• शेखर ढकाल

कोरोना महामारी र लकडाउनका कारण समाजको सोच, कार्यशैली र दिनचर्या फेरिएको छ । सबै तह, तप्का र पेशाकर्र्ममा गम्भीर प्रभाव परेको छ । जिन्दगी कोरोनाअघि र पछि गरी दुई भागमा बाँडिएको छ ।
उल्लेखित पृष्ठभूमिमा हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक तथा शिक्षा क्षेत्रमा लगानी गर्नेहरूको सोच र कार्यशैलीमा पनि निकै परिवर्तन आएको छ । शिक्षा क्षेत्रमा स्थापित निरन्तरता पनि क्रमभङ्ग भएको छ । र यो क्रम क्रमभङ्गतासँगै केही नवनीतम सिकाइ, फरक शिक्षण शैली र चुनौतीहरू एकसाथ देखापरेका छन् । यसका लागि हाम्रा शिक्षक, विद्यार्थी र अभिभावक मानसिक, व्यावहारिक तथा प्राविधिक रूपमा कति तयार छन् ? यसबारे सोधीखोजी, बहस र समयको मागअनुरूप तयारी गर्नु अपरिहार्य भएको छ ।

परिदृश्य – १: इटहरी–५ का श्याम थापाका तीन सन्तान छन् । तीनै जना प्राथामिक तहका विद्यार्थी हुन् । जेठो छोरा कक्षा पाँच, छोरी कक्षा तीन र अर्को छोरा युकेजीको अन्तिम परीक्षा दिइसकेका विद्यार्थी हुन् । विद्यालय बन्द भएपछि उनलाई तीन जनाको हेरचाह (व्यवस्थापन) गर्न सकस भयो । मोबाइल र टेलिभिजन हेर्ने विषयमा नै उनीहरूलाई मिलाउन नसकिने अवस्था आयो ।
विद्यालय नियमित हुँदा आफ्नो कार्यतालिकामा काम गर्ने उनीहरूलाई सम्हाल्न गाह्रो भएर एक जनालाई मामाघर अर्कोलाई फुपूको घरमा पठाएको एक महिना भयो ।

परिदृश्य – २: इटहरी–६ का राजु केसीका पनि तीन सन्तान छन् । १२ वर्ष नकटेका उनीहरू पनि विद्यालय जाने वातावरण नबन्दा फुर्सदमा छन् । फुर्सदमा रहेका नानीहरूसँग आफ्नो पनि फुर्सदको समय कटाउन पाएकोलाई संयोगले मिलेको मौका ठान्छन् । उनी नानीहरूसँग रमाइलो गरेर दिन बिताउँछन् । आफ्ना काममा नानीहरूलाई सहभागी बनाउँछन् । विद्यालय लागेको समयमा यस्तो मौका कहिल्यै मिलेको थिएन । यसलाई जीवनको स्वर्णिम समयका रूपमा उपयोग गरिरहेको केसीको भनाई छ । बच्चाहरूले यो समयमा घर–परिवार र आफ्नो संस्कारबारे धेरै कुरा सिकेको उनले सुनाए ।

परिदृश्य– ३: लिङ्केस् पौडेल ग्रिन पिस स्कुल इटहरीमा कक्षा चारमा अध्ययनरत विद्यार्थी हुन् । अचेल उनले कक्षामा सहभागी हुन विद्यालय जानुपर्दैन । उनलाई कक्षामा सहभागी हुन उनकी आमा जानुका पौडेलको मोबाइल नै काफी छ । किनकि लिङ्केस्को विद्यालयले अनलाइन कक्षा सुरु गरेको छ । जब विहानको कर्म सकिन्छ, तब उनको अनलाइन कक्षा सुरु हुन्छ ।

परिदृश्य – ४: दुहवी–८ सोनापुर, कदमगाछीका कृष्णप्रसाद दाहाल कोरोनाको हल्लखल्ल सुरु हुनुअघि नाति–नातिनाले मोबाइल र फेसबुक चलाउनु भनेको समय खेर फाल्नु र केटाकेटीको पढाइ बिग्रिनु हो भन्ने ठान्थे । तर जब सात कक्षा पढ्ने नातिनी रेसी दाहालका लागि नातिनी अध्ययनरत पिसजोन स्कुल इटहरीका शिक्षकहरू घरमै आएर अनलाइन कक्षा सुरु हुने जानकारी दिँदै इन्टरनेट जोड्न आग्रह गरे, त्यसपछि उनको धारणामा परिवर्तन आयो । पाँच हजार रुपैयाँ खर्च गरेर घरमा इन्टरनेट जोडेपछि कामको सिलसिलामा बाहिर रहेका छोरा–बुहारीसँगको सम्पर्क पनि बाक्लियो नातिनीको अवरुद्ध पढाइ पनि सुरु भयो ।

वैशाख १८ गतेदेखि सुरु नातिनीको अनलाइन कक्षा शनिबारबाहेक हरेक दिन १० देखि १२ बजेसम्म चल्छ । कसले कुन दिन कुन विषय पढाउने भन्ने रुटिङ दिइएको छ । शिक्षक–शिक्षिकाले दिएको गृहकार्य कापीमा गरेर, फोटो खिचेर, म्यासेन्जरमा हालिदिनुपर्छ । नेट जोड्न खर्च लागे पनि नातिनीको पढाइ नियमित भएकोमा दाहाल परिवार खुसी छ ।

त्रास र दबाब सँगसँगै
अन्तिम तयारीमा रहेको एसइई परीक्षासहित चैत पहिलो सातादेखि अनिश्चितकालका लागि विद्यालय बन्द भएपछि विद्यार्थी, शिक्षक तथा अभिभावक अब के गर्ने भन्ने अन्योलमा थिए । प्रारम्भिकदेखि विश्वविद्यालय तहसम्मकै औपचारिक पढाइ ठप्प भएको थियो । तर समय अन्तरमा विकल्पको खोजी हुँदै गयो र अहिले थुप्रै शैक्षिक संस्थाहरू सूचना–प्रविधि उपकरण प्रयोग गरी टुटेको पढाइ तथा शैक्षिक शृंखला जोड्ने अभ्यासमा लागिपरेका छन् ।

त्यसो त केही विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरे पनि धेरै विद्यार्थी औपचारिक कक्षा र शिक्षाको अवरोध झेलिरहेका छन् । इटहरी उपमहानगरपालिकाभित्र एक सय ५९ विद्यालय, ६२ बालविकास केन्द्र र नौवटा क्याम्पस छन्, जसमा ५० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यीमध्ये अधिकतर नियमित शैक्षिक गतिविधि अवरुद्ध हुँदा शैक्षिक, सामाजिक तथा मानसिक दबाब खेपिरहेका छन् ।
यतिबेला एकातर्फ अवरुद्ध शैक्षिक गतिविधि र बितिरहेको समयको दबाब र चिन्ता थपिँदो छ भने अर्कातर्फ कोरोना भाइरस महामारीको त्रास बढ्दो छ । आवश्यकताभन्दा बढी फुर्सद र त्रासले बालबालिका तथा किशोरकिशोरीहरूमा मनोवैज्ञानिक असरसमेत पर्न थालेको छ ।

मनोविमर्शकर्ताहरूका अनुसार अहिले खजबजिएको शैक्षिक वातावरणले नियमित शैक्षिक सत्रमात्र बिगारेको छैन, शिक्षक, विद्यार्थी र अभिभावकहरूमा चर्को मनोवैज्ञानिक असर पनि परिरहेको छ । विद्यार्थीहरू आफ्नो दिनचर्यालाई व्यवस्थित गर्न सकिरहेका छैनन् भने अभिभावक बालबालिकाको समय र अध्ययन सिलसिला कसरी व्यवस्थित गर्ने भन्ने अन्योलमा छन् ।

धेरैजसो बालबालिकाको समय टेलिभिजन र मोबाइलको स्क्रिनमा बितिरहेको छ । सानो उमेरका बालबालिका कार्टुन र हास्य सामग्रीहरू हरेर ग्याजेटसँग समय व्यतित गरिरहेका छन् भने किशोरकिशोरीहरू सामाजिक सञ्जाल, पप–जीमा व्यस्त छन् ।
यसरी बालबालिकाहरूले घरबाहिरका खुला गतिविधिमा लगाउनुपर्ने समय पनि मोबाइल र टेलिभिजनको स्क्रिनमा थपिँदा उनीहरूमा मनोसामाजिक र मनोवैज्ञानिक असर पर्ने मनोविद् कमल ढकाल बताउँछन् । सिर्जनशील काममा लगाउनुपर्ने समय ग्याजेटमा जोडिँदा बालबालिका तथा किशोरकिशोरीमा शारीरिक र मानसिक दुवै समस्याहरू देखापर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा हुने सकारात्मकभन्दा नकारात्मक सामाग्रीले किशोरकिशोरी चाँडै प्रभावित हुने र गलत क्रियाकलापमा उनीहरूको. सहभागिता बढ्ने उनले बताए ।
परामर्शदाता अच्युत गौतमका अनुसार कोरोना भाइरसको त्रास र फुर्सदको समय धेरै भएकाले बालबालिकाहरूमा मनोवैज्ञानिक असर पर्ने र अर्कातर्फ ग्याजेटको लत बस्ने र त्यसले नकारात्मक असर गर्ने हुन्छ । अब लामो समयपछि विद्यालय खुल्दा उनीहरूलाई समायोजन हुनसमेत असजिलो हुनेछ । बालबालिकाहरूले यो समयमा परिवारको राम्रो हेरचाह र साथ पाएनन् भने उनीहरूमा सामाजिकीकरणमा समेत समस्या हुने देखिएको छ ।

विद्यालय पनि सकसमा
विश्वव्यापी महामारीका कारण गरिएको लकडाउनले गर्दा के सरकारी, के निजी दुवै प्रकारका विद्यालय सञ्चालनमा समस्या भएको छ । केही सरकारी तथा निजी विद्यालयले अनलाइन कक्षा सुरु गरेका त छन् तर सबै विद्यार्थी अनलाइनको पहुँचमा नहुँदा त्यसले पनि सबै विद्यार्थीलाई समेटन सकेको छैन । एकतर्फ शैक्षिक सत्र सुरु हुन पाएको छैन भने अर्कोतर्फ निजी विद्यालय सञ्चालनमा आर्थिक संकटसमेत थपिएको छ । विद्यार्थीको पढाइलाई व्यवस्थित कसरी गर्ने भन्ने चिन्ता भने साझा छ । विद्यार्थीको पढ्ने बानी नछुटोस् भनेर विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि त्यसको पहुँच र निरन्तरतामा प्रश्न छ । इन्टरनेट प्रणालीको क्षमता र नियमितता कमजोर रहेको अवस्थामा अनलाइन कक्षाको अभ्यास र प्रभावकारिता बसिबियाँलोमा सीमित हुने आशंका बढी छ ।

तथापि इटहरीका धेरै विद्यालयले अनलाइन कक्षामार्फत विद्यार्थीको पढ्ने बानी यथावत् राख्न प्रयास गरेको बताउँछन् कोसी सेन्टजेम्स स्कुलका अध्यक्ष मनु मन्जिल । तर सबै विद्यार्थी अनलाइनको पहुँचमा र अनलाइनको उपभोग अपेक्षित नहुँदा शैक्षिक सत्र यसरी अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।
यो अप्ठेरो परिस्थितिमा सीमित स्रोत र साधनबाट अनलाइन कक्षा सञ्चालन गर्नुपरेको युनिभर्सल एकेडेमीका प्रिन्सिपल गणेश भण्डारीले बताए । ‘धेरै अभिभावकहरू अन्योलमा हुनुहुन्छ । उहाँहरू के गर्ने कसो गर्ने, विद्यार्थीको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्ता छ । अभिभावक मात्र शिक्षक र विद्यालय सञ्चालकहरू पनि अन्योलमै छौं,’ भण्डारीले भने, ‘विद्यालय सञ्चालनको आर्थिक भार कसरी थेग्ने भन्ने तनाव छ । यससम्बन्धमा सरकारी नीति पनि अनपेक्षित छ । हामीलाई सरकारबाट राहत होइन, आहत मिलेको अनुभूति भइरहेको छ ।’

अब के गर्ने ?
यतिबेला लामो समय विद्यालय बन्द भएर घरमै ‘थुनुवा’सरह भएका बालबालिकालाई सिर्जनशील बनाउन र उनीहरूको आन्तरिक क्षमता विकासका कस्ता क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्नेमा अधिकतर शिक्षक तथा अभिभावक अन्योलमा छन् । यो पुस्तासँग महामारीको कहर यति लामो समयसम्म भोगेको अनुभव नभएकाले पनि यस्तो अन्योल स्वाभाविक छ । तर समय गतिशील हुने हुँदा अप्ठेरो प¥यो भन्दैमा लामो समयसम्म हात बाँधेर बस्ने कुरा पनि हुँदैन ।
मनोविद् कमल ढकाल लकलाउनको अवधिलाई समस्यामात्र होइन यसअघि यो पुस्ताले नै थाहा नपाएको सिकाइको एउटा विशिष्ट अवसरका रूपमा लिन आग्रह गर्छन् । विद्यालय बन्द भएर औपचारिक सिकाइ गतिविधि अवरुद्ध भए पनि बालबालिकालाई यतिवेला जीवनको वास्तविकता सिकाउन पर्याप्त मौका मिलेको उनको टिप्पणी छ ।

विद्यालय आउने–जाने, पढ्ने, गृहकार्य गर्ने नियमितता टुटेर फेरिएको यो दिनचर्याबाट बालबालिकाले बढीभन्दा बढी व्यावहारिक ज्ञान सिक्ने, परिवारसँग घुलमिल हुने, अभिभावकले गरेका कामलाई नजिकबाट नियाल्ने मौका पाएका छन् । यसले बालमनोविज्ञानमा सकारात्मक असर परेको शैक्षिक परामर्शदाता अच्युत गौतमको भनाइ छ । कवि तथा शिक्षक मनु मन्जिल पनि बालबालिकालाई यो समयमा सिर्जनशील बनाउन सकिने पर्याप्त अवसर रहेको तथा केही शिक्षक एवम् अभिभावकले त्यसको सदुपयोग गरिरहेको बताउँछन् ।

मनोचिकित्सक डाक्टर समीर पाण्डे, मनोविद् कमल ढकाल, शैक्षिक परामर्शदाता अच्युत गौतम र शिक्षक मनु मन्जिलका अनुसार यसबेला बालबालिकालाई मनोवैज्ञानिक रूपमा स्वस्थ्य र सिर्जनशील बनाउन शिक्षकका साथै अभिभावकको काँधमा विशेष दायित्व थपिएको छ, जसलाई अभिभावक स्वयम्ले आत्मसात गर्नुपर्छ । घरमा रहेका बालबालिकालाई सिकाउन, सिर्जनशील बनाउन अभिभावक थप संवेदनशील, जानकार र प्रविधिमैत्री हुनुपर्ने देखिएको छ ।

चाखको विषयका लागि समय
अभिभावकले आफ्ना नानीहरूका लागि पहिलो काम पढाइका लागि समय निर्धारण गरिदिनु हो । बन्दमा घरभित्रै बसे पनि खासखास काम योजनामै चलुन् । सुत्ने–उठ्ने, सरसफाइ गर्ने, खाना बनाउने, खाने, पढ्ने, शारीरिक व्यायाम गर्ने घरभित्रै सम्भव काम हुन् । अभिभावकले त्यसका लागि समय मिलाएर उनीहरूसँगै खेल्नु, शारीरिक व्यायाममा सहभागी हुुनु राम्रो हुन्छ । एउटा निर्धारित समय तालिका बनाएर पढाइलाई पनि समय छुट्याउनुपर्छ । किशोर अवस्थाका विद्यार्थीहरूले आफैं तालिका बनाएर त्यसअनुसार चल्दा पछिलाई पनि सजिलो हुन्छ ।
आफूलाई चाख लागेको विषयमा घरमा उपलब्ध सामग्री र साधनका आधारमा विषयगत स्पष्टता हासिल गर्ने र विज्ञानसम्बन्धी सानातिना प्रयोगलाई अगाडि बढाउन सकिन्छ ।

उदाहरणका लागि वनस्पतिको विकासबारे घरवरिपरिकै बोटबिरुवाको विकास वा लक्षण अवलोकन र टिपोट गर्ने, पानीको वाष्पीकरण, विद्युत् प्रवाहको सामान्य परीक्षण गर्ने जस्ता प्रयोगात्मक अभ्यास गर्न गराउन सकिन्छ । सरसफाइ र प्रशोधनसँग सम्बन्धित प्रयोग र अभ्यासलाई पनि अगाडि बढाउन सकिन्छ ।
बालबालिकाका लागि अन्तरनीहित प्रतिभा तिखार्ने यो विशेष मौका हो । प्रतिभालाई प्रष्फुटित गराउन र गुणस्तरीय बनाउनका लागि आफ्नो सिर्जनशील पक्षको पहिचान गरी त्यसैअनुसार अभ्यासमा सहभागी गराउनुपर्छ । अभिभावकले आफ्ना नानीबाबुहरूमा रहेका गीत, कविता, कथा लेख्ने, गाउने, बजाउने, चित्र बनाउने, नाच्नेलगायत क्षमता चिनेर त्यसमा उत्प्रेरित र सहभागी गराउनुपर्छ । सिपमूलक कामहरू जस्तै कागजको फूल बनाउने, कुचो सुन्दर तरिकाले बाँध्ने, उध्रेका कपडा सिउने, मर्मतको काम गर्ने, सामान सजाउने, गमला, फूलबारी करेसाबारीमा फूल तथा बोटबिरुवाको स्याहार गर्नेलगायत सिर्जनात्मक र कलात्मक काम गर्न र गराउन सकिन्छ ।

सहपठन र सहयोग आदानप्रदान
अनुभवीहरूका अनुसार औपचारिक शिक्षालाई सहयोगी हुने गरी अनौपचारिक जीवनोपयोगी व्यावहारिक सिकाइलाई जोड दिनु समयको माग हो । हामी बाँचिरहेको समय विद्युतीय सञ्चारमाध्यम (इन्टरनेट)को युग हो । यसबेला प्रविधिमार्फत शिक्षा लिनदिनका लागि असीमित स्रोत उपलब्ध छन् । विद्यार्थी, अभिभावक र शिक्षक जोजोसँग यो प्रणालीको पहुँच छ, यस माध्यमलाई प्रयोग गरेर विषयगत र व्यावहारिक दुवै खाले ज्ञान लिनदिनमा क्रियाशील हुन परामर्शदाता अच्युत गौतम सुझाउँछन् ।

‘समयानुकूल शिक्षणका लागि शिक्षक÷सहजकर्ताले इन्टरनेटमा फेला पर्ने विषयगत र व्यावहारिक ज्ञानसँग सम्बन्धित सामग्री अभिभावकलाई उपलब्ध गराउने, त्यो सामग्रीबारे विद्यार्थी र अभिभावकले घरैमा अन्तत्र्रिmया गर्न सकिन्छ,’ गौतमले भने, ‘घरपरिवारमा भिन्न–भिन्न कक्षा वा तहको पढाइमा रहेका दाजुभाइ र दिदीबहिनी भए एकआपसमा अन्तरक्रिया गर्ने बानीको विकास गर्न सकिन्छ ।’
विद्यार्थीले सहपाठीसँग विद्युतीय माध्यमबाटै सहपठन गर्न सक्छन् । आफूले पढेको कुरा यो कुरा यस्तो रहेछ भनेर इमेल, मेसेन्जर आदिबाट पठाएर सहपाठी÷साथीलाई उत्प्रेरित गर्नुपर्छ । सामाजिक सञ्जाल तथा इन्टरनेटका माध्यमबाट साथीभाइबीच इत्रिने, जिस्किने भए पनि त्यस्तो क्रियाकलाप सधैं राम्रो हुँदैन । तसर्थ यसबाट समय उबारेर ज्ञानगुनको कुरा आदानप्रदान गर्नु वा नजानेको कुरामा संवेदनशील भई अन्तत्र्रिmया गर्नु जीवनोपयोगी हुने परामर्शदाता गौतमको सुझाव छ ।

घरेलु तथा सांस्कृतिक पक्ष
अभिभावक पाकशिक्षा र घरेलु व्यवस्थापनका लागि सदैव अघोषित शिक्षक हुन् । यतिबेला अभिभावकसँग चाहे जति समय छ । शैक्षिक परामर्शदाता गौतमका अनुसार छोराछोरीलाई भान्साको काममा सहभागी गराउँदै उनीहरूलाई पाकशिक्षामा निपुण बनाउन यो समयलाई सदुपयोग गर्न सकिन्छ । यसका लागि परम्परागत पाक पद्धतिमा रहेका वैज्ञानिक र अवैज्ञानिक तरिकाको विद्यार्थीले अवलोकन गर्न सक्छन् । युटुब उपलब्ध निर्माण विधि हेरी नयाँनयाँ परिकार बनाउँदा, रमाइलो, सिकाइ र समयको सदुपयोग सँगसँगै हुन्छ ।
घरायसी फोहोर व्यवस्थापनमा विद्यार्थीलाई सहभागी बनाउनु अर्को उपयोगी सिकाइ हो । बजारमा बस्ने परिवारका विद्यार्थीले यो फुर्सदिलो समयमा कम्तीमा सड्ने र नसड्ने फोहोरलाई अलगअलग राख्ने बानी विकास गर्न समयको उपयोग गर्न सक्छन् । सड्ने फोहोरलाई मल बनाउने र गमला वा करेसाबारीमा त्यो मलको प्रयोग गरी बोटबिरुवा स्याहार गर्न सकिन्छ । गाउँमा पनि सड्ने वस्तुबाट मल बनाउने कुरा सहयोगी हुन्छ ।

यसबेला कोभिड–१९ ले हाम्रो नमस्कार गर्ने चलन त बडो राम्रो रहेछ भन्ने कुरामा विश्वलाई नै शिक्षा भएको छ । ‘यो मात्र हैन, हाम्रो संस्कृतिमा धेरै विज्ञानसम्मत थितिहरू छन् । बिहान चाडै उठ्नेदेखि घाम अस्ताउनु अगाडि नै बेलुकाको खाना खाइसक्ने हाम्रा पूर्वजका थिति अनेक पुस्ताको अनुभव आर्जित वैज्ञानिक निष्कर्षमा आधारित छन् । ‘हाम्रै सांस्कृतिक सम्पदाका रूपमा रहेका थिति र चलनबारे अभिभावकहरूले बालबालिकामा जानकारी हस्तान्तरण गर्नु परिस्थितिअनुकूल ठुलो उपलब्धि हुनेछ,’ शैक्षिक परामर्शदाता अच्युत गौतम भन्छन्, ‘त्यसका लागि आवश्यक जानकारी र सामग्री उपलब्ध गराउने वा स्रोत देखाइदिने अग्र–दायित्व विद्यालय र शिक्षकको हो ।’