• मिकाइल आलम / भण्टाबारी
  • सन्तवीर लामा/धनकुटा

केही दिनयता परेको पानीले सुनसरीको ग्रामीण क्षेत्रमा निर्माणाधीन अधिकांश सडक हिलाम्मे भएपछि बाटोमा हिंड्न् सक्ने अवस्था छैन । खासगरी सुनसरी सदरमुकाम दक्षिणवर्ती क्षेत्रमा पर्ने हरिनगर र देवानगंज गाउँपालीकामा हुलाकी राजमार्ग सहित गाउँपालीकाको योजना निर्माणाधीन अवस्थामा रहेका सडक पानी परेपछि हिलाम्मे बनेको हो । जसका कारण साइकल, मोटरसाइकलका साथै सर्वसाधारणलाई पैदल हिँड्नसमेत सहज छैन ।
हुलाकी राजमार्ग अन्तर्गत नै भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण भइरहेको सडकसमेत हिलाम्मे भएको स्थानीय बताउँछन् । अविरल वर्षाका कारण सडक हिलाम्मे भएपछि स्थानीयहरू कष्टकर यात्रा गर्दै आएका छन् । हरिनगर गाउँपालिकाको भुटाहादेखि देवानगञ्जसम्मको ग्राभेल बाटोमा माटो हालेको कारण सडक हिलाम्मे बनेपछि कष्टकर यात्रा गर्दै आएको स्थानीय आशिक अन्सारीले जानकारी दिए ।

उनले भने, ‘वर्षाले हिलाम्मे बनेको बाटो हिँड्न सकिने अवस्था छैन, यात्रुहरूले गाडी धकेल्दै लैजानुपर्ने अवस्था छ । लगातारको वर्षापछि आएको बाढीले कच्ची सडकहरू ठाउँ–ठाउँमा भत्किएका छन्, बाँकी हिलाम्मे छन्, आवत–जावत गर्न निकै मुस्किल छ ।’ बाटो बिग्रिएकोले गाडी धकेल्दै गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता रहेको अर्का युवा समिम मियाँले बताए । ग्रामीणभेगका बाटो हिलाम्मे बनेपछि उपचार गराउन जाने बिरामीसमेत प्रभावित हुँदै आएको उनले बताए । ‘राति केही भइहालेमा तत्काल एम्बुलेन्स जाने अवस्था छैन’ उनले थपे, ‘तर, सम्बन्धित निकाय भने मौन छन्, कुनै चासो लिएका छैनन्, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएन ।’ बाटो हिलाम्मे भएपछि किसानले उब्जाएको तरकारीसमेत बेच्न नपाएको हरिनगर क्षेत्रका किसान सुरेन्द्र मेहताले बताए ।
सडकमा धान रोपेर विरोध
देवानगञ्ज गाउँपालिका क्षेत्रका सडकमा हिँड्न नसकिने भएपछि स्थानीय युवाहरूले सडकमै धान रोपेर विरोध जनाएका छन् । सोमबार गाउँपालिकाको कार्यालयअगाडि नै धान रोपाइँ गर्दै त्यहाँका युवाहरूले बाटो मर्मत गर्न दबाव दिएका हुन् । स्थानीय पत्रकार नसिम अन्सारीका अनुसार वर्षाको पानीले सडक हिलाम्मे भएपछि देवानगञ्जका युवाहरूले विभिन्न नाराबाजी गर्दै सडक मर्मत गर्न ध्यानाकर्षण गराएका छन् । धान दिवसको अवसर पारेर युवाहरूले हिलाम्मे सडक मर्मत नगरेको भन्दै विरोध जनाएको उनले बताए । डेढ वर्षदेखि देवानगञ्जको बजार क्षेत्रमा बाटो मर्मत गर्न पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि सडकमै धान रोपाइँ गर्दै विरोध जनाएको स्थानीय फहाद अन्सारीले बताए । डेढ वर्षदेखि बाटो जीर्ण भएको बताउँदै उनले भने, ‘तर, स्थानीय र सङ्घीय सरकारले बाटो बनाउन चासो देखाएनन् ।’ बाटो नबन्दा उक्त क्षेत्रमा पटक–पटक दुर्घटना हुने क्रमसमेत बढेको अन्सारीको कथन छ । यता बाटो हिलाम्मे भएकोबारे जिज्ञासाको प्रतिक्रिया दिँदै देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले पानी पर्ने क्रम जारी रहेकोले सडक हिलाम्मे भएको बताए । मौसम अनुकूल भएपछि तत्काल बाटो बनाइने उनको भनाइ थियो ।

धनकुटा

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार देशभर खेतमा धान रोपियो तर धनकुटाको हिलेमा भने बजारको सडकमै रोपाइँ गरिएको छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरको ७ करोड ६१ लाख १० हजार रुपैयाँ लगानीमा हिले बजारमा भइरहेको ढल निर्माण कार्य व्यवस्थित नभएको भन्दै स्थानीयले सडकमै रोपाइँ गरेका हुन् । निर्माण कम्पनीले ढल बनाउँदा लापरबाही गरेका कारण सर्वसाधारणलाई हिलाम्मे सडकमा आवत–जावत गर्न समस्या उत्पन्न भएकाले विरोधस्वरूप धान दिवसको अवसर पारेर सडकमै रोपाइँ गरेको स्थानीयले बताएका छन् ।

भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा बुटवलले हिले बजारमा ढल निर्माण गरिहेको छ । ढलको निर्माण कार्यमा लापरबाही हुँदा सडक हिलाम्मे भएकोले सर्वसाधारणलाई आवत–जावतमा समस्या उत्पन्न भएको भन्दै विरोधस्वरूप सडकमा धान रोपिएको स्थानीय रूपमान तामाङले बताए । स्थानीय उपभोक्ताहरूले ढल निर्माणको गुणस्तरको विषयलाई लिएर चासोसमेत देखाएको उनले बताए । ‘वर्षायाम छ, हिले बजारको व्यस्त सडक हिले पुछारदेखि सिरानसम्म खुट्टा हाल्ने ठाउँ नभएकाले बाध्य भएर विरोध गर्नुपरेको हो’–तामाङले थपे । अनुगमन समितिले मापदण्ड र गुणस्तरीय निर्माणको लागि चासो देखाउँदा पनि निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूले बेवास्ता गरेको कारण आन्दोलन गर्नुपरेको अनुगमन समितिका सदस्य बुद्ध तितुङले बताए ।

हिले बजारमा ढल निर्माणको कारण सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै साङ्केतिक विरोधस्वरूप स्वतःस्फूर्त रूपमा हिलेबजारवासी धान दिवसको अवसर पारेर सडकमा रोपाइँ गर्न उत्रिएको सहभागी लाक्पा तामाङले बताए । ‘हामीले पटक–पटक ढल निर्माण कार्य व्यवस्थित गर्न निर्माण कम्पनीका प्रतिनिधि फुर्वा तामाङलाई अनुरोध गर्दा पनि बेवास्ता गरेकोले विरोध गरेका हौं’–रोपाइँमा सहभागी मनकला लिम्बूले भनिन् । उनले तत्काल सडकको समस्या समाधान हुने गरी निर्माण कार्य नगरे काम रोक्ने दाबीसमेत गरिन् । उनले चैत्र मसान्तमा सक्नुपर्ने सडक असार सकिन लाग्दा पनि नसकेको आरोप लगाएकी छन् । यता निर्माण कम्पनीका प्रतिनिधि फुर्वा तामाङले भने ढल निर्माण कार्यको सम्झौता अवधि ०७७ फागुन मसान्तसम्म रहेको बताएका छन् ।

हिले बजारमा ढल निर्माण तथा सडक विस्तार कार्य भइरहँदा गुणस्तरको विषयमा बजारवासीले गुनासो गरेपछि धनपा–१ का वडासदस्य लालचन्द्र गोङ्वा तामाङको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समितिसमेत यसअघि निर्माण गरिएको थियो । अनुगमन समितिका पदाधिकारी एवम् सदस्यहरूले ढल निर्माणको सन्दर्भमा गुणस्तर, मापदण्डको विषयमा चासो राख्दा निर्माण कम्पनीले बेवास्ता गर्ने गरेको आरोपसमेत उनीहरूले लगाएका छन् ।