दमक/झापाको कमल गाउँपालिका–६ स्थित मैनाखोता टोल । लखनपुरस्तरीय समुदायिक कृषि भवन जाने बाटैमा पुरानो जस्तापातालाई बाँसले चेपेर छानो लगाइएको झुप्रो घर छ । तीर्थ तिम्सिनाको २ वटा कोठा भएको घरमा ६ जना बस्दै आएका छन् ।
तीर्थ जन्मजातै बोल्न सक्दैनन् । उनकी श्रीमती पनि उस्तै । घरमा रहेकी आमा पनि सुस्त मनिस्थितिकी । २ भाइको सामान्य बोली आउँछ । तीर्थले रङ लगाउने काम गरेर परिवार पालेका थिए । तर ५ महिनादेखि त्यो पनि बन्द छ, जसले गर्दा काखमा रहेको ५ वर्षको छोरालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ । ‘घरमा केही छैन, भरे खाने पनि चामल छैन, छरछिमेकी र साथीभाइको सहयोगले पेट पालेको छु, त्यो पनि कहिलेसम्म होला र महामारीको बेला सबैलाई समस्या हुन्छ । तर हामी त भोकै पो मर्छौैं कि भन्ने डर लाग्न थाल्यो’ तीर्थ भन्छन्, ‘यो एउटा छोरोलाई पेटभरि खान दिन नसकेको महिनौं भयो । नुन, खुर्सानीसँग मागेको चामलको भात खाँदै रात कटाइरहेका छौं ।’ ३० वर्ष पुगेका तीर्थले रङ लगाउने काम पनि गतवर्ष मात्रै सिकेका हुन् ।
कमल गाउँपालिकामार्फत् पूर्वाञ्चल बहिरा सङ्घले दिलाएको तालिमले उनलाई जीवन धान्न सहज बनाएको थियो । दिनमा नहुँदा पनि ५ सय रुपैयाँ कमाउँथे । त्यसैले घरमा खाने र छोरालाई पढाउने गर्दथे । तर अहिले छोराको स्कुल त बन्द छ तर, खाने मुख बन्द नभएका कारण के खुवाउने र के खाने भन्ने प्रमुख समस्यामा उनी छन् ।
श्रीमतीलाई औषधिको चिन्ता
तीर्थको कमाइले घर चल्नै मुस्किल भएका बेला श्रीमती कमला तिम्सिनाको उपचार गर्नुपर्दा थप चुनौती थपिएको छ । कमलालाई मधुमेह लागेको ३ वर्ष भयो । राम्रो उपचार पाउन नसक्दा रोगले झन्–झन् गलाइरहेको छ । उनी भन्छिन् , ‘अहिले खाना त नुनसँग खाइरहेका छौं, औषधि कसरी खानु ?’ त्यसो भनिरहँदा कमलाको आँखाको डिल रसाए, ‘लकडाउनले निकै बिजोक बनाइदियो ।’ दुःख र पीडा जति गरिब र दुःखीलाई मात्र आउने रहेछ । उनले नियतिलाई दोष दिँदै भनिन्, ‘कोरोना लागिहाल्दैमा बरू मरिँदैनथ्यो होला तर अहिले त खानै नपाएर मरिने भइयो ।’
लकडाउनले काम बन्द भएपछि किराना पसलबाट उधारोमा छाक टार्दै आइरहेको उनीहरू बताउँछन् । तीर्थको परिवार प्रतिनिधि मात्रै हो । यस्ता कयौं परिवारको कोरोनाका कारण गरिएको लकडाउनले रोजगार खोसेको छ । धेरैको घरमा चुल्हो बल्न छोडेको छ ।