैन ।
मन्दिर कति पुरानो हो भन्ने आधार र प्रमाण भने त्यहाँ रहेका घण्टी, पित्तलको छत्र त्रिशूल र तामाको पुरानो पैसाबाट पनि थाहा हुने स्थानीय फडिन्द्र बाँस्तोलाले बताए । मन्दिर स्थापना भएपछि खोरिया खन्न गएका ती दुई भैया आठपहरिया राईहरूका सन्तान सो मन्दिर जाँदैनथे भन्ने किंवदन्ती रहेको बास्तोला बताउँछन् ।
कुनै कुनै समयमा अत्यधिक खडेरी लाग्दा पनि सो देवीथानमा गाउँभरिका मान्छे भेला भएर धुलेपूजा गरेपछि पानी पर्ने गरेको बताइएको छ । मन्दिर क्षेत्रका बोटबिरुवा काट्नेलाई अहिले पनि अनिष्ट हुने गरेको बताइएको छ । मन्दिर र आसपासको जङ्गल क्षेत्रमा सिंह, बाघहरूले समेत बास गर्ने गरेको उनीहरूको भनाइ छ ।
सडक विभागले भासिएको सडकलाई भित्ता कोट्याएर हाललाई एकतर्फी बाटोमा सवारी साधन आवत–जावतमा सहज बनाएको छ । डिभिजन प्रमुख दानबहादुर शाक्यले मन्दिरमा पूजाआजा गर्नु परे सडक कार्यालयले पनि सहयोग गर्ने बताएका छन् ।
उनले कतिपय स्थानमा धार्मिक तथा आध्यात्मिक आस्थाले काम गर्ने भएकाले कार्यालयले आफैभन्दा पनि समुदायसँग मिलेर मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सहयोग गर्ने बताएका छन् । देवीथानको विषयमा धनकुटा नगरपालिका वडा नं.९ का वडाध्यक्ष मनोज रायमाझीलाई सम्पर्क गर्दा आफूलाई जानकारी नभएको बताए ।