धरान । सुनसरीको धरान–१६ स्थित नवोदय–युएन कलेजले आफ्नै प्राङ्गणमा विद्यार्थीहरूलाई साइबर अपराध र ट्राफिक सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । 

कलेजका जनसम्पर्क अधिकृत राम लिम्बूका अनुसार मङ्गलबार साइबर अपराधसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । जसमा इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईले साइबर अपराध, त्यसको प्रकृति र त्यसबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरूका बारेमा विद्यार्थीहरूलाई जानकारी गराए । पछिल्लो समय अन्य अपराधको तुलनामा साइबर अपराध बढी हुने गरेको उनले तथ्य पनि सार्वजनिक गरे । 

यस्तै बुधबार ट्राफिक सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका सव–इन्स्पेक्टर नारदप्रसाद दाहालले ट्राफिक व्यवस्थापन, त्यसमा अपनाउनुपर्ने उपायहरूका बारेमा जानकारी गराए । उनले विद्यार्थी उमेरमा बढी सवारी साधन हुइँक्याउनेलगायतको समस्या हुने गरेकाले यहीबेला सचेतना अपनाउन सकेमा धेरैको ज्यान जोखिममा पर्नबाट जोगिने बताए । 

कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण गराइएको जनसम्पर्क अधिकृत लिम्बूले जानकारी दिए । कलेजका प्राचार्य एवम् प्रमुख डम्बर तुम्बापोको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थीहरूमा साइबर अपराध र ट्राफिक व्यवस्थापनबारे जानकारी दिने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको उनले जानकारी दिए ।