धनकुटा/ उमेरले ६ दशक पार गरेर हीरालाल गन्धर्वले सारङ्गी रेट्न छाडेको ६ महिना पुग्न लाग्यो । ४७ वर्ष सारङ्गीकै भरमा जीवन चलेको थियो । तर, अचानक कोरोना महामारीका कारण शुरु भएको लकडाउनले उनको सारङ्गीमा धमिरा लाग्न थालेको छ ।
धनकुटा नगरपालिका–५ बिहीबारे हटिया नजिकै परिवारसँग बस्दै आएका उनलाई अहिले रोगले भन्दा भोकले मर्ने चिन्ताले सताउन थालेको छ । विभिन्न हाट, बजारमा दैनिकजसो सारङ्गी रेटेर गीत गाउँदै गुजारा चलाउने हीरालाललाई कोरोना महामारीले निकै समस्यामा पारेको सुनाउँछन् । चैत्र ११ देखि यहाँसम्म आइपुग्दा उनलाई दैनिक गुजारा चलाउन निक्कै गाह्रो भएको उनले बताए ।
हीरालालका २ श्रीमती, १ छोरा, १ बुहारी र २ जना नातिनातिनी गरी ७ जनाको परिवार छ । दैनिकजसो हाटबजार जाने, सारङ्गी बजाउने २–४ सय बटुल्ने अनि परिवार चलाउने गरेका हीरालाललाई लकडाउनको पछिल्लो समय ७ जनाको परिवार धान्न निक्कै मुस्किल परेको छ । परिवारमा छोरा–बुहारी, श्रीमती २ जना र नातिनातिनी भए पनि सारङ्गी बजाएर गीत गाउन भने हीरालाललाई मात्र आउँछ । खानेमुख धेरै कमाउने एक जना, त्यसमा पनि ५–६ महिना देखिको लकडाउनले गर्दा हातमुख जोड्न गाह्रो भएपछि बाध्य भएर सारङ्गी बोकेर गाउँ पसेको हीरालाल बताउँछन् ।
शहरी क्षेत्रमा प्रहरीले सारङ्गी बजाउन नदिने भएपछि आफू धनकुटा नगरपालिकाको विशेष गरेर ग्रामीणभेगमा सारङ्गी बजाउँदै दिनको ५ सयदेखि १ हजार रुपैयाँसम्म सङ्कलन गरी परिवारको गुजारा चलाइरहेको उनी बताउँछन् । हिरालाल भने-पहिले पहिले लकडाउन नहुँदा दिनको ४–५ हजार आम्दानी हुने गरेको थियो, अहिले लकडाउनले गर्दा आम्दानी छैन, पेट पाल्नकै लागि भए पनि गाउँघर छिर्नु मेरो बाध्यता हो ।
बजार क्षेत्रमा त प्रहरीले टिक्न दिँदैन नै, कतिपय स्थानमा गाउँघरमा पनि गाउँलेले वचन लाउने गरेको हीरालालको गुनासो छ । रामनवमी मेला, मागी मेला, नयाँ वर्ष, हप्तैपिच्छेको बिहीबारे हाटलगायत विभिन्न चाडपर्वको बेला राम्रै आम्दानी हुने गरेको तर अब कोरोनाले गर्दा के हुने के हुने आफू र आफ्नो परिवारको भविष्य नै अन्योल भएको हीरालाल बताउँछन् ।
त्यसका अलावा गाडी चल्दा भेडेटारको नमस्ते झरनामा गएर पनि राम्रै कमाइ गरेर धनकुटा फर्कने गरेको तर अहिले झरना नै बन्द भएकोले त्यता जान पनि टुटेको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन एकै दिनमा १० देखि १५ हजार कमाइ गरेको पनि उनले सुनाए । तर अब त्यो दिन आउला कि नआउला भन्ने पनि लागेको छ, हीरालाललाई ।
पुख्र्यौली घर भोजपुर जिल्लाको जरायोटार भए पनि उनी १३ वर्षको उमेरदेखि दाजु सुरेश गन्दर्भसँगै सारङ्गी रेटेर गीत गाउन सिकेको बताउँछन् । उनी आफूलाई सारङ्गी रेटेर गीत गाउन जान्ने बनाउने गुरु र प्रेरणाको स्रोत उनै हाल धरानमा रहेका दाजु सुरेश गन्धर्वलाई नै मान्छन् । उनी ०४६ सालमा पहिलो पटक भोजपुरबाट धनकुटा आएका थिए ।
धनकुटा आएर उनी हिले नजिकैको उत्तरपानी बजारमा बसेर जीवनयापन गर्ने क्रममा ११ वर्षकी छोरीको मृत्यु भएपछि बहकिएर धनकुटा–३ आत्मारास्थित नगेन्द्र पोख्रेलको घरबारीमा आएर बसेका थिए । उनी धनपा–३ आत्मारास्थित नगेन्द्र पोख्रेलको घरमा १७ वर्ष बसे । अहिले भने उनी धनकुटा–५ बिहीबारे हटियामा परिवारसँगै बस्दै आएका छन् ।