• खेवाहाङ मेवाहाङ

सङ्खुवासभा / पञ्जेबाजा बजाएर, हलका हल गोरु नारेर, गाउँभरिका रोपाहार बाउसे भेला भएर असारे गीत गाउँदै गरिने रोपाइँ अर्थात् बेठी परम्परा हराउन थालेको छ । मानो खाएर मुरी उब्जाउने यो असार मासको रोपाइँको समयमा मनोरञ्जन जोडिएको पराम्परागत संस्कृति हो । पञ्चेबाजा वा नौमती बाजा बजाउँदै गरिने रोपाइँलाई बेठी भनिन्छ । बेठी लगाएर रोपाइँ गर्ने चलन निकै पुरानो हो ।

विशेषगरी मुखियाबा राईको खेतबारीमा रोपाइँ गर्दा बेठी लगाउने चलन थियो । मुख्यतः दर्जी समुदायले बाजा बजाउने र अरूले खेतमा काम गर्नुपर्ने चलन थियो । जुनबेला मुखिया र जमिनदारहरूले बेठी लगाउने दिन भनेपछि कृषकहरू आप्mना सम्पूर्ण काम त्यागेर बेठीमा सामेल हुने गर्दथे । त्यसरी शुरु भएको बेठी परम्परा अहिले हराउँदै गएको छ । मुखियाप्रथा हराउनु, पहिलेजस्तो धेरै मात्रामा रोपाइँ नहुनुलगायतका कारण पछिल्लो समय बेठी हराउँदै गएको हो ।

असारे गीत गाउँदै, नौमती बाजाको तालमा हिलो छ्यापाछ्याप गरी रोपाइँ गरिने र रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानहरूले पछिल्लो समय पर्वको रूपमा मनाउन थाले । बेठीको दिन आप्mना चेलीबेटीलाई समेत बोलाएर रोपाइँँ गर्ने चलन छ । नौमती बाजा, दर्जनौं हल गोरु, सयौं रोपाहार र बाउसेहरूले एकै दिन रोपाइँ गरेर उनीहरूले यसलाई पर्वको रूपमा मनाउने गरेका थिए । अरूबेला गरिएको रोपाइँमा खेताला बोलाइएकाहरूलाई पैसा दिनु पर्ने या उनीहरूकोमा गएर काम सघाउनु पर्ने अर्थात् पर्म तिर्नु पर्ने भए पनि बेठीमा आएकाहरूको पर्म तिर्नु पर्दैन । तर रोपाइँ सकिएपछि माटोको टीका र धानको बिउको फूल लगाएर रोपाहार र चेलीबेटीहरूलाई दक्षिणास्वरूप पैसा दिने चलन छ ।

अहिले बेठी लगाएर रोपाइँ गर्ने चलन नौलो विषय बनिसकेको छ । लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्ने सोच कहीँ कतै भएको पाइन्न । असार १५ गते धान दिवस मनाउन सरकारले कार्यक्रम नै बनाएको छ । धान दिवसलाई बेठी संस्कृतिसँग जोड्ने प्रयास स्थानीयस्तरमा शुरु पनि गरिएको छ । गत वर्ष पाँचखपन नगरपालिका –६ वानाका चार दाजुभाइले बेठी लगाएका थिए । नौमती बाजाको धुनसँगै छुपुछुपु धान रोपिरहेका रोपाहारहरू, हातमा प्mयाउरी (काठले बनेको हिलो सम्याउन प्रयोग गरिने सामग्री), कोदालो लिएका बाउसेहरू र हलगोरु साइरहेकाहरूको क्रियाकलाप साँच्चै रोमाञ्चक देखिन्थ्यो । आधा उमेर कटिसकेकाहरूले कहीँ कतै देखेको भए पनि अहिलेका युवाजमातको लागि यो बेठी अत्यन्तै नौलो दृश्य थियो । यसापालि पनि पाँचखपन नगरपालिका र कृषि ज्ञान केन्द्र सङ्खुवासभाले सोही स्थानमा धान दिवसको अवसरमा रोपाइँ महोत्सवको आयोजना गरेको थियो । तर गतवर्षको जस्तो नौमती र पञ्चेबाजा भने यसपटक थिएन । यो बाजालाई पनि प्रयोग गरेको भए अझ प्रभावकारी हुने स्थानीय भविन कार्कीले बताए । ‘गतवर्षमा जस्तै बाजा बजाएर रोपाइँ गर्न पाएको भए रमाइलो हुने थियो’ –उनले भने ।

गतवर्ष स्थानीय चन्द्रबहादुर, मानबहादुर, भक्तबहादुर र यत्नकुमार श्रेष्ठ चार दाजुभाइले २० वर्षपछि लगाएको यो बेठी थुप्रैका लागि नौलो थियो । गाउँका अरू पनि बेठी हेर्नकै लागि खेत वरिपरि उपस्थित थिए । हराउनै लागेको बेठी संस्कृति संरक्षण गर्नको लागि आफूहरूले गतवर्ष बेठी लगाएको चन्द्रबहादुर श्रेष्ठले बताए । धान रोपाइँमा बेठी संस्कार लोप भइसकेको बेला पछिल्लो पुस्तामा बेठी रोपाइँको बारेमा जानकारी दिन र संस्कार, संस्कृति संरक्षणको लागि बेठीको आयोजना गरिएको उनले जनाए । स्थानीय टङ्क श्रेष्ठका अनुसार नेपालकै उत्कृष्ट मानिएको यहाँको नौमती बाजा र बेठी संस्कृति संरक्षण गर्न बेठीको आयोजना गरेको थियो ।

बेठी परम्परा जसरी शुरु भए पनि यो एक संस्कृतिको रूपमा रहेकाले यसको संरक्षण गर्नुपर्ने सरोकारवालाहरूले बताउने गरेका छन् । किसानले आफूले बेठीको व्यवस्था गर्न नसकेपनि स्थानीय सरकारले बेठीको संरक्षणमा ध्यान दिनु पर्ने धेरैले बताउने गरेका छन् । खेतमा हिलोसँग रमाउँदै लोकसंस्कृति झल्कने गीत गाउँदै रमाउन पाएकोमा खुसी लागेको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताए । आगामी वर्षदेखि बेठी संरक्षणको लागि कार्यक्रम बनाइने उनले बताए ।