राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाले देशभरका ११ उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका ६४.४४ अङ्कसहित अग्रस्थानमा रहेको देखाएको छ । तुल्सीपुर (६१.५३) र घोराही (६१.०८) जस्ता उपमहानगरले पनि सन्तोषजनक प्रदर्शन गरेका छन् । यो सकारात्मक सङ्केत हो । तर, धरान उपमहानगरपालिका ४९.७६ अङ्कमा सीमित रहँदै औसतभन्दा कमजोर प्रदर्शन गर्ने सूचीमा परेको छ । स्वतन्त्रबाट चुनाव जितेका हर्कराज राई(साम्पाङ)ले नेतृत्व गरेको उपमहानगरमा यो नतिजा शुभसङ्केत मान्न सकिँदैन । सबैभन्दा कमजोर इटहरी (३८.९६) भए पनि धरानको नतिजा उत्साहजनक भन्न सकिँदैन । यो केवल अङ्कको प्रतिस्पर्धा मात्र होइन; यो स्थानीय शासनको क्षमता, वित्तीय अनुशासन, सेवा प्रवाह र सामाजिक सूचकमा प्रतिबिम्बित वास्तविकताको चित्र हो । आयोगले १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको छ—बजेट समयमै सार्वजनिक र पारित गर्ने, राजस्व परिचालन, प्रदेशलाई दिनुपर्ने राजस्व बाँडफाँट, बजेट समीक्षा, खर्चको अवस्था, बेरूजु, ‘सूत्र’ सप्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, एसईई नतिजा, गर्भ जाँच दर, खोप लगाएका बालबालिकाको अनुपात आदि । यी सबै सूचक स्थानीय सरकारको समग्र कार्यक्षमताका मापन हुन् । धरानको नजिता ओरालो लाग्नुमा यी सूचक कायम गराउन नेतृत्व असफल भएको कुरा छर्लङ्ग छ । 

धरानको नेतृत्व श्रम अभियानमा लाग्दा धरानमा वित्तीय अनुशासन र योजना कार्यान्वयनमा कमजोरी भएको सङ्केत गर्छ । समयमै बजेट ल्याउने र पारित गर्ने, प्रदेशलाई दिनुपर्ने ४० प्रतिशत राजस्व मासिक दाखिला गर्ने, बजेट समीक्षा सार्वजनिक गर्ने जस्ता आधारभूत प्रशासनिक दायित्वहरुमा ढिलासुस्ती भए अङ्क घट्नु स्वभाविक हो । धरानमा विगत केही वर्षदेखि देखिँदै आएको आन्तरिक विवाद, नेतृत्वबीचको मतभेद र निर्णय प्रक्रियामा देखिएको असमञ्जसले प्रशासनिक गतिशीलतामा असर पारेको कुरा प्रष्ट छ । सहसचिव स्तरका अधिकृत धरानमा आउन मानेनन् । प्रशासकीय अधिकृतहरुले नगर प्रमुखको स्वेच्छचारी चरित्रका कारण उत्कृष्ट काम गर्न सकेनन् । राजस्व परिचालन र खर्च व्यवस्थापनमा सन्तुलन कायम गर्न सकेनन् । आ.व. २०८२÷०८३ को बजेट गत असोजमा मात्र बनाउन सकेको थियो । धरान ऐतिहासिक, शैक्षिक र स्वास्थ्य सेवाको केन्द्रका रुपमा चिनिन्छ । यति सम्भावना हुँदाहुँदै पनि आन्तरिक राजस्व वृद्धि, स्रोत परिचालन र पुँजीगत खर्च कार्यान्वयनमा अपेक्षित उपलब्धि नदेखिनु चिन्ताको विषय हो । बेरूजु घटाउने र पारदर्शिता बढाउने दिशामा ठोस प्रयास नहुनु दुर्भाग्य हो । सामाजिक सूचकहरु—विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, एसईई नतिजा, गर्भ जाँच तथा खोपको अवस्था—स्थानीय सरकारको प्रत्यक्ष जिम्मेवारीसँग जोडिएका छन् । धरानजस्तो शैक्षिक सहरमा यी सूचकहरुमा उल्लेखनीय सुधार नदेखिनु नीति–कार्यक्रम र कार्यान्वयनबीच दूरी रहेको सङ्केत हुनसक्छ । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा नतिजामुखी कार्यक्रम अबको नेतृत्वले ल्याउनु बाञ्छनीय हुनेछ । 

बुटवल, तुल्सीपुर र घोराहीको तुलनात्मकरुपमा राम्रो प्रदर्शनले देखाउँछ कि स्पष्ट प्राथमिकता, प्रशासनिक स्थिरता र वित्तीय अनुशासन कायम राख्दा परिणाम सम्भव हुन्छ । धरानले अब आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । अङ्क कम आउनु असफलता मात्र होइन, सुधारको अवसर पनि हो । खराब अङ्कलाई अब धरानले अवसरको रुपमा लिएर आगामी वर्ष श्रेष्ठता हासिल गर्नु पर्दछ ।  अब धरानले पहिलो काम, वित्तीय व्यवस्थापनमा कडाइ—समयमै बजेट निर्माण, पारित र समीक्षा सार्वजनिक गर्ने अभ्यास संस्थागत गराउनु जरूरी छ । दोस्रो, राजस्वको दायरा विस्तार—घरजग्गा कर, व्यवसाय कर, सेवा शुल्क आदिको प्रभावकारी सङ्कलन र चुहावट नियन्त्रण गरिनु पर्दछ । तेस्रो, सामाजिक क्षेत्रमा लक्षित सुधार योजना—विद्यालयमा विद्यार्थी टिकाउ दर बढाउने, एसईई नतिजा सुधार्ने, स्वास्थ्य चौकीहरुलाई सुदृढ बनाउने, गर्भ जाँच र खोप कार्यक्रम प्रभावकारी बनाउने कार्यमा जोड दिनुपर्छ । चौथो, पारदर्शिता र प्रविधिको प्रयोग—‘सूत्र’ जस्ता प्रणालीको पूर्ण प्रयोग र सार्वजनिक प्रतिवेदनमार्फत् नागरिकमा विश्वास बढाउनु जरूरी छ । धरान सम्भावनाको सहर हो । शिक्षा, स्वास्थ्य, पर्यटन र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न छ । तर सम्भावनालाई उपलब्धिमा रुपान्तरण गर्न संस्थागत अनुशासन र दीर्घकालीन दृष्टि अपरिहार्य छ । ४९.७६ अङ्कलाई चेतावनीको घण्टीका रुपमा लिएर सुधारको स्पष्ट रोडम्याप बनाइएन भने आगामी वर्षका प्रतिस्पर्धामा झन् पछि पर्ने जोखिमलाई ध्यान पु¥याउनु पर्दछ । कार्यसम्पादन मूल्याङ्कन केवल कागजी प्रक्रिया होइन; यो स्थानीय लोकतन्त्रको गुणस्तर मापन गर्ने ऐना हो । धरानले अब अङ्कको राजनीतिभन्दा माथि उठेर सुशासन, पारदर्शिता र परिणाममुखी कार्यसंस्कृतिलाई प्राथमिकता दिनुपर्छ । त्यसो गर्नसके मात्रै धरानले आफ्नो पहिचानअनुसारको अग्रस्थान पुनः हासिल गर्न सक्ने कुरामा दुई मत छैन ।