धरान । धरान–१५ स्थित सगरमाथा लाइन निवासी ५२ वर्षीया ममता राई खड्का दोस्रो पटक क्यान्सर रोगबाट पीडित भएकी छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उनलाई तेस्रो किमोथेरापीका लागि फागुन ५ गते बोलाएको भए पनि आर्थिक अभावका कारण उपचार निरन्तरतामा समस्या भएको उनका परिवारले जनाएका छन् ।
ममतामा २०८१ सालको सुरुवाततिर स्तन क्यान्सर (ब्रेस्ट क्यान्सर) देखिएको थियो । उनका श्रीमान् बस चालक शुक्र राईको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको बताए । पहिलो चरणमा ममताले आठ पटक किमोथेरापी र आठवटा इन्जेक्सन उपचार लिइन् । दाहिने स्तनको शल्यक्रियासमेत गरिएको थियो । २०८१ चैतमा उनलाई उपचारपछि प्रतिष्ठानले डिस्चार्ज गरेको थियो ।
उपचारमा करिब १३ लाख रुपैयाँ खर्च भएको परिवारले जनाएको छ । सरकारले उपलब्ध गराएको एक लाख रुपैयाँ सहयोगबाहेक बाँकी रकम जुटाउन श्रीमान् राईले धनकुटाको बूढीमोरङस्थित पुख्र्याैली जग्गासमेत बिक्री गरेका र केही रकम ऋणसमेत लिएका थिए ।
तर, एक महिनाअघि ममतालाई लामो समयसम्म खोकीले सताएपछि पुनः बीपी प्रतिष्ठानमा जाँच गराउँदा क्यान्सर सङ्क्रमण पेटतर्फ फैलिएको चिकित्सकले बताएका छन् । त्यसपछि पुनः किमोथेरापी सुरु गरिएको छ । पहिलो किमो दिइसकिएको र बायोप्सी परीक्षणका लागि नमुना पठाइएको श्रीमान् राईले जानकारी दिए । दोस्रो किमो गत माघ २७ गते दिइएको र तेस्रो किमोका लागि यही फागुन ५ गते बोलाइएको छ ।
रिपोर्ट आएलगत्तै थप औषधि उपचार गर्नुपर्ने हुन्छ, तर पहिलो पटककै उपचारमा सबै सकिएको उनको परिवारले जनाएको छ । मङ्गलबार बीपी प्रतिष्ठानमै पुगेर नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र धरान नगर अध्यक्ष किरण थापाले बिरामीलाई भेटेर केही सहयोग जुटाउने बताएका छन् । आर्थिक अभावकै कारण उपचार रोकिने जोखिममा परेकी ममताको जीवन बचाउन परिवारले सहयोगको अपेक्षा गरेको छ ।































