धरान । सुनसरी क्षेत्र नं. १ फेरि एकपटक राष्ट्रिय चासोको केन्द्रमा छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्रबाट धरान उपमहानगरको प्रमुखमा बाजी मारेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ) मैदानमा छन् । उनले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा घोषणा गरेका छन् ।
हर्क साम्पाङसँग कार्यपालिका बैठकमा बारम्बार नोकझाेंक हुँदै आएको पृष्ठभूमिका नेकपाबाट सूर्यप्रसाद भट्टराई (मनोज) को उम्मेदवारीलाई ‘व्यक्तिगत प्रतिस्पर्धा’ को रूपमा पनि हेरिएको छ । यता एमालेको ‘लालकिल्ला’ मानिएको सुनसरी–१ मा नेकपा (एमाले)ले ४० वर्षीय युवा टीकाराम लिम्बू(माङ्लेन) लाई उम्मेदवार बनाएसँगै यो क्षेत्रको राजनीतिक तापक्रम बढेको छ । ऐतिहासिकरूपमा वामपन्थी प्रभाव बलियो मानिएको यस क्षेत्रमा पछिल्ला नतिजाहरूले समीकरण बदलिएको सङ्केत दिएपछि चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको हो ।
एमालेको ‘विरासत’ फर्काउने प्रयास
वराह क्षेत्रका १–५, रामधुनीको ७ र ८ वडासहित धरान उपमहानगरपालिका समेटिएको सुनसरी–१ मा पञ्चायतकालदेखि नै वामपन्थी शक्तिको प्रभाव देखिँदै आएको छ । २०४८ मा मनमोहन अधिकारी, ०५१ मा लीला श्रेष्ठ सुब्बा, ०५६ मा कुन्ता शर्मा, ०७० मा कृष्णकुमार राई र ०७४ मा जयकुमार राईले जित निकाल्दा यहाँ ‘एमालेले लठ्ठी उभ्याए पनि जित्छ’ भन्ने भाष्य पनि बनेको थियो । ०७९ मा एमालेको समर्थनमा जसपाका अशोककुमार राई विजयी भएका थिए ।
तर धरान उपमहानगरको नतिजाले भने यो भाष्यलाई चुनौती दिँदै आएको छ । २०७६ को उपनिर्वाचनमा काङ्ग्रेसका तिलक राई मेयर निर्वाचित भए । माओवादीसहित चुनावमा उत्रिएको एमालेको आफ्नो मात्रै मत १६ हजारभन्दा बढी पकेट मत थियो । सोही गणितको हिसाबले चुनावी अभियानमा एमालेजनहरूले धरानमा ‘लठ्ठी’ उठाए पनि चुनाव जित्ने उद्घोष गरेका थिए । तर दुई हजार ७ सय ९५ मतान्तरले एमालेका बौद्धिक उम्मेदवार प्रकाश राई तिलक राईसँग पराजित भए । २०७९ मा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले जिते । एमालेबाट २०७४ सालमा राम्रो मत पाएर उपप्रमुख भएकी मञ्जु भण्डारीले २०७९ मा तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । यी परिणामले परम्परागत सङ्गठन बलियो हुँदाहुँदै पनि मतदाताको मनोविज्ञान बदलिएको सङ्केत मिलेको छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपाका अशोककुमारलाई समर्थन गरेर गल्ती गरेको एमालेले यसपटक आफ्नै युवा उम्मेदवार माङ्लेनलाई अघि सारेको छ । सङ्गठनात्मकरूपमा बलियो संरचना र ऐतिहासिक पृष्ठभूमिको भरोसा एमालेसँग छ । तर चुनौती भनेको उम्मेदवारको जनचिनारी र व्यक्तित्व निर्माण हो । माङ्लेन तुलनात्मक रूपमा नयाँ अनुहार भएकाले मतदातामाझ स्थापित हुन समय र मिहिनेत दुवै चाहिन्छ । तर भदौ २३ र २४ को जेन जी आन्दोलनपछिको युवाहरूको मागलाई मध्यनजर गरेर एमालेका दिग्गज उम्मेदवार प्रशस्त हुँदाहुँदै पनि पढेलेखेका युवालाई अघि सार्नु एउटा सकारात्मक पाटो हो ।
हर्क साम्पाङको ‘स्विङ’ शक्ति
धरानका पूर्व नगर प्रमुख साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टी यस निर्वाचनको प्रमुख आकर्षण बनेको छ । श्रमदान अभियान, सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष संवाद र ‘सिस्टमविरुद्ध’ को भाष्यले उनलाई युवामाझ लोकप्रिय बनाएको छ ।
विशेषगरी सहरी र सचेत मतदाता रहेको धरान क्षेत्रमा परम्परागत दलप्रति वितृष्णा बढेको विश्लेषण गरिन्छ । यही स्विङ मत साम्पाङतर्फ सरेको स्थानीयहरू बताउँछन् । उनका समर्थकहरू सक्रिय र भावनात्मकरूपमा प्रतिबद्ध देखिन्छन् । यसले पुराना परम्परागत उम्मेदवारलाई चुनौती थपिएको छ । तर साम्पाङका लागि पनि चुनौती कम छैन । सङ्गठनात्मक रूपमा पुराना दलहरू जति मजबुत संरचना उनको पार्टीसँग छैन । साथै मत विभाजनको जोखिम पनि उत्तिकै छ । घरदैलो कार्यक्रममा मतदाताहरूले प्रश्न गर्दा ‘ओठे जवाफ’ फर्काउने कार्यकर्ताहरूमा सहनशीलता पटक्कै नभएको प्रतिक्रियाहरू पनि उत्तिकै छन् । फागुन २१ सम्म साम्पाङकको पाँच हजार मतदाताहरू घट्ने चिया पसलहरूमा चर्चासमेत उत्तिकै हुँदै आएको छ ।
रास्वपामा ‘बालेन फ्याक्टर’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङ (सरिन) अघिल्लो चुनावमा मात्र ४ सय ५३ मतले एमालेले समर्थन गरेको उम्मेदवार अशोककुमार राईसँग पराजित भएकी थिइन् । राईले १७ हजार ५९ मत ल्याउँदा उनले १६ हजार ६ सय ६ मत पाएकी थिइन् । त्यसबेला निर्वाचन क्षेत्रमा खासै नचिनिएकी सरिन उपविजेता बनेपछि उनको खोजी भएको थियो । रवि लामिछानेको नाममा उनले प्रशस्त भोट पाएकी थिइन् । फेरि यस पटक पार्टीले सरिनलाई नै उम्मेदवार बनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपामा बालेन साहको सक्रिय प्रवेशले यस पटक सरिनको अभियानलाई थप ऊर्जा दिएको छ । यस पटक उनका लागि ‘बालेन फ्याक्टर’ ले निकै काम गर्ने देखिन्छ । सामाजिक क्षेत्रमा सक्रियता र सङ्गठन विस्तारले उनको दाबी बलियो बन्दै गएको छ ।
हर्क र मनोजबीच ‘इगो’ को लडाइँ
नयाँ स्वरूपमा आएको नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज) मैदानमा हुनुलाई सुनसरी–१ मा फरकरूपमा हेरिएको छ । धरान–१७ बाट दुई पटक वडाध्यक्ष जितेका उनले सबै समुदायबीच लोकप्रियता बढाउँदै आएका छन् । हर्क साम्पाङसँग कार्यपालिका बैठकमा बारम्बार नोकझोंक हुँदै आएको पृष्ठभूमिले उनको उम्मेदवारीलाई ‘व्यक्तिगत प्रतिस्पर्धा’ को रूपमा पनि हेरिएको छ । सुकुम्बासी क्षेत्रका मतदातामाझ उनको प्रभाव मानिन्छ । उनले साम्पाङसँगको नोकझोंकमा पटक–पटक आफूसँग चुनाव लड्न आउनसमेत आह्वान गरेका थिए । संयोगवश तिनै कार्यपालिकामा आमनेसामाने हुने व्यक्ति यतिबेला चुनावी मैदानमा आमनेसामने हुँदा भूकम्प क्षेत्रमा प्रयोग गरिने शब्द ‘इपिसेन्टर’ को रूपमा सुनसरी–१ लाई हेरिएको छ । सुरक्षा निकायले पनि झापा–५ र सुनसरी–१ लाई ‘अति संवेदनशील’ क्षेत्रको रूपमा हेरेको छ ।
भट्टराईले खानेपानी, ल्याण्डफिल साइट, साना पूर्वाधार विकासजस्ता प्रमुख एजेन्डा अघि सारेका छन् । राजनीतिक सुझबुझ भएका भट्टराई सुनसरी–१ का सबै समुदायका व्यक्तिहरूसँग राय र परामर्श लिँदै भोट माग्ने अभियानमा होमिएका छन् । यसअघि दुई पटक वडाध्यक्ष हुँदा आफ्नो वडाका सबै टोलहरूमा व्यक्तिगतरूपमा लगानी गरेर साना कल्भर्ट, ढल, नल, खोलाखोल्सीका तटबन्ध, सामुदायिक भवन निर्माण गरेर लोकप्रिय बनेका मनोजले सबै उम्मेदवारलाई निकटतम् प्रतिद्वन्द्वी बताउने गरेका छन् । उनको यो लोकप्रियताले पनि यस पटकको निर्वाचनलाई प्रभाव पार्ने देखिन्छ । राई समुदायको बाहुल्यता रहेको सुनसरी–१ मा जातीय मत पनि उम्मेदवारमा विभाजन हुने देखिन्छ ।
काङ्ग्रेसको ‘अन्तिम प्रयास’
इतिहास हेर्दा संसदीय चुनावमा कमङ्ग्रेसले यहाँ जित्न सकेको छैन । यसपटक क्षेत्रीय सभापति सुजेन्द्र तामाङ मैदानमा छन् । विशेष महाधिवेशनपछि काङ्ग्रेसमा तिक्तता देखिएका बेला तामाङले टिकट ल्याए । राजनीति र सामाजिक काममा सक्रिय तामाङ आदिवासी जनजाति समुदायको मत आफ्नो पक्षमा ल्याउने आशामा छन् । तर सङ्गठनात्मक कमजोरी र विगतको पराजयको मनोवैज्ञानिक दबाव काङ्ग्रेसका लागि उत्तिकै चुनौती छ । २०७६ को उपनिर्वाचनमा स्थानीय तहमा काङ्ग्रेसका उम्मेदवार तिलक राईको विजयबाहेक काङ्ग्रेसले इतिहास बनाउन पाएको छैन । त्यही भएर तामाङले केन्द्रमा काङ्ग्रेसको प्रतिनिधित्व अभाव हुँदा सुनसरी–१ को विकास नभएको भन्ने मूल समस्याका रूपमा अघि सारेर काङ्ग्रेसको प्रतिनिधि पठाउन मतदाताहरूलाई घरदैलोमा आग्रह गर्दै आएका छन् ।
अन्य उम्मेदवार र मत विभाजन
उज्यालो नेपाल पार्टीका डम्बर लावती (जेन्टल)सहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा थप जटिल बनाएका छन् । यस्तै मजदुर किसान पार्टीबाट पत्रकार पृष्ठभूमिका महेश श्रेष्ठ, अघिल्लो निर्वाचनमा राम्रै मत ल्याएका राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धव श्रेष्ठ मैदानमा छन् । यस्तै नेपाल जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, नेपाल जनमुक्ति पार्टीबाट थामबहादुर लिम्बू, मितेरी पार्टीबाट रक्षकुमार राई, सङ्घीय लोकतानित्र राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बू, जनता समाजवादी पार्टीबाट सञ्जय राईलगायत उम्मेदवारले सुनसरी–१ मा जातीय भोट प्रभावित पार्ने सम्भावना धेरै छ ।
सुनसरी–१ को चुनाव मूलतः ‘परम्परागत सङ्गठन शक्ति’ र ‘परिवर्तनको आकाङ्क्षा’ बीचको प्रतिस्पर्धाजस्तो देखिएको विश्लेषकहरू बताउँछन् । एमालेसँग बलियो संरचना र ऐतिहासिक आधार छ । हर्क साम्पाङसँग भावनात्मक लहर र स्विङ मतको आकर्षण छ । नेकपाका मनोजसँग सङ्गठन र राजनीतिक व्यक्तिको उभार छ । रास्वपाले वैकल्पिक शक्तिको रूपमा आफूलाई स्थापित गरिरहेको छ । काङ्ग्रेस र अन्य दलहरू तथा स्वतन्त्र मत विभाजनको गणितमा निर्णायक बन्न सक्छन् ।
यदि परम्परागत मत एकताबद्ध रह्यो भने एमाले लाभमा रहन सक्छ । तर सहरी मतदाता, युवा र असन्तुष्ट समूहको मत विभाजित वा वैकल्पिक शक्तितर्फ मोडिएमा परिणाम अप्रत्यासित हुन सक्ने धेरैको अनुमान रहेको छ ।
यसैले सुनसरी–१ यसपटक केवल एउटा संसदीय क्षेत्रको चुनाव होइन, धरानको बदलिँदो राजनीतिक चेतना र राष्ट्रिय राजनीतिबीचको सङ्गमको परीक्षणको रूपमा हेरिएको छ । परिणामले केवल प्रतिनिधि मात्रै होइन, राजनीतिक प्रवृत्तिको दिशासमेत सङ्केत गर्ने निश्चित छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरी–१ मा १९ दल र ७ स्वतन्त्र गरी २६ उम्मेदवार मैदानमा छन् । धरान उपमहानगरपालिकाका २० वटा वडा, वराहक्षेत्र १–५ र रामधुनी ६–७ समेटिएको यस क्षेत्रमा १ लाख ५० हजार ३ सय ९३ मतदाता छन् । ४९ मतदानस्थल र १ सय ८१ मतदान केन्द्र तोकिएका छन् ।
































