•  मिकाइल आलम

सुनसरी

घटना १ः
२०७७ साल साउन १ गते अर्थात् बिहीबार राति पौने ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इन्स्पेक्टर सरोज खनाल नेतृत्वको प्रहरीको गस्ती टोली र आपराधिक समूहबीच गोली हानाहान भयो ।
सुनसरी जिल्ला देवानगञ्ज–३ पानीट्याङ्की नजिक भारतीय मोटरसाइकलमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्न खोज्दा देवानगञ्ज–२ का २३ वर्षीय पिन्टु यादव, सोही स्थानका ३२ वर्षीय राजेश यादव र अन्य ३–४ जनाको समूहले प्रहरीमाथि फायर खोली भाग्ने क्रममा प्रहरीले जवाफी फायर खोल्दा पिन्टु र राजेशको खुट्टामा गोली लागेर घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । दुईजना पक्राउ गर्न सफल भए पनि अन्य केही फरार रहेकोले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ६ राउण्ड गोली र २ थान म्यागजिनका साथै दुईवटा मोटरसाइकल बरामद गरेको छ ।
घटना २ः
२०७५ साल असोज २३ गते नेपाल–भारत सीमास्थित सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलमा नेपाल प्रहरीको गोली लागी एकजना डाका मारिएका थिए । हतियारसहित चौपाया चोरी गर्न सीमावर्ती क्षेत्र छिरेको डाका समूहले गस्तीमा खटिएका प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रहरीको जवाफी कारबाहीमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिकाका बासिन्दा नसरुल मियाँको मृत्यु भयो । मियाँसँगै चोरी गर्ने उद्देश्यले आएका अरू डाकाहरू भाग्न सफल भए भने प्रहरीले घटनास्थल बाट २ थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने गोली बरामद ग¥यो ।
घटना ३ः
२०७५ साल कात्तिक १ गते दिउँसो केही समयकै अन्तरालमा भण्टाबारी र श्रीपुरबाट तीनजना भारतीय हतियारसहित पक्राउ परे । भारत बाट नेपाल आउँदै गरेको अवस्थामा बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय अनटेष्ट मोटरसाइकल चेकजाँच गर्दा विहार राज्य सुपौल जिल्लाका १८ वर्षीय विवेक यादव र १७ वर्षीय सुमित गोइतलाई १ थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लियो । यसैगरी सोही दिन चाइनिज अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक रञ्जितकुमार मुखिया  पक्राउ परे ।
आपराधिक गतिविधिका हिसाबले सुनसरी संवेदनशील जिल्ला मानिन्छ । कारण हो, नेपाल–भारतबीचको खुला सीमा । अपराधीहरूले खुला सीमाको फाइदा उठाउँदै विभिन्न समयमा घटना घटाउँदै आएका छन् । त्यस्ता आपराधिक घटना नियन्त्रण गर्न सीमामा  सुरक्षाकर्मी तैनाथ भए पनि समय–समयमा हुँदै आएको घटना नियन्त्रण गर्न प्रहरीलाई चुनौती थपिएको छ । भारतसँग नाका जोडिएको सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध साना हतियार नियन्त्रण गर्न प्रहरीलाई चुनौती थपिएको हो ।


पछिल्लो समयमा खासगरी चोरी, डकैती, लुटपाट,अपहरणजस्ता गैरकानूनी क्रियाकलाप गर्ने उद्देश्यले हातहतियार प्रयोग गर्ने क्रम बढेको छ ।

जिल्लाको सीमावर्ती नाकाहरूबाट हतियारको कारोबार बढे पनि नियन्त्रण गर्न प्रहरी अपेक्षाकृत सफल हुन सकेको छैन । भारतबाट सुनसरी जिल्लाको विभिन्न नाका हुँदै भिœयाइने त्यस्ता हतियारको आडमा हत्या, अपहरण, चन्दा तथा फिरौती असुली, लुटपाटलगायतका आपराधिक घटना हुने गरेको छ । पछिल्लो समयमा विप्लव समूहका गतिविधि केही कमजोर हुँदै गए पनि बेलाबखत सुनसरीको सीमावर्ती क्षेत्रमा आपराधिक समूह र प्रहरीबीच गोली हानाहान र सानो हतियार बरामद हुँदा अवैधानिक रूपमा हातहतियारको कारोबार हुने गरेको अनुमान गर्न सकिन्छ ।
जिल्ला प्रशासन कार्यालयबाट इजाजत–पत्र नलिई हातहतियार राख्नुसमेत गैरकानूनी मानिन्छ । नेपाल–भारतबीचको खुला सीमा नाकाका कारण हातहतियार ओसार–पसार हुने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले सुरक्षाका दृष्टिकोणले हातहतियार चुनौतीको रूपमा रहेको बताए । ‘पछिल्लो समयमा खासगरी चोरी, डकैती, लुटपाट, अपहरणजस्ता गैरकानूनी क्रियाकलाप गर्ने उद्देश्यले हातहतियार प्रयोग गर्ने क्रम बढेको छ’ उनले भने, ‘नेपाल प्रहरीको अनुसन्धानले समेत त्यही देखाएको छ ।’ सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढाएकोले भारतबाट हातहतियारको तस्करी गर्ने समूह पक्राउ पर्न थालेको एसपी थापाको भनाइ छ ।