विजयपुर । रोटर्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा आयोजित शिविरमा ५५० जना स्थानीयवासी लाभान्वित भएको बताइएको छ । शिविरको मुख्य उद्देश्य स्थानीय समुदायलाई सहज तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु, प्रारम्भिक स्वास्थ्य परीक्षणमार्फत रोग पहिचान गर्नु तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु रहेको कार्यक्रमका अध्यक्ष अभिषेक प्रधानले जानकारी दिए । शिविरमा सामान्य चिकित्सा, कान–नाक–घाँटी, दन्त, छाला, स्त्रीरोग तथा हड्डी–जोर्नीसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । साथै रक्तचाप मापन, द्रुत रक्त परीक्षणलगायतका सेवा दिएको सचिव जीवन ठाकुरले बताए । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए । विद्यालयस्तरमा दाँत माझ्ने सही तरिका, महिनावारी सरसफाइ, पाठेघरको मुखको क्यान्सर, स्तन परीक्षण तथा हात धुने विधिबारे सचेतना प्रदान गरिएको थियो । शिविरमा विपन्न समुदायका व्यक्तिहरूलाई निःशुल्क कपडा वितरण पनि गरेको निर्देशक प्रशंसा ज्ञवालीले जानकारी दिइन् । कार्यक्रममा प्रमुख संयोजक बिपिन गौतम, संयोजक शुभम झा तथा अस्मिता सिञ्जालीलगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरमा सहभागी स्थानीयवासीहरूले सेवाप्रति सन्तुष्टि व्यक्त गरेका छन् । कार्यक्रममा स्वयंसेवक रोटर्याक्टरहरू अर्बिन्द झा, आदित्य मिश्र, श्रेया झा, रोशनी कार्की र प्रेम जोशीलगायतको सहभागिता रहेको जनसम्पर्क अधिकृत रोटर्याक्टर सरु राय क्षेत्रीले जानकारी दिइन् ।
































