•  अनलि श्रेष्ठ

विराटनगर / कोरोना रोकथाम र नियन्त्रणमा राज्यले गरेको लकडाउनको फाइदा उठाउँदै तस्करी धन्दामा लागेको गिरोहले अवैधरूपमा भारतबाट कपडाकोे तस्करी गराउने गरेको पाइएको छ ।
दुई देशीय नाकामा आवत–जावतमा रोक लगाइएको भए पनि तस्करी धन्दामा लागेको गिरोहले भरिया प्रयोग गरी कपडा तस्करी गराउने गरेको पाइएको हो । सीमा नाका बन्द भए पनि भारतबाट तस्करी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपडासहित ६ जना भरियालाई बिहीबार पक्राउ गरेको छ । भारतबाट अवैधरूपमा टेम्पो रिजर्व गरी ५ लाख ३० हजार मूल्य बराबरको कपडा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा विराटनगर–१२ बखरीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले कपडासहित तस्करी गरी कपडा ल्याउने विराटनगर–१५ का राजा पासवान, सोही ठाउँका विशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अविनाश चौधरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरू सबै भरिया हुन् । प्रहरीले उनीहरू सवार टेम्पोमा लुकाएर राखिएको २ सय ७० थान लेडिज प्लाजा, २ सय १९ थान कुर्ती, ७१ थान अण्डर वेयर, बच्चाको गञ्जी २ सय ८४ पिस, कर्ती प्लाजो २० पिस, लेगिज ४० पिस बरामद गरेको छ । पक्राउ परेका भरियाहरूले सीमावर्ती बजार जोगवनीदेखि विराटनगरको बजारसम्म पु¥याए बापत प्रतिपिस ५० रूपैयाँ लिने गरेको बुझिएको छ । तस्करीको कपडा विराटनगरको कपडाको होलसेल पसलमा पुग्ने गरेको छ ।

प्रहरीले बरामद गरेको कपडा, को.१ ह ८४५१ नम्बरको अटो टेम्पो, को.१३ प ४२४७ नम्बरको मोटरसाइकल पनि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । यसअघि बरामद भएको अवैध कपडा मात्र बुझाउने गरिएको थियो । अहिले तस्करीमा प्रयोग भएको सवारी साधनको पनि मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाउने गरेको छ ।
यसअघि पनि लकडाउनमा भारतबाट तस्करी गरी करिब ५ लाख रुपैयाँ बराबरको कपडा ल्याउने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान टोलीले विराटनगर–१४ बाट नियन्त्रणमा लिएको थियो । को.२ ह २२१६ नम्बरको टेम्पोमा लोड गरी विराटनगर भिœयाउँदै गर्दा टोलीले विभिन्न ब्राण्डका टप्स, सलवार कुर्ता, साडीलगायत तस्करीका सामान बरामद गरेको थियो ।

यसकारण हुन्छ कपडा तस्करी
एक थान कुर्ता सुरुवाल आयात गर्दा २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट तिर्नुपर्छ । ‘यसले गर्दा सीमावर्ती शहर जोगवनीमा सामान्य एक जोर कुर्ता सुरुवालमा झण्डै चार सय रुपैयाँ फरक पर्छ’ एक व्यवसायीले भने, ‘त्यही कुर्ता विराटनगरमा दोब्बरमा बिक्री हुन्छ ।’ भन्सार राजस्व छली कपडा भिœयाउँदा व्यापारीलाई अत्यधिक फाइदा हुने गरेको छ । ‘अवैध तरिकाले एक पटकमा कपडा विराटनगरको पसलमा पु¥याउँदा खर्च कटाएर ५–७ हजार तस्करलाई फाइदा हुन्छ’ –एक कारोबारीले भने । सीमावर्ती क्षेत्रमा चोरी तस्करीमा संलग्न हुने अधिकांश कारोबारी शुरुमा कपडा तस्करीबाटै यो धन्दामा हात हाल्ने गरेका छन् ।