धरान । साविक उपविजेता चर्च ब्वाइज क्लब काठमाडौँ २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको उपाधि होडमा पुगेको छ । 

आफैबाट टुक्रिएको प्लानिङ ब्वाइज क्लबसँग उपाधिका लागि भिडन्त गर्ने भएको छ । प्लानिङ ब्वाइजले पोखराको लालीगुराँस एसोसिएसनलाई पराजित गर्दै उपाधि होडमा पुगेको थियो । 

यता बिहीबारको खेलमा चर्च ब्वाइजले टाइब्रेकरमा ३–१ गोलअन्तरले झापा ११ लाई हराएको हो । निर्धारित समयसम्म २–२ गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा धकेलिउको थियो । खेलमा झापा ११ का प्रशान्त लक्समले मात्रै गोल गरे । एरोन थापा मगर, राजेश दाहाल र गौरब धिमालको गोल विपक्षी गोलरक्षकले रोके । यता चर्च ब्वाइजका सुमित श्रेष्ठको गोल विपक्षी गोलरक्षकले रोक्दा एरिक विष्ट, रोहन कार्की र सुदीप श्रेष्ठको प्रहार गोलमा परिणत भएको थियो । 

उपाधिका लागि आउँदो शनिबार खेल हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।