• मोहन श्रेष्ठ

अरूबेला चिण्डेडाँडाबाट धमिलो देखिने धरान शहर कोरोना महामारीपछि धरानसँगै तराईका फाँटहरू पनि नाङ्गो आँखाले छर्लङै देख्न सकिने भएको छ । हेरौंहेरौं लाग्ने तराईका फाँटहरू कोरोनाअघि यस्तो होला भन्ने कल्पनासम्म गरेका थिएनन् चिण्डेडाँडाबासीले । सधैँभन्दा लकडाउनपछि धरानको चिण्डेडाँडाबाट सप्तकोशी र मधेसका दृश्यहरू पनि प्रष्ट देखिएको चिण्डेडाँडाबासी कर्ण राईले बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभर प्रत्येक वर्ष घरभित्र र बाहिरी वायु प्रदूषणले ७४ लाख मानिसले ज्यान गुमाउँछन् । कोरोना महामारीले विश्व नै तीन महिना लकडाउन भएपछि करिब ३० प्रतिशत वायु प्रदूषणमा सुधार आएको डब्ल्यूएचओले जनाएको छ । अझ स्ट्याण्डर्ड विश्वविद्यालयको एक अध्ययनले चीनमा नाइट्रोजन डाई–अक्साइडको उत्सर्जन ४० प्रतिशतले कमी आएको देखाएको छ । यी तथ्यले नै वातावरणमा परेको सकारात्मक प्रभाव बुझ्न कठिनाइ पर्दैन ।

नासाका अनुसार न्यूर्योकलगायत प्रमुख शहरहरूका वायु प्रदूषण २०१५ देखि २०१९ सम्मको तुलनामा लकडाउनको अवधिमा ३० प्रतिशतले कमी आएको छ भने कार्वन उत्सर्जनमा ५० प्रतिशतले कमी आएको छ । मानवीय गतिविधि ठप्प भएपछि जङ्गली जनावर तथा पशुपंक्षीहरूले स्वतन्त्ररूपमा विचरण गर्न पाएका छन् । धरानमै पनि नयाँ–नयाँ प्रजातिका पंंक्षी देखिए । लकडाउनको अवधिमा आफ्नो घरआँगन र वरिपरि दैनिक नयाँ–नयाँ प्रजातिका चराहरू देखिएको सञ्चारकर्मी गङ्गा बरालले बताइन् ।

विश्वका सय प्रदूषित शहरमध्ये नेपालको काठमाडौं पनि एक मानिन्छ । नेपालमा वायु प्रदूषणको मापन केन्द्रीकृत हुँदा अन्य शहरको वायु प्रदूषणको अवस्था के छ भनेर तथ्यमा भेट्टाउन सकिँदैन । काठमाडौंको गुणस्तरीय हावा मापन गर्ने तालिकामा वायु प्रदूषणको मात्रा १५० देखि १८० माइकोग्राम परक्यूविक मिटर (पीएम) सम्म हुने गरेको थियो । जुन मानव स्वास्थ्यका लागि निकै खतरापूर्ण मानिन्छ तर, लकडाउनको दोस्रो साता नपुग्दै वायु प्रदूषण घटेर ५० पीएममा आइपुग्यो । पोखरा, विराटनगर, लुम्बिनी र धरानजस्ता शहरहरूमा पनि वायु प्रदूषणमा निकै कमी आएको हुनसक्ने आँकलन गर्न सकिने विज्ञहरू बताउँछन् । विगत वर्षहरूमा निकै गर्मी महसुस गरेका धरान–१४ का राजेन्द्र शर्मा यसपटक गर्मीको महसुस नै नभएको बताउँछन् । बन्दाबन्दीका बेलामा डा. शर्माले २० वर्षअघि जस्तो महसुस गरेको बताए ।

लकडाउनयता जेठ ३२ गतेसम्म गत वर्ष २८१.६ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३३१.५ मिलिमिटर वर्षा भएको धरानस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कमा लकडाउनको अवधिमा धरानको अधिकतम् तापक्रम ३१.४ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम २२.२ डिग्री सेल्सियस रहेको छ । गतवर्ष यो समयमा अधिकतम् तापक्रम ३२.५ डिग्री र न्यूनतम् तापक्रम २३.० डिग्री सेल्सियस रहनुले पनि वातावरणमा सुधार भएको कार्यालयका प्रमुख राजीवकुमार झाले बताए ।

युरोपियन स्पेश एजेन्सीको स्याटेलाइटले देखाएअनुसार लकडाउनको कारण जनवरी अन्तिम र फेबु्रअरीको शुरुमा नाइट्रोजन डाई–अक्साइडको उत्सर्जनमा ४० प्रतिशतले कमी आएको छ । एशिया र युरोपका ठूला शहरहरू र औद्योगिक क्षेत्रबाट उत्पन्न हुने नाइट्रोजन, कार्बन मोनोअक्साइड जस्ता मानव स्वास्थ्यमा गम्भीर असर गर्ने ग्यास उत्सर्जनमा कमी आएको देखाएको छ । यी ग्यासका कारण श्वास–प्रश्वास प्रणाली, स्नायु प्रणाली, मुटु तथा छालासम्बन्धी घातक रोग लाग्ने गरेको छ ।

अन्य बेला गाडी, माइकिङ र मानिसको कोलहलले खजमजिने भानुचौकमा लकडाउनको बेला प्रकृतिप्रेमी चराहरूको आवाज प्रष्ट सुन्न सकिन्थ्यो । यो हुनु हावापानी, पर्यावरण र वातावरणमा परेको प्रभावकै नतिजा भएको धरान उपमहानगरपालिका वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरे बताउँछन् । कोभिड–१९ ले मानवीय गतिविधिलाई ठप्प गरिदिए पनि प्रकृतिलाई भने खुल्ने अवसर मिल्योे ।

वातावरण जोगाउने हो भने प्रत्येक वर्ष ७ दिन लकडाउन गर्नुपर्ने धारणा धरान उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक कैलाश अग्रवालको भनाइ छ । लकडाउनले बिरामीहरूको सङ्ख्यामा पनि कमी आयो । काठमाडौं पशुपतिको आर्यघाटमा दाह संस्कार गर्न आउनेको सङ्ख्या पनि निकै घटेको समाचार प्रकाशित भए । धरानको झिगु शवदाह संस्कारस्थलमा पनि शवदाह धेरै नै कम भएको झिगु समाजका अध्यक्ष सुरेन्द्रमान स्थापित बताउँछन् ।

कोरोना सङ्क्रमणको महामारीका कारण भएको विश्वव्यापी लकडाउनले क्षणिक भए पनि प्रकृति र पर्यावरणमा नाटकीय परिवर्तन आएको छ । प्रकृतिले कोरोनाको डर देखाएर मानिसलाई भविष्यमा हुन सक्ने अझै भयानक दुर्घटनाबाट बचाउन खोजिरहेको छ भन्ने बुझ्न कठिनाइ पर्दैन ।
(धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासङ्घ सुनसरीको सहकार्यमा सञ्चालित पत्रकार लेखनवृत्ति कार्यक्रमका लागि तयार पारिएको । )