विराटनगर /  प्रदेश १ सरकारले आगामी दिनमा आउन सक्ने सम्भावित जोखिमलाई लक्षित गरी कोभिड–१९ उपचार केन्द्र अस्पतालहरूकोे क्षमता वृद्धि गर्ने तयारी गरेको छ ।
प्रदेश १ सरकारले कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागि हालसम्म भएका कार्यहरूको विस्तृत प्रतिवेदन शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रदेशमा रहेका कोभिड–१९ उपचार केन्द्रहरूको क्षमता वृद्धि गरिने भएको हो ।

प्रदेश सरकारले विराटनगरस्थित कोशीको कोभिड–१९ उपचार केन्द्रलाई १ सयबाट वृद्धि गरेर ३ सय, मेची अस्पताल झापामा २ सय र धाइजन हेल्थपोष्ट मेची नगरपालिकामा २५ शøयाको आइसोलेसन अस्पताल वृद्धि गर्न रकम निकासा गरिसकेको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले जानकारी दिए । तीमध्ये मेची अस्पताल झापामा १ शøयाको तयारी अन्तिम चरणमा पुगेको छ ।

यसैगरी बीपी, कोशी, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दैनिक ६०० पीसीआर परीक्षण क्षमता रहेको छ । तीन प्रयोगशालाबाट हालसम्म २५ हजार ३ सय ४० जनाको परीक्षण गरिसकिएको छ । जसमध्ये ६ सय १५ जनाको परीक्षण नतिजा पोजेटिभ देखिएको हो । आरडीटीतर्फ १८ हजार २५ जनाको नमूना सङ्कलन गरिएकोमध्ये २ सय ३१ जनाको पोजेटिभ देखिएको उल्लेख छ ।

प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणका लागि कोरोना जनसुरक्षा कोष तथा क्वारेण्टिन स्थलको स्थापना, पिसिआर पद्धतिबाट कोरोना परीक्षण, आइसोलेसन वार्डको स्थापना र सङ्क्रमितलाई कोरोना विशेष अस्पतालमा उपचारको प्रबन्ध लगायतका कार्यहरू गरेको जनाएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले ‘नोवल कोरोना भाइरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश सरकारको कार्य योजना’ समेत तर्जुमा गरी कार्यान्वयनमा ल्याएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

कोरोना भाइरसको महामारीबाट उत्पन्न राष्ट्रिय चुनौतीलाई प्रदेशस्तरमा सामना गर्न प्रदेश सरकारले ‘होलियास्टिक अप्रोच’ को अवधारणा बमोजिम कार्य गरिरहेको छ । यस अवधारणा बमोजिम प्रदेश सरकारले नेपाल सरकार तथा स्थानीय तहहरूसँगको सहकार्यमा निजामती प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक जिम्मेवारीसहित समन्वयात्मक रूपमा परिचालन गरेको मुख्यमन्त्री राईले जानकारी दिए ।

त्यस्तै प्रदेश १ सरकारले गत वैशाख ३० गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको ‘कोभिड क्राइसिस म्यानेजमेण्ट सेण्टर’ को प्रादेशिक समितिको बैठकबाट भारतमा लकडाउन खुकुलो भएलगत्तै २५ हजार नेपाली नागरिकहरू प्रदेशमा भित्रिनसक्ने सम्भावना रहेको अनुमान गरेको छ । सो सम्भावनालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले नेपाल–भारत सीमाका पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर, रङ्गेली, रानी र भण्टाबारीलगायतका क्षेत्रहरूमा होल्डिङ सेण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । होल्डिङ सेण्टर स्थापना गरी प्रदेश सरकारले विदेशबाट आउने नागरिकहरूको व्यवस्थापन गर्न स्पष्ट जिम्मेवारीसहितको कार्यविधि र सङ्क्रमण परीक्षणको योजनाहरू पनि अघि सारेको छ ।

कोरोना नियन्त्रणमा २७ करोड ३३ लाख खर्च
कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागि प्रदेश १ सरकारले प्रदेशस्तरीय कोरोना जनसुरक्षा कोष स्थापना गरेको छ । कोरोना जनसुरक्षा कोषमा हाल ३३ करोड ५४ लाख १ हजार ९ सय ४१ रुपैयाँ ४० पैसा जम्मा भएको प्रदेश सरकारका प्रमुख सचिव दिनेश भट्टराईले बताए । प्रदेश सरकारको उक्त कोषबाट कुल २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुपैयाँ बराबरको रकम विभिन्न मन्त्रालयहरूमार्फत् निकासा भई खर्च हुने क्रममा रहेको उनले जानकारी दिए ।

प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा प्रदेश सरकारको तर्फबाट २५ करोड, नेपाल सरकारको तर्फबाट ४ करोड, बैङ्क तथा वित्तीय संस्थाहरूको तर्पmबाट १ करोड ८६ लाख २ हजार २ सय ३६, प्रदेशका पदाधिकारी तथा कर्मचारीहरूको तर्फबाट १ करोड ६४ लाख ६० हजार ९ सय ७५ रुपैयाँ ८० पैसा, उद्योगी व्यवसायीहरूको तर्फबाट ७४ लाख ८० हजार र अन्य विभिन्न व्यक्ति तथा संस्थाहरूको तर्फबाट २८ लाख ५८ हजार ७ सय ३० रुपैयाँ गरी ३३ करोडमाथिको रकम जम्मा भएको जनाइएको छ । ६ सय १५ सङ्क्रमित मध्ये ४ सय निको भए । त्यसैगरी प्रदेश नं. १ मा हालसम्म सङ्क्रमित कुल ६ सय १५ जनामध्ये ४ सय जना निको भई डिस्चार्ज भइसकेको तथा २ सय १५ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको प्रस्तुत प्रतिवेदनले देखाएको छ ।

यसका अतिरिक्त प्रदेश नं. १ मा सञ्चालित विभिन्न प्रयोगशालाहरूबाट भने हालसम्म २५ हजार ३ सय ४० जनाको स्वाबको नमूना सङ्कलन गरिएकोमा ६ सय १५ जनाको पिसिआर पद्धतिबाट कोरोना परीक्षणको नतिजा पोजेटिभ देखिएको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमा २३ हजार ९ सय ७० जनाको नतिजा नेगेटिभ देखिएको र ७ सय ५५ जनाको परीक्षणको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

कोरोना रोक्न प्रदेशमा मजबुत तयारी:  मुख्यमन्त्री राई
प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री राईले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको प्रबन्ध समयमै गरिएका कारण प्रदेश १ वासी आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले मजबुत पूर्व तयारी गरिएको दाबी गर्दै प्रदेशवासीलाई ढुक्क रहन आश्वस्त पारे ।
समुदायस्तरको सङ्क्रमण नियन्त्रण गर्न सफल हुनुमा सबल पूर्वतयारीलाई मान्नुपर्ने मुख्यमन्त्री राईले जोड दिए । प्रदेश सरकारले सीमा क्षेत्रमा सुरक्षा निकायका अङ्गहरूलाई परिचालन र व्यवस्थापनमा अवलम्बन गरेको योजना सफल मानिएको र आइसोलेसन अस्पताल निर्माण र उपचारका खेलेको भूमिकाले डर र त्रासबाट मुक्त हुने अवस्था आएको मुख्यमन्त्री राईको भनाइ थियो ।

नेपाल–भारत सीमा नाका पशुपतिनगर, भद्रपुर, रङ्गेली, रानी, भण्टाबारी हुँदै प्रवेश गर्नेहरूको सङ्ख्या पूर्वानुमान गरेर होल्डिङ सेण्टर स्थापना र क्वारेण्टिन व्यवस्थापनमा सरकारले लिएको कदमले सङ्क्रमण रोक्न सजिलो भएको मुख्यमन्त्री राईले बताएका छन् ।