मोरङ । उपभोक्तालाई झुक्याउँदै खसीको मासु देखाएर बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही गरेको छ ।
देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो फेला परेपछि महानगरले यस्तो एक्सन लिएको हो ।
महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको पहिचान चिह्न नभएको मासु बिक्रीका लागि राखिएको भेटिएपछि परीक्षण गर्दा बाख्राको मासु बिक्री भइरहेको पुष्टि भएको महानगरले जनाएको छ ।
उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरी ठगी गरिएको ठहर गर्दै गाउँले मिट पसल र खान पसलविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिएका छन् । टोलीले बिक्रीका लागि राखिएको मासुसमेत जफत गरी नष्ट गरेको छ ।
































