विजयपुर । ६१औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस–२०८२ को अवसरमा धरानमा परम्परागत पेशा गर्दै आएका पेशाकर्मीहरूलाई सम्मान गरिएको छ ।
शनिबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा वरिष्ठ सारङ्गीवादक सुरेश गन्धर्वसहित सात जना सम्मानित भएका हुन् । खुकुरी बनाउने पेशा गर्दै आएका केवल बिक, बाँसको चोयाबाट ढाकी बनाउने पेशा गर्दै आएका चैता मल्लिक, जुत्ता बनाउने पेशा गर्दै आएका धनबहादुर नेपाली, नौमती बाजा बजाउने पेशा गर्दै आएका वीरबहादुर दर्जी, सिलाइ बुनाइ गर्दै आएका पर्शुराम भित्रिकोटी र खुकुरीको दाप बनाउने नरेन्द्रबहादुर सार्कीलाई सम्मान गरिएको छ । उनीहरूलाई नगद ५ हजार रुपैयाँ (यातायात खर्चसहित) सम्मानपत्र र दोसल्ला ओढाइएको थियो । दिवसका अवसरमा धरान उपमहानगरपालिकाले परम्परागत पेशा गर्दै आएका दलित समुदायका पेशाकर्मीहरूलाई सम्मान गरेको हो । कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरे ।
































