भण्टाबारी/ चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा आगो लगाइएको घटना अझै सेलाइसकेको छैन । सुनसरीमा पनि कोशीटप्पु वन्यजन्तु आरक्षले माछा मारेर जीवन यापन गर्ने स्थानीयको डुङ्गा काटेर ज्यादती प्रदर्शन गरेको छ ।

घटना यही साउन १० गते राति ९ बजेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष र शत्रु भञ्जन गुल्मबाट खटिएको संयुक्त गस्ती टोलीले कोशी नदीको पूर्वी बाँधको स्पर नम्बर १.१८ मा बाँधेर राखिएका १४ वटा डुङ्गाहरूमध्ये आठवटा डुङ्गा काम नलाग्ने गरी काटीदिए भने अन्य ६ वटा डुङ्गा सप्तकोशी नदीमा बगाइदिए । भैंसी ल्याउन र मध्यवर्ती क्षेत्रभन्दा बाहिर माछा मार्न गएका नौ जना व्यक्तिहरूलाई गस्ती टोलीले काठ तस्कर भन्दै पक्रेर लगे ।

कोशी गाउँपालिका वडानम्बर ८ विन्देश्वर यादव नेतृत्वमा आरक्ष कार्यालय गएका जनप्रतिनिधिको टोलीलाई आरक्ष प्रशासनले चारजना व्यक्तिलाई तत्कालै छाडे पनि अन्य लाई छाड्न मानेन । त्यसको भोलिपल्ट कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासनको विरोध गर्दै कोशी गाउँपालीका ८ भण्टाबारीका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि सुनसरी प्रशासनको पहलमा अन्य व्यक्तिलाई समेत छाडियो ।

पीडित र आरक्ष कार्यालयलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको मध्यस्थतामा जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको बैठकले आरक्ष कार्यालयबाट गस्तीमा खटिएका कर्मचारीले डुङ्गा काटेर र बगाएर गल्ती गरेको भन्ने निष्कर्ष निकाल्यो । गस्ती टोलीले नगर्नुपर्ने काम गरेको भन्दै सुनसरीका प्रजिअ पोखरेलले त्यसलाई समाधान गर्न कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीलाई ध्यानाकर्षण गराएका थिए ।

छानबिन समितिको निर्णय
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट खटिएको गस्ती टोलीले गरेको क्षति यकिन गर्न भन्दै बनाइएको छानबिन समितिले १४ वटा डुङ्गामा क्षति गरेको निष्कर्ष निकालेको छ । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, कोशीटप्पुका वार्डेन, व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव, कोशी क्षेत्रका जनप्रतिनिधि, विभिन्न उपभोक्ता समिति पदाधिकारीहरूको उपस्थितिमा बनाइएको उक्त समितिले सो निर्णय गरेको हो ।

उक्त समितिमा जनप्रतिनिधिको तर्फबाट कोशी गाउँपालिका–८ का वडाध्यक्ष, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट रेञ्जर जयराम न्यौपाने, समाजसेवीबाट तजमुल मन्सुरी, उपभोक्ता समितिको तर्फबाट हरिपुर र श्रीपुर उपभोक्ता समितिका अध्यक्ष दयाशङ्कर झापा र डुङ्गाधनीका तर्फबाट सफिद मियाँ रहेका छन् ।

वडाध्यक्ष विन्देश्वर यादवको संयोजकत्वमा रहेको छानबिन समितिले स्थलगत निरीक्षण गर्दा कोशी गाउँपालिका–८ का लालु कामैत, सत्यनारायण खत्वे, भूमि कामैत, सहिद मियाँ, पवन खत्वे र अखिलेश कामैतको डुङ्गा सप्तकोशी नदीमा बगाइएको छ भने वडा नं.८ कै सैनी कामैत, नागो खत्वे, सञ्जीव राम, सफिद मियाँ, मखन खत्वे, चन्दन कामैत, रामरूप राम र वडानम्बर ७ का मनु सदाको डुङ्गा क्षति भएको निष्कर्ष निकालेको छ ।

ज्यादती नगर्न पीडितको आग्रह
कोशी गाउँपालिका क्षेत्रका ४० प्रतिशत स्थानीयले माछा मारेर कि त सप्तकोशी नदीमा बग्दै गरेको काठ निकालेर परिवार पाल्दै आएका छन् । वर्षौंदेखि आफूहरू नदीले बगाएर ल्याएको काठ, दाउरा डुङ्गाको माध्यमबाट निकाल्ने र त्यही बेचेर घरपरिवार चलाउँदै आएको बताउँदै स्थानीय नागो खत्वेले गरिखाने डुङ्गा नै आरक्ष प्रशासनले काटिदिएपछि समस्यामा परेको बताए । ‘कहिले काठ, दाउरा त कहिले माछा मारेर जीविका चलाउँदै आएको छु’ –उनले भने ।

‘यसर्थ हाम्रो सबथोक डुङ्गा नै हो भन्दा फरक पर्दैन । त्यसलाई नै काटिदियो । एउटा राम्रो डुङ्गा बनाउन दुईदेखि अढाई लाखसम्म लागत लाग्छ । ती डुङ्गाको कमाइले घरपरिवार पाल्छु’ खत्वेले भने । ‘डुङ्गाले के गल्ती गरेको थियो र ? गल्ती गरेको भए डुङ्गा जफत गर्नुपर्ने होइन र ?’ अर्का स्थानीय सफिद मियाँले गुनासो गर्दै भने, ‘डुङ्गा बगाएर र काटेर कसलाई फाइदा भयो ?’ आरक्षबाट खटिएको गस्ती टोलीले गल्ती गरेकोले पीडितलाई क्षतिपूर्ति दिनुपर्नेमा छानबिन समितिका सदस्य तजमुल मन्सुरीको जोड छ ।

कोशी पीडित क्षेत्रका गरिब, निमुखा जनतालाई गरिखाने वातावरण बनाइदिनुपर्ने उनको कथन छ । कोशीटप्पु वन्यजन्तु आरक्ष यहाँका स्थानीयको गहना भएकोले त्यसको संरक्षणमा आफूहरू प्रतिबद्ध रहेको जनाउँदै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जङ्गल फँडानी गर्नेलाई भने कडा कारबाही हुनुपर्ने बताए । कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले ऐन कानून बमोजिम कारबाही गरिएको दाबी गर्दै दुवैपक्ष आगामी दिनमा सच्चिएर जानुपर्नेमा जोड दिए ।