विजयपुर । कोशी प्रदेशका छुट्टाछुट्टै जिल्लाबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् ।

आइतबार झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मा चेकजाँचका क्रममा सर्लाही ईश्वरपुर नगरपालिका–४ घर भएका ३१ वर्षीय सनम बुर्जा मगरलाई ७३ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । विराटनगर–१६ बाट विराटनगर–१५ का मोहन चौधरीलाई ४ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले सुन्दरहरैँचा नगरपालिका–६ का बिपिन दाहाललाई १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

सुनसरीको धरान–१५ स्थित श्यामचोकबाट अस्थायी प्रहरी चौकीको टोलीले स्थानीय अजय खड्गी र विशाल राईलाई ट्रामाडोल ६१० क्याप्सुल तथा स्पास्पेन र डिकोलिक गरी १ हजार २२० ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । धरान १५ कञ्चनलाइनस्थित शिखर खाजा घरबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । ३१ वर्षीय अजय खड्गी र विशाल राईको साथबाट ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन २९० ट्याब्लेट र डिकोलिक ३२० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।