धरान । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि संसारभर नै धेरै मजदुरले रोजगारी गुमाए, व्यवसायीले आम्दानी गुमाए ।

वैदेशिक रोजगारीबाट विदामा नेपाल आएका बुद्धराज भन्डारी कोरोना महामारीका कारण आफ्नो जागिरमा फर्किन पाएनन् । उनले पनि रोजगारी गुमाए । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चावाचाका बुद्धराज कोरोना महामारी सुरु हुनु भन्दा केही समयअघि नेपाल आएका थिए । विदेशमा सेक्युरिटी गार्डको काम गरिरहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि नेपालमा उपचार गरेर फर्किने सोंचले आएका थिए । कोरोना महामारीको लहर नेपालमा पनि आयो । विदेश आउ जाउ गर्ने प्लेन बन्द भए । गाउँ, सहर सबैतिर लकडाउन सुरु भयो । उनी विदेश फर्किने कुरै भएन ।

विदेश जाने बाटो बन्द भयो, लकडाउन कहिलेसम्म हुने हो टुङ्गो छैन, नेपालमा पनि अब के गर्ने कुनै ठेगान भएन । बराहक्षेत्र–२ वयरवन स्थित घरमा केही समय बसेपछि उनले कृषिमा लाग्ने निधो गरे । बराहक्षेत्र–१ चावाचामा रहेको घर र जग्गा अर्कालाई कमाउन दिएर बजार झरेको थियो उनको परिवार । गाउँमा बाँझै रहेको बारी र लथालिङ्ग अवश्थामा रहेको घरमा फर्किए बुद्धराज र उनकी श्रीमति कविता । श्रीमान्–श्रीमती मिलेर बारीमा तरकारी, अन्नबाली र घाँसका बोट विरुवा लगाए । खोर बनाएर लोकल कुखुरा पाल्न थाले, बाख्रा पनि पाल्न थाले ।

kukhura

उनीहरु गाउँ फर्किएर कृषि र पशुपालनमा लागेको देखेपछि गाउँका अरुले पनि व्यवसायिक रुपमा कुखुरा पालन सुरु गरेका छन् । तरकारी खेती थालेका छन् । बुद्धराज भन्छन्,‘विदेशमा जतिको मिहिनेत गर्ने हो भने आफ्नै गाउँमा कमाउन सकिने रहेछ, स्वास्थ्य पनि राम्रो हुने रहेछ ।’

चावाचाकै खड्ग दाहालपनि लामो समयदेखि वैदेशिक रोजगारीमा थिए । दुवईको होटलमा सेफको जागिर खाईरहेका उनी विवाह गरेर चाँडै फर्किने योजनासाथ नेपाल आएका थिए । उनी आउँदा चीनमा कोरोना महामारी सुरु भईसकेको थियो तर नेपालमा लडडाउन सुरु भएको थिएन । उनले विवाह सकेर फर्किने तयारी गर्दागर्दै लकडाउन भईहाल्यो । केही समयमा त लकडाउन खुलिहाल्ला भनेर पर्खिए तर टुङ्गो नभएपनि उनी पनि कृषिमा होमिने विचार गरे । इटहरीमा रेस्टुरेन्ट सञ्चालन गर्ने उनका भाइ चन्द्रबहादुर दाहाल र विराटनगरमा होटल सञ्चालन गर्ने दाजु हरि दाहाल पनि लकडाउन पछि घरमै आएका थिए । त्यसपछि दाजुभाई मिलेर केही गर्ने योजना बन्यो । खेतमा डोजर लगाएर माछा पोखरी खने, पाखा बारीमा अम्रिसो रोपे । बारीमा तरकारी लगाए । बाख्राको खोर बनाए । उनीहरु विदेश हुँदापनि गाउँमा भाईहरु लोकबहादुर र टङ्कबहादुर दाहालले गाईभैंसीको दुध, तरकारी बेचेर गाउँमै सम्भावना छ भन्ने प्रमाणित गरिसकेका थिए । खड्ग भन्छन्,‘तत्काल विदेश जाने सम्भावना नदेखेपछि चुप लागेर बस्नु भन्दा कृषिमा केही गरौं भनेर लागियो । अहिले ठिक गरिएछ भन्ने लागेको छ ।’

agro farm

चाचावा गाउँमा वैदेशिक रोजगारीमा फर्किन नपाएका युवाहरु मात्र होईन, पहिल्यै विदेश गएर फर्किसकेका युवाहरु पनि कृषिमा लागिरहेका छन् । त्यसैबाट आफु रोजगार बनेका छन् अनि परिवारको भरथेक गरेका छन् । सो क्षेत्रको कृषि प्रवद्र्धनमा काम गरिरहेको ‘हरिद्वार कृषि सहकारी संस्था’का व्यवस्थापक कृष्ण भन्डारी युवाहरुले आधुनिक रुपमा कृषि कर्म गर्न थालेपछि परम्परागत रुपमा खेतीपाती तथा पशुपालन गर्दै आएकाहरुको सोंचमा पनि परिवर्तन आउन थालेको बताउँछन् । उनी भन्छन्, ‘गाउँमा व्यवसायिक कृषि र पशुपालनका लागि जागरुकता आएको छ तर सुख्खायाममा पर्याप्त पानी नहुँदा भने समस्या उत्पन्न हुन्छ ।’
गाउँका धेरै युवा अहिलेपनि विदेश वा सहरतिरै छन् । गाउँमै बसेर कृषिमा राम्रो गर्न सकिने सम्भावना देखेपछि उनीहरु पनि आकर्षित हुन थालेको भन्डारी बताउँछन् । उनी थप्छन्,‘सहज अवश्थामा जे पेशा, व्यवसाय पनि गर्न सकिन्थ्यो तर अहिले सबै पेशा, व्यवसाय बन्द भएका बेला पनि कृषि त गर्न सकिंदो रहेछ, खानका लागि पनि गर्नै पर्ने रहेछ । कोरोनाले कृषिको महत्व बुझाएको छ ।’
युवाहरुलाई वैदेशिक रोजगारीमा पठाएर त्यसैको रेमिट्यान्सले चल्ने नेपाल जस्ता देशका नागरिक कोरोना महामारीको सबैभन्दा ठूलो मारमा छन् । एकातिर कमाउन परदेश गएका परिवारका सदस्यले रोजगारी गुमाउँदा जीवनयापनमा समस्या छ, अर्कातिर रेमिट्यान्सकै भरमा चलेको राज्यले पनि आयस्ता गुमाएको छ । यस्तो बेला यी युवाले जस्तै आ–आफ्नो क्षेत्रमा केही गर्ने हो भने भोलि कुनै युवा बेरोजगार बस्नु पर्दैन अनि परिवार र देशले पनि रेमिट्यान्सको बाटो कुरिरहनु पर्दैन ।