दमक । झापाको दमक नगरपालिका वडा नंं.३ स्थित टुकुरे बस्तीअगाडि १८ तले ‘गगनचुम्बी’ भ्युटावर । डेढ अर्ब रुपैयाँ खर्चेर बनाइएको टावरअगाडिको बस्तीमा शनिबार दिउँसो केही नयाँ अनुहार देखिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहकी पत्नी सविना काफ्ले र कार्यकर्ताहरूको टोली घरदैलोमा पुग्दा स्थानीयका आँखामा खुसीभन्दा बढी संशय देखिन्थ्यो । झण्डै एक घण्टा बस्तीमा बिताएको टोलीसँग स्थानीयले आफ्नो पीडा पोखे, जुन पीडा वर्षौंदेखि हरेक निर्वाचनमा दोहोरिने गरेको छ ।
“हामीलाई आश्वासनको पोकोबाहेक नेताले केही दिएनन्” सुकुम्बासी बस्तीका मानबहादुर भुजेलले भने, “चुनावका बेला धनीपुर्जा दिन्छौँ भन्दै भोट माग्न आउँछन्, जितेर गएपछि उम्मेदवार लापत्ता हुन्छन् । अब हामी पुरानो पार्टीलाई यो बस्तीमा छिर्न दिने पक्षमा छैनौँ ।”
मानबहादुरको स्मरणमा स्थानीय तहको निर्वाचन अझै ताजा छ । दमक नगरपालिकाका मेयर राम थापाले भोट माग्न आउँदा गरेको वाचा उनी सुनाउँछन्, “मलाई जिताएर पठाए ६ महिनाभित्र धनीपुर्जा हात–हातमा आउँछ भन्नुभएको थियो । अहिले दुई वर्ष बितिसक्यो, हाम्रो हातमा लालपुर्जा होइन, उही आश्वासनको रित्तो कागज मात्र छ ।”
टुकुरे बस्तीको कथा विडम्बनापूर्ण छ । घरको आँगनमै राज्यले डेढ अर्ब लगानी गरेर भ्युटावर बनायो, तर त्यही टावरका छिमेकीहरूको घरअगाडिको सडक अझै ग्राभेलमै सीमित छ । स्थानीय सुनिल कार्की धुलोका कारण हैरानी खेपिरहेका छन् । “घरअगाडिको सडक पिच भएको छैन, धुलोले बस्न सकिँदैन” उनी भन्छन्, “एक सय मिटरअगाडि उपयोगहीन गगनचुम्बी भ्युटावर छ, तर हाम्रो जीवन फेरिएको छैन ।”
भ्युटावर निर्माण सुरु हुँदा स्थानीयलाई देखाइएका सपनाहरू अहिलेसम्म पूरा नभएको उनीहरूको गुनासो छ । भ्युटावरमै रोजगारी पाइने, जग्गाको धनीपुर्जा पाइने र गाउँ सहर बन्ने लोभ देखाइएको थियो । तर, टावर ठडियो, उद्घाटन भएको पनि एक वर्ष बित्यो, न कसैले रोजगारी पाए, न त जग्गाको मालिक नै हुन सके । उल्टै भ्युटावर सञ्चालनमा आएपछि सुकुम्बासीलाई त्यहाँबाट लखेटेर रिसोर्ट बनाइने हल्लाले उनीहरूको निन्द्रा हराम गरिदिएको छ ।
स्थानीय पूर्णबहादुर धिमाल भन्छन्, “रोजगारी त सपना मात्र भयो । भ्युटावरको सट्टा यहाँ एउटा राम्रो अस्पताल बनाइदिएको भए बिरामी हुँदा धरान वा विराटनगर धाउनुपर्ने बाध्यता हट्थ्यो । अहिले यो टावरको न काम छ, न त हाम्रो जीवनमा यसले कुनै परिवर्तन ल्यायो । राज्यको यत्रो पैसा बालुवामा पानी हाले सरह भयो ।”
जेन जी आन्दोलनका क्रममा भएको तोडफोडपछि अहिले भ्युटावर बन्द छ । स्थानीय मेनुका कार्कीका अनुसार राति टावरभित्र स्याल पसेर कराउँदा बस्ती नै त्रसित हुन्छ । “भ्युटावरका कारण कतै हाम्रो उठीबास हुने त होइन भन्ने चिन्ता छ” उनी भन्छिन्, “धनीपुर्जा पाइन्छ कि भनेर घर बनाउन सकेका छैनौँ, बनाएपछि फेरि भत्काइदिए भने हाम्रो उठीबास हुन्छ ।”
झापा–५, जहाँ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ सुकुम्बासीको मत निर्णायक छ । एमाले अध्यक्ष ओलीले केही समयअघि प्रतिस्पर्धीलाई लक्षित गर्दै ‘आफूबाहेकले जिते सुकुम्बासी बस्तीमा डोजर चल्ने’ अभिव्यक्ति दिएपछि यो क्षेत्रमा तरङ्ग पैदा भएको थियो ।
त्यही संशयका बीच स्थानीयले रास्वपा नेता बालेन साहलाई पनि २० माघमा कमल गाउँपालिकामा प्रश्न गरे, “सुकुम्बासीप्रति तपाईंको नीति के हो ?” बालेनले झापा र काठमाडौंको समस्या फरक भएको उत्तर त दिए, तर सुकुम्बासीहरूको मनभित्रको डर अझै मरेको छैन ।
भूमि आयोग झापाको तथ्याङ्क हेर्ने हो भने यो क्षेत्रमा सुकुम्बासीको सङ्ख्या धेरै छ । जिल्लाभर ५२ हजार ४१ परिवारले लालपुर्जाका लागि निवेदन दिएका छन् । झापा–५ मा मात्र झण्डै १२ हजार सुकुम्बासी परिवारको बसोबास छ । दमक नगरपालिकाभित्र मात्र ६ हजार ३ सय ३२ परिवार सुकुम्बासी छन्, जसमा ५ सय ६० दलित भूमिहीन र २ हजार ४ सय ७७ भूमिहीन सुकुम्बासी रहेका छन् । झापा–५ मा सुकुम्बासीको मत निर्णायक हुने स्थानीय बताउँछन् ।































