विजयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरी क्षेत्र नं. १ का उम्मेदवार उद्धव श्रेष्ठले नीति निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् ।
घरदैलो अभियानका क्रममा उनले यस्तो बताए । उनले भने, “नीति निर्माण नगरी विकासका काम गर्न सकिँदैन ।” उनले वराहक्षेत्र र रामधुनीको सबैभन्दा ठूला समस्या हात्ती आतङ्क भएकाले त्यसको समाधान पनि गर्ने बताए । उनले भने, “सडक सञ्जाल पनि कालोपत्रे गर्छौं ।” उनले आफ्नो प्रतिस्पर्धी नै नभएको बताउँदै भने, “करिब तीन हजार मतान्तरले विजयी हुन्छु ।”
उनले घरदैलो कार्यक्रममा मतदाताको अभूतपूर्व सहयोग पाएको बताउँदै विजेता हुने बताए । क्षेत्र नं. १ मा सधैँ बाहिरका व्यक्ति उम्मेदवार बन्ने र जितेर गएपश्चात् नफर्कने गरेको बताउँदै आफू स्थानीय व्यक्ति भएकाले पनि विजेता हुने बताए । धरानका भौतिक पूर्वाधार निर्माणदेखि ३३ केभी प्रसारण लाइन हाइटेन्सन तथा सर्दु जलाधारका नाममा स्थानीयको जग्गा रोक्का भएको कारण समस्या रहेको बताए ।
सहकारी पीडितका समस्याबारे आफू जानकार भएकाले समस्या समाधान गर्ने बताए । उनले आफू कुनै पनि विवादमा नपरेको बताउँदै भने, “म निष्कलङ्क व्यक्ति हुँ ।” उनले घरदैलो कार्यक्रममा राजा ल्याउने पार्टी भनेर स्वागत गरेको बताए । उनले भने, “मलाई राजा ल्याउने पार्टी भन्ने बित्तिकै सबैले स्वागत गर्नुभएको छ । म उत्साहित भएको छु ।” उनले धरानको साख फर्काउन आफू लागिपर्ने बताए । धरानका विकासका लागि केन्द्रीय बजेट ल्याउन प्रयास गर्ने बताए । उनले समाजशास्त्र र राजनीतिशास्त्रबाट स्नातकोत्तर गरेका छन् । उनी पूर्वप्राध्यापक हुन् ।































