एजेन्सी / भारत हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड सानो रहेको र त्यसले धेरै क्षति नपुर्‍याउने भए पनि ठूलो झुन्ड आउन सक्ने खतरा रहेको अधिकारीहरूले बताएका छन्।

शनिवार नेपालमा पूर्वी भागका तराई क्षेत्रमा रहेका बारा र पर्सा जिल्लामा देखिएको सलह बिस्तारै अन्य जिल्लाहरूमा पनि फेला परेको विवरण प्राप्त भइरहेको छ। भारतबाट प्रवेश गरेको सानो झुन्ड सयौँको सङ्ख्यामा विभिन्न जिल्लाहरूमा पुगेको प्लान्ट क्वारन्टीन एवम् विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए।

सुवेदीले भने ‘अहिलेको झुन्डसँग हामी खासै डराएका छैनौँ। यसको उमेर पनि गइसकेको छ। झुन्डकोआकार एक डेढ महिनामा सानो हुँदै हराएर जान्छ।’ तर भारतको राजस्थानमा ८ / १० वटा झुन्ड तयार भएर बसेका छन् त्यो चाहिँ उत्तरतर्फ बहाव भएर आइदियो भने समस्या पर्न सक्छ ।’–उनले भने।

जनकपुरदेखि पश्चिम तर्फका क्षेत्रहरूमा सजगता अपनाउनु पर्ने अवस्था रहेको उनी बताउँछन्।

पाकिस्तान र भारतमा सलहको प्रकोप बढेसँगै नेपालमा उक्त किरा नछिरोस् भन्ने हेतुका साथ त्यसबारे थप अध्ययन गर्नका लागि गठन गरिएको एउटा प्राविधिक समितिले जेठ महिनाको अन्तिम हप्तामा नेपालमा तत्कालका लागि सलहको जोखिम टरेको बताएको थियो।

उक्त समितिले भारतको राजस्थानबाट सलह अन्तै तिर मोडिएको र नेपालमा मनसुन आउन लागेको भन्दै त्यस्तो निष्कर्षमा पुगेको बताएको थियो। तर हावाको बहावमा परिवर्तन भएसँगै सलह नेपाल प्रवेश गरेको जानकारहरू बताउँछन्।

सम्भावना
भारतको राजस्थानमा सक्रिय रहेको भनिएको सलहको झुन्ड नेपाल प्रवेश गर्ने नगर्ने विषय हावाको बहावमा भर पर्ने अधिकारीहरू बताउँछन्।

राजस्थानबाट दिल्ली पुग्ने सलह उत्तरतर्फ हावा बह्यो भने सिधै नेपाल प्रवेश गर्न सक्छ। तर अहिलेको हावाको बहाव राजस्थानदेखि पूर्वतिर छ। त्यसको अर्थ सलह सिधै राजस्थानबाट हामीकहाँ आउँदैन, उनले भने।

नियन्त्रण गर्ने प्रयास
त्यो पूर्व हुँदै भारतको उत्तर प्रदेश र विहारको छेउछाउ पुग्दा हावाको चाप न्यून हुन्छ र हावाले दिशा बदल्दै पश्चिम –उत्तर हुँदै चल्न थाल्छ। र त्यस्तो अवस्थामा सलह नेपाल प्रवेश गर्ने सम्भावना भने उच्च रहन्छ।’

त्यसको अर्थ नेपालमा भैरहवा र वीरगन्ज आसपासका क्षेत्रबाट सलह प्रवेश गर्न सक्ने सम्भावना उच्च रहने अधिकारीहरू बताउँछन्। ूत्यस्ता ठाउँमा सतर्कता अपनाउन स्थानीय तह र प्रदेशलाई आवश्यक निर्देशन दिनका लागि हाल बैठक बसिरहेका छौँ, सुवेदीले भने। सलहको एउटै झुन्ड आठ करोडसम्मको हुन सक्ने हुँदा जोखिम ठूलो हुने बताइएको छ।

मौसमको अवस्था
मन्त्रालयमा आइतवार बिहानदेखि जारी छलफलमा मौसम विज्ञहरूको पनि उपस्थिति छ। सुवेदीका अनुसार गत बिहीवार र शुक्रवारको मौसमबारे गरिएको पूर्वानुमानमा अचानक परिवर्तन देखिएको थियो।

र त्यसको प्रभावका कारण भारतको दिल्ली र उत्तर प्रदेश नजिकका झुन्ड छुट्टिएर नेपाल प्रवेश गरेको सुवेदी बताउँछन्।

हाल देशभर सामान्य देखि पूर्णतया बदलिको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
ूत्यो हावाको दिशा पहिला सिधा पश्चिमतर्फ लागेकोमा अहिले पूर्वबाट उत्तर(पश्चिम हुँदै हावा लागेको छ, उनले भने।

हाल जनकपुर, बारा र रुपन्देहीबाट सलह नेपाल प्रवेश गरेको बताइएको छ। ती सलहहरूले धेरै क्षति भने पुर्‍याइ नसकेको बताइएको छ।

रुपन्देहीमा एउटा समूह बसेको छ। तर अरू भने उडिरहेका छन्, उनले भने। आगामी तीन दिनको पूर्वानुमान हेर्दा पूर्व उत्तर हुँदै हावा पश्चिमतिर गइरहेको छ जसकारण पूर्वभन्दा पश्चिममा सतर्कता बढाउनुपर्ने अवस्था छ ।

अधिकारीहरूका अनुसार हालसम्म कपिलवस्तु, रुपन्देही, चितवन, मकवानपुर, बारा, पर्सा, महोत्तरी र सर्लाही लगायतका स्थानमा सलह देखिएको छ। त्यस्तै सिन्धुली, पाल्पा जस्ता स्थानमा पनि सलह देखिएको विवरण प्राप्त भएको छ।

कसरी भगाउने
सरकारी स्तरबाट मात्रै सलहसँग जुझ्न गाह्रो हुने हुँदा जनचेतना बढाउने सरकारी भनाइ छ। ठूलो झुन्ड नियन्त्रणमा प्रदेश सरकार र कृषि ज्ञान केन्द्र जुट्नुपर्ने केन्द्र सरकारका अधिकारीहरू बताउँछन्।

किसानका हकमा भने उनीहरूको खेतबारीमा एक हजारसम्मको सलह पसे के गर्ने भन्ने विषय जानकारी गराउने पनि सरकारी तयारी छ।

सलहलाई तितरबितर पार्दा प्रभाव कम हुने अवस्थामा हाल सलहको झुन्ड आफै सानो हुनु सुखद कुरा रहेको सरकारी भनाइ छ। सानो सङ्ख्यामा रहेका सलहलाई किसानहरूले कीटनाशक छर्कन सक्छन्। हालको अवस्थामा किसानहरूले आफ्ना खेतबारीमा सलह बस्न नदिने उपाय अपनाउन जरुरी छ।

ूखेतबारी जोगाउन सकियो भने त्यो वनतिर जान्छ जसकारण क्षति कम हुन्छ, सुवेदीले भने। बीबीसी

त्यसबाहेक ठूलो आवाज र धुवाँबाट पनि सलहलाई भगाउन सकिन्छ।