• भूमिराज पराजुली

दमक / यतिबेला नेपालमा दलितको मुद्दाको चर्चा चुलिएको छ । रुकुममा भएको घटनापछि दलितका विषयमा विभिन्न कोणबाट दलितका बारेमा बहस हुन थालेको हो । झापाको दमक नगरपालिकाको सातौं नगरसभामा नगरप्रमुख रोमनाथ ओलीले ‘दलित’ शब्दलाई परिवर्तन गरेर परिष्कृत गर्नुपर्ने धारणा सार्वजनिकरूपमा राखेपछि नगरसभासद् तथा दलित अधिकारकर्मीहरूले त्यसको विरोध गरेका छन् ।

दमक नगरपालिकाको सातौं नगरसभामा नगरसभा सदस्य तथा वडा नं. ९ की दलित महिला सदस्य मीना विश्वकर्माले दलितवर्गका लागि विशेष कार्यक्रम आउनुपर्ने र विभेदका बारेमा अझै पनि सचेतना कार्यक्रम आवश्यक परेकाले त्यसमा बेजटसहितको कार्यक्रम आउनुपर्ने भन्दै नगरसभामा विचार राखिन् । यसको जवाफ दिँदै नगरपालिकाका प्रमुख ओलीले दलित शब्दलाई परिवर्तन गर्नुपर्ने र परिमार्जन गरेर समान हैसियत हुनेगरीको व्यवहारको विकास गराउने धारणा राखे । उनले यसो भन्दा सभामा गड् गडाएर ताली बज्यो ।

तर सवाल राख्ने विश्वकर्माको अनुहार झन् मलिन बन्यो । किनकी नगरप्रमुख ओलीबाट उनले यस्तो प्रकारको जवाफको अपेक्षा गरेकी थिइनन् । प्रमुख ओलीले उनको सवालको जवाफ दिँदै भने दलितका नाममा कुनै भवन निर्माण गर्नुभन्दा पनि सबैलाई हुनेगरी सामुदायिक भवन बनाउँदा जात मान्ने र नमान्ने दुवै समुदाय अट्ने तर दलितको भवन भन्दा जात मान्ने समूह त्यहाँ पस्न नचाहने भएकोले बरु त्यो सामुदायिक भवनको नेतृत्व दलितले गर्ने हो भने समाजमा हुने विभेद केही मात्रामा घट्ने उदाहरण दिँदै उनले दलित शब्द हटाउनु पर्ने धारणा राखेका थिए ।

तर यो कुराले दलित समुदायलाई ठेस पुगेको भन्दै दलित सदस्यहरूले विरोध गरेका छन् । दलित महिला सदस्य विश्वकर्माले आफू दलित समुदायबाटै सदस्य बनेको र समुदायले आफ्नो वर्गको उत्थान र संरक्षण गर्ने विश्वासमा आफूलाई मतदान दिएर जिताएको हुनाले आफू यही समुदायका लागि काम गरिरहँदा नगरप्रमुखले दलित शब्द नै हटाउने भन्दा आफू दलित शब्द हटाउन निर्वाचित भएर नआएको प्रष्ट पारिन् । उनले भनिन्, ‘हामीलाई अहिले पनि समाजमा नजानिदो तरिकाले विभेद गरिन्छ । विभेदको शिकार जताततै भएका छौं ।’ त्यो विभेद हटाउन कार्यक्रम माग्दा दलित शब्द परिवर्तन गर्ने भन्ने तर्क राख्नुको कुनै तुक नभएको विश्वकर्माको भनाइ छ ।

त्यस्तै कार्यक्रममा सहभागी पत्रकार मञ्च दमकका अध्यक्ष समेत रहेका पत्रकार मनकुमार गदालले पनि नगरप्रमुखको कुरामा आफूलाई चित्त नबुझेको बताए । दलितको बेग्लै इतिहास रहेकोले यसलाई दमकका मेयर होस् चाहे नेपालका प्रधानमन्त्री केपी ओली नै कसैले पनि हटाउन नसक्ने र नमिल्ने तर्क राखे । दलित समुदायको त्याग र बलिदानबाट दलित शब्द आएकोले कसैले राख्दा राख्ने र हटाउँदा हट्ने दलित शब्द नभएको बताए । दलित शब्दलाई जोगाइराख्नु पर्ने उनीहरूको तर्क छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भने आफूले दलितलाई हेपेर र झन् तल पार्न नभई दलित समुदायकै हितमा आफूले विचार राखेको प्रतिक्रिया दिएका छन् । उनले दलित समुदायले आफू दलिएको अनुभूति गरिरहनुभन्दा पनि अन्य समुदाय झैं समान हैसियतका हौं भन्ने कुराको प्रत्याभूति गराउनका लागि आफूले त्यस प्रकारको विचार राखेको बताए ।