(लेटाङ, मोरङ) । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । दलका उम्मेदवारहरू चुनावी एजेन्डा र आश्वासनको झोला बोकेर गाउँ पस्न थालेका छन् । तर लेटाङ–२ धोवीचोकका किसान भूपाल राईलाई भने चुनावभन्दा आफ्नो १० कठ्ठा खेत कसरी भिजाउने भन्ने पिरलो छ ।

“सिँचाइको सुविधा भइदिए सिजन अनुसारको खेती गर्ने थियौँ, तर पर्याप्त पानी नहुँदा बाली लगाउनै सकस छ” राईले गुनासो पोखे, “हाम्रो मुख्य समस्या सिँचाइ नै हो तर यहाँबाट उठ्ने उम्मेदवारले हाम्रो कुरा कहिल्यै सुनेनन् ।” उनले भोट माग्न नेताहरू तल्लो चोकतिर आइपुगेको सुने पनि अहिलेसम्म आफ्नो घरदैलोमा कोही नआएको बताए ।

यस क्षेत्रमा डिप बोरिङबाट पानी आउँदैन । यहाँका किसान पश्चिमतर्फ रहेको चिसाङ खोलामा निर्भर छन् । व्यवस्थित नहर नहुँदा हिउँदमा खेती सुक्ने र वर्षामा चुरेबाट आउने खहरेले दुःख दिने गरेको राई बताउँछन् । “फागुन लागेपछि सिँचाइको चरम् अभाव हुन्छ, अहिले लगाएको मकै भिœयाउन पाइने हो कि होइन, टुङ्गो छैन”–उनले भने ।

स्थानीय किसान दिपेश राईका अनुसार हरेक चुनावमा उम्मेदवारहरूले ‘तमोरको पानी तानेर सिँचाइ गरिदिने’ आश्वासन दिन्छन् तर जितेपछि फर्केर आउँदैनन् । यस्तै गुनासो लेटाङ–२ का गणेशबहादुर मल्ल ठकुरीको पनि छ । “एमाले उम्मेदवार घनश्याम खतिवडाले पहिले पनि तमोरको पानी ल्याउँछु भन्नुभएको थियो, तर काम भएन” उनले भने, “अहिले फेरि उहाँले टिकट पाउनुभएको छ रे, तर अहिलेसम्म यता आउनुभएको छैन । सायद फागुन लागेपछि आउनुहोला ।” ठकुरीले १ बिघामा खेती गर्दै आएका छन् ।

पुराना पार्टीलाई नयाँबाट चुनौती 

मोरङ १ मा यसअघि नेकपा (एमाले) र नेपाली काङ्ग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने गरेको भए पनि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीको उपस्थितिले प्रतिस्पर्धा रोचक र बहुपक्षीय बन्ने देखिएको छ । यहाँ मुख्य गरी पाँच उम्मेदवारबीच कडा भिडन्त हुने आँकलन गरिएको छ ।

एमालेले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई मैदानमा उतारेको छ भने काङ्ग्रेसबाट उर्लाबारीका पूर्व नगर प्रमुख खड्ग फागो चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै नेकपाबाट पूर्व प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा (कुशल), रास्वपाबाट यज्ञमणि न्यौपाने र श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन उम्मेदवार छन् । पाख्रिन एमाले छाडेर समाजवादी हुँदै श्रम संस्कृति पार्टीमा पुगेकी हुन् । यस क्षेत्रमा कुल १८ जना चुनावी मैदानमा छन् ।

कुल एक लाख २८ हजार पाँच ४५ मतदाता रहेको यस क्षेत्रमा उर्लाबारी र लेटाङ नगरपालिकाका साथै केराबारी र मिक्लाजुङ गाउँपालिका पर्दछन् । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट काङ्ग्रेसका डिकबहादुर लिम्बू विजयी भएका थिए । अघिल्लो  निर्वाचनको समानुपातिकतर्फको मत परिणाम हेर्दा एमाले सबैभन्दा बलियो देखिएको थियो । एमालेले २३ हजार ३ सय ४२ मत पाउँदा काङ्ग्रेसले १७ हजार १५ मत प्राप्त गरेको थियो ।

रास्वपा नौ हजार ७ सय ७४ मतसहित तेस्रो स्थानमा थियो भने माओवादीले छ हजार ४ सय ४५ र राप्रपाले ५ हजार ६ सय ७२ मत ल्याएका थिए । त्यस्तै एकीकृत समाजवादीले दुई हजार ८ सय ७४ र मङ्गोल नेशनल अर्गनाइजेशनले दुई हजार ७ सय ७९ मत प्राप्त गरेका थिए ।