झापा ५ को चुनावी रन्को देशको इपिसेन्टर बनेको छ । प्रतिनिधि सभा सदस्यको १ सय ६५ वटा निर्वाचन क्षेत्र भए पनि केपी शर्मा ओली र बालेन्द्र साह (बालेन) बीचको प्रतिस्पर्धाले इपिसेन्टर बन्नु आश्चर्यको विषय रहेन । यो इपिसेन्टरमा अहिले अनेक खालका अड्कलबाजी गरी कानूनले अवैध मानेको सट्टेबाजी पनि चलिरहेको छ । ओली र बालेनको पक्षमा पैसाको दाउ हाल्ने प्रतिस्पर्धा सुरू भएको खबर बाहिरिएको छ । यस्ता कार्य विगतमा पनि हुन्थे । तर, सतहमा आएको थिएन । खेलकुदहरुमा सट्टेबाजी गरेको र पक्राउ परेको घटना सुन्दै आएकै हो । तर राजनीतिमा पनि यो किसिमको अभ्यास हुनु समाजको लागि हितकर होइन । विगतका निर्वाचनमा यस्ता परिदृश्यहरु सुन्न पाइएको थिएन । जेन जी आन्दोलन र त्यसले जन्माएका विचारहरुका कारणले पनि झापा ५ बढी नै गर्मागर्मी भएको छ । 

अहिले विनाशक कि विकासक भन्ने नारा उरालिँदै छ । यो नारा जेन जी आन्दोलनपश्चात् नै धेरै ‘क्वाइन’ भएको शब्द हो । यो नारा आफैमा पनि गलत छ । समाजको हित चाहनेहरुले यस्ता नाराहरु उराल्नु कानूनलाई हातमा लिनु जस्तै हो । यहाँ एउटाले अर्को शक्तिलाई हराउन र जिताउन लागिपरेको छ । २०६४ सालको संविधान सभाको चुनावबाहेक विगत २०४८ सालदेखि त्यो क्षेत्रमा ओलीले एकछत्र पकड राख्दै आएका छन् । ओलीको किल्लामा बालेनको इन्ट्रीलाई कतिपयले सकारात्मक रुपमा लिएका छन् भने कतिपयले नकारात्मक रुपमा लिएका छन् । यो हेर्दा मानवीय स्वभाव भए पनि समाजका लागि प्रत्युत्पादक नै हो । एउटा नागरिक जुनसुकै निर्वाचन क्षेत्रबाट पनि उम्मेदवार हुन पाउँछ । त्यो उसको अधिकार हो । तर, त्यो क्षेत्रमा अहिले जे जस्ता गलत गतिविधिहरु भइरहेका छन् । त्यो सामाजिक एकता र सद्भावका लागि मात्रै नभई कानूनी हिसाबले पनि राम्रो होइन । यो शान्तिसुरक्षाका दृष्टिले पनि गलत छ । 

नागरिकहरु शान्तिपूर्ण, भयरहित वातावरणमा भोट हाल्न चाहन्छन् । त्यस्तो वातावरण सिर्जना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । शान्तिसुरक्षाका लागि खटिएका प्रहरी प्रशासन, सशस्त्र प्रहरी तथा सेनाको पनि दायित्व हो । यस्ता आपराधिक क्रियाकलापलाई रोक्नका लागि बेलैमा सचेत भएर लाग्नुपर्छ । उक्त क्षेत्रबाट उठेका उम्मेदवारहरुले पनि यस विषयमा सार्वजनिक रुपमा भन्न सक्नुपर्छ ता कि जे भइरहेको छ, त्यो कानूनभन्दा बाहिर भइरहेको छ । स्थानीयवासीहरुले यतिबेला प्रहरीलाई साथसहयोग गर्ने बेला हो । जतिसक्दो चाँडो यस्ता गतिविधिलाई निर्मूल गर्न सक्यो, उति चाँडो निर्वाचन भयरहित र शान्तिपूर्ण हुनेछ । 

झापा ५ को चुनाव पनि देशभर भएको आमचुनावकै एउटा पाटो हो । हेभीवेटहरुको लडाइँको रुपमा यसलाई चित्रण गरिनु हुँदैन । एउटा नेपाली नागरिकले जहाँबाट पनि आफ्नो परीक्षा दिन पाउँछ । त्यस विषयमा अन्य उम्मेदवारले टीकाटिप्पणी गर्नु सुहाउँदो विषय होइन । शान्तिपूर्ण र भयरहित वातावरण सिर्जना गर्नका लागि र आम मतदाताहरुलाई सहज बनाउन कानूनले वर्जित गरेका कुराहरुमा प्रहरीलाई सघाउन आवश्यक छ । यसो हुन सक्यो भने मात्रै हामीले स्वतन्त्र रुपमा मताधिकार प्रयोग गर्न सक्छौँ । मत हाल्न पाउनु आम नागरिकको अधिकार मात्रै हैन, कर्तव्य पनि हो । नागरिकहरुले पनि यस्ता गलत गतिविधिको खुलेर विरोध गर्नु आवश्यक छ र आफै सचेत भई यस्ता गतिविधिबाट टाढा हुनुपर्छ । कसैलाई आक्रोस सिर्जना गर्र्ने कार्य गरेर समाजलाई अशान्तितिर धकेल्ने अधिकार कसैलाई पनि छैन । यस विषयमा सबै सचेत बनून् ।